आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

सर्वोत्तमको गोल्डेन सेयर प्रकरण : अर्थ मन्त्रालयले सोधेको स्पष्टीकरणमा युनियनको आपत्ति

काठमाडौँ - नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर प्रकरणमा बोर्डलाई सोधेको स्पष्टीकरणमा आपत्ति जनाएको छ । युनियनले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले पदाधिकारीको व्यक्तिगत विषयमा संस्थालाई मुछेर पत्र लेखेकोमा आपत्ति जनाएको छ ।

सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर खरिदमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृतलगायतका संलग्न व्यक्तिलाई निलम्बन गरी छानबिन गर्न  माग गरेको छ । 

बुकबिल्डिङमार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा रहेको संस्थाको सेयर आफ्नो पारिवारिक सदस्यका नाममा गरेको विषयमा आपत्ति जनाउँदै युनियनले कारबाहीको माग गरेको हो ।  बोर्ड अध्यक्षको ईन्दारिता, कानूनी प्रावधान, आचार संहिता अनुसार गम्भिर नैतिक पतन भएको युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

'करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कूल ग्राहस्थ उत्पादन बराबरको बजार पूँजीकरण भएको देशको घितोपत्र बजार संरक्षण गर्दै पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन,' विज्ञप्तिमा भनिएको छ, 'यस कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा सम्बन्धित तत्‌ निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानबिन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न यस नेपाल धितोपत्र बोर्डको आधिकारिक कर्मचारी यूनियन जोडदार माग गर्दछौँ ।'