शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

प्रतिनिधि सभामा गृहमन्त्रीको जवाफ : तुइन काटिएको घटनाबारे अध्ययन भइरहेको छ

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन खोलिदिँदा तुइनबाट खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी कार्य भइरहेको बताएका छन् । उक्त घटनाबारे प्रतिनिधि सभालाई जानकारी गराउँदै धामीको खोजी भइरहेको र स्थानीय प्रशासनको समन्वयमा छानबिन भइरहेको बताएका हुन् ।

‘जयसिंह धामी तुइन तर्ने क्रममा बेपत्ता भएको भनि जिप्रकामा निवेदन आएको छ । दार्चुला जान नै उहाँहरू हिड्नु भएको थियो । पारीबाट आउँदा छिटो पुगिन्छ ।  वारीबाट हिँड्दा दिनभरी लाग्दो रहेछ । पारीबाट जाँदा डेड घण्टामा पुग्न सकिने रहेछ,’ उनले भने, ‘बाटो छिटोभन्दा छिटो निर्माणका लागि बनाउने प्रतिबद्धता जनाउँदछु । सोही दिन छानबिन गर्न दार्चुलाबाट प्रहरी, शसस्त्र र प्रसाशनको टोली घटनास्थलतर्फ खटिएको थियो । भारतको धार्चुलालाई ध्यानाकर्षण गराएइको छ । जानकारी दिने काम भइरहेको छ ।’ 

सोही दिन धामीसँगै रहेकाहरु जो तुइन तरेर पारी गए उनीहरुसँग सोधपुछ गर्ने काम भइरहेको खाणको भनाइ छ । धेरैतिरबाट धामीको खोजी भइरहेको पनि बताए । ‘खोज तलास भइरहेको छ । खोजतलासका लागि समन्व्य गर्नेकाम भइरहेको छ । भारततर्फ एसएसबीका सुरक्षाकर्मीले पनि खोजी कार्य गरिरहेका छन्,’ उनले भने, ‘मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति पनि बनेको छ । टोली स्थलगत छानबिनमा गएको छ ।’