शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

बुल्दी खोलाको पुल उद्घाटन त्रुटिपूर्ण : नेकपा

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दी खोलामाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गर्नु त्रुटिपूर्ण भएको नेकपाले जनाएको छ । तनहुँको व्यासनगरपालिका–१ तालघरे र व्यास–१० र ११ जोड्ने सो पुल नेता पौडेलले बिहीबार उद्घाटन गरेका हुन् । 

नेकपा तनहुँद्वारा आज आयोजित पत्रकार सम्मेलन निर्वाचित प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभासदस्य र गण्डकी प्रदेशसभा सदस्यले पुलका उद्घाटन प्रक्रिया र विधिलाई अपमान गरी त्रुटिपूर्ण तवरले गरिएको बताए । उनीहरुले निर्वाचित सांसदहरुलाई कुनै सम्पर्क तथा समन्वय नगरेको बताए । पुल निर्माणमा बजेट विनियोजन गर्ने सम्बन्धित मन्त्रालय एवं त्यसको जिल्लास्तरको कार्यालयमा समन्वय नगरेको उनीहरुको आरोप छ ।

प्रतिनिधिसभा सदस्य केदार सिग्देलले नीतिविपरीत उद्घाटन गरिनु त्रुटिपूर्ण बताए । वैधानिक क्षेत्राधिकार मिचिएर गरिएको कार्यप्रति विरोध जनाउँदै उनले विपक्षी पार्टीलाई समेत सरिक गराएर पाँच वर्ष विकास निर्माणको नेतृत्व नेकपाले लिने उल्लेख गरे ।  

प्रतिनिधिसभाका सांसद सिग्देल, कृष्णकुमार श्रेष्ठ, कलिला खान, राष्ट्रियसभाका सांसद भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य किरण गुरुङ, हरिबहादुर चुमान, आशा कोइराला र रामबहादुर गुरुङद्वारा जारी संयुक्त विज्ञप्तिमा सम्मानित राष्ट्रिय व्यक्तिले गलत प्रक्रियाबाट काम गर्न नहुने उल्लेख गरिएको छ । सम्बन्धित कार्यालयले हाल उद्घाटन गर्न मनासिव नदेखिएको भन्दै पत्राचार गर्दा पनि पार्टी कार्यक्रम जस्तो गरी उद्घाटन  गरिएको सांसद श्रेष्ठले बताए ।