मुख्यमन्त्रीकै संलग्नतामा सांसदको अपहरण र बन्धक !

बुटवल - लुम्बिनी सरकारले संसदीय राजनीतिको हुर्मत लिने काम गरेको छ । एकपछि अर्कोगरी सरकारकै संलग्नतामा चरम अराजनीतिक क्रियाकलापहरू भइरहेका छन् । पछिल्लो पटक सांसद अपहरण र बन्धक बनाइएको घटना सार्वजनिक भएको छ । जसमा स्वयं मुख्मन्त्री शंकर पोख्रेलकै संलग्नता देखिएको छ । एक जना महिला सांसद अपहरण र बन्धक बनाउनेसम्मका कूकर्ममा मुख्यमन्त्रीकै संलग्नता हुनु संसदीय राजनीतिमा सामान्य कुरो होइन ।
यसले हुर्किँदै गरेको संघीयताको पनि हुर्मत लिने काम गरेको छ । बाहिर सैद्धान्तिक र वैचारिक राजनीतिका चर्का कुरा गर्ने पोखरेलको पछिल्लो हर्कत संसदीय राजनीतिकै विकृत रूप हो । यसले संसदीय व्यवस्थाको विकल्प खोज्नेहरूका लागि थप मसलासमेत मिलेको छ । लम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी वली तत्कालीन नेकपाबाट निर्वाचित सांसद हुन् । उनी मुख्यमन्त्री पोख्रेलकै गृहजिल्लाबाट प्रतिनिधित्व गर्छिन् ।
गत साता लुम्बिनी प्रदेश तिनै वलीको वरिपरि घुम्यो । उनी पार्टीको सम्पर्कमा नआएको, अपहरण गरेर बन्धक बनाइएको, पार्टी परिर्वतन गरेको जस्ता समाचारहरू निकै आए । अन्तत: यी सबै विषयको चिरफार बिहीबार दिउँसो १ बजे उनै वलीले गरिन् । आफूलाई नेकपा एमाले प्रमुख सचेतक भुमिश्वर ढकाल, दाङका एमाले नेता मानबहादुर राउत र मुख्यमन्त्रीका स्वकीय सचिव तिरण गौतमले जबरजस्ती बुटवल पुर्याएर मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर राखेको उनले खुलासा गरिन् ।
माओवादी रोजेपछि पटक-पटक आफूमाथि मानसिक दबाब दिएको बताउँदै उनले तुल्सीपुरस्थित घरबाटै लगेर बुटवल पुर्याइएको बताइन् । 'घरमै पुगेर मुख्यमन्त्रीसँग भेटघाट गर्न जाऊँ भनेर दबाब दिए । म बिरामी भएकोले नेपालगञ्ज जाने बताएँ,' उनले भनिन्, 'उनीहरूले नेपालगन्ज पुर्याइदिने भन्दै जबरजस्ती बुटवल पुर्याए । मैले प्रतिवाद गरेँ । तर एक पटक मुख्यमन्त्रीलाई भेट्नै पर्छ भनेर बलजफ्ती लगियो ।'
उनले बुटवल आएर मुख्यमन्त्रीलगायतका नेताहरूलाई भेटेको स्वीकार गरिन् । कुराकानीपछि छोडिदिने सोचेकी वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाइयो । उनको साथमा एमालेका प्रदेश सभा सदस्य सरस्वती गौतम र कमला विकलाई राखियो । त्यसवाहेक बाहिर सुरक्षाकर्मीहरूले पहरा दिए ।
के-के भयो मुख्यमन्त्रीको निवासमा ?
बुटवलको मिलनचोकमा मुख्यमन्त्री पोख्रेलको सरकारी निवास छ । त्यहाँ सुरक्षाकर्मीहरूको चौबिसै घण्टा पहरा हुन्छ । वलीलाई साउन १५ गते नेपालगञ्ज भनेर त्यही निवासमा लगियो । मुख्यमन्त्रीसहितका एमाले नेताहरूले उनलाई एमालेमै आउन प्रस्ताव गरे । त्यतिमात्र होइन उनलाई केही रजिष्टरमा हस्ताक्षर गर्न पनि लगाइयो । एमालेमा गएको भन्दै जबरजस्ती विज्ञप्तिसमेत जारी गर्न लगाइयो ।
'मलाई थप दुई वटा 'माइन्युट'मा हस्ताक्षर गर्न लगाइयो । त्यसमा के लेखिएको थियो पढ्न पनि दिइएन' उनले भनिन् । उनले मुख्यमन्त्री कार्यालयमा राखेर आफूलाई एमाले बन्न दबाब र विभिन्न प्रलोभन दिएको समेत बताइन् । तर, आफूले निरन्तर इन्कार गरेको उनको दाबी छ ।
साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो । उनले भनिन्, '२० गते बिहान निकै मानसिक पीडा महसुस भयो । यहाँबाट जसरी पनि निस्कनु पर्छ भन्ने सोँच बनाएँ। समय र परिस्थिति हेरी जसरी पनि निस्कनु पर्छ भनेर तयारी गरेँ । ४ दिनपछि पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी शौचालयको चप्पल लगाएर बाहिर निस्किएँ । बाटोमा अटो रिक्सा भेटेपछि त्यसमै चढेर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगेँ ।'
राजनीति र सरकारको खेलमा यस्तो घटना पहिलो पटक ब्यहोरेको उनले सुनाइन् । 'नेकपा (एमाले) ले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिएनँ,' उनले भनिन्, 'मेरो विचार राजनीति उहाँहरूको भन्दा फरक भए पनि मैले अविभावककै रूपमा मान्ने र बुझ्ने गर्थेँ । तर त्यस्तो व्यावहार पाइएन ।'
अपहरण शैलीमा बुटवल पुर्याउने को हुन् ?
भुमिश्विर ढकाल नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक हुन् । उनी रुपन्देहीबाट निर्वाचित सांसद हुन् । उनी मुख्यमन्त्री पोख्रेलका विश्वास पात्रका रूपमा पनि चिनिन्छन् । राजधानी दाङ सार्ने विषयमा उनको र मुख्यमन्त्रीको एकमत थियो । ढकाल प्रदेश सभाको विवादित गाडी खरिद काण्डमा पनि मुछिएका थिए । उनको नेतृत्वमा सांसद वलीलाई बुटवलमा ल्याइएको हो ।
उनीसँग प्रमुख सचेतकको सरकारी गाडी भएकोले कतै जाँच पनि हुने कुरो भएन । त्यसैले पनि अपहरण शैलीमा सांसद लिन सजिलो भयो । यही घटनामा जोडिएको अर्को नाम हो मानबहादुर रावत । उनी एमाले दाङ जिल्लाका नेता हुन् । भेरी अस्पतालमा स्वास्थ्यकर्मी कुट्ने घटनाका अभियुक्त पनि हुन् । केही दिन हिरासतमा बसेका रावत धरोटीमा रिहा भएका हुन् । उनी पनि मुख्यमन्त्रीका विश्वासपात्रका रूपमा चिनिन्छन् ।
उनी र वलीबीच जिल्लावासीको चिनजानका कारण पनि यो योजना बनाउन सजिलो भयो। त्यस्तै अर्का सहयोगी मुख्यमन्त्री पोख्रेलका आफ्नै स्वकीय सचिव तिरण गौतम हुन् । यता एमाले संसदीय दलका प्रमुख सचेतक ढकालले वलीले बताएका सबै घटना सत्य नभएको दाबी गरे । एकोहोरो कुरा मात्रै सुनिएको भन्दै उनले वलीको आफ्नै इच्छाले सबै भएको दाबी गरे ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया