डोपिङ, भ्रष्टचार र आन्तरिक कलहले जेलिएको अन्तर्राष्ट्रिय भारत्तोलन

काठमाडौँ- टोकियो ओलम्पिकमा भारत्तोलन चर्चामा रह्यो । यस्तो लाग्थ्यो, भारत्तोलन सर्वाधिक सुखद क्षणबाट गुज्रिरहेको छ । यस पटकको ओलम्पिकमा यो खेल सामाजिक परिवर्तनसँग पनि जोडियो । किनभने लाउरेल हुब्बार्ड ओलम्पिकमा पहिलो तेस्रो लिंगी महिला भारत्तोलक बनिन् ।
ओलम्पिकमा सहभागिता जनाएर हुब्बार्डले कीर्तिमान त राखिन् । तर प्रतिस्पर्धामा उनी सफल भइनन् । तीन पटक प्रयास गर्दा पनि भार उचाल्न सकिनन् । भारत्तोलनकै अन्य प्रतिस्पर्धामा भने दर्शकलाई अवाक् बनाउने प्रकारका प्रदर्शन भए । कयौँ रेकर्ड बने । अनि अन्य खेलमा पदक जित्न हम्मेहम्मे पर्ने फिलिपन्स र तुर्केमिनिस्तान जस्ता टिमका खेलाडीहरु भारत्तोलनमा भने सफल भए ।
पदक बाढ्दा ‘हेभी मेटल’ गीत बजाइए । दर्शक नाचे । तर अब भारत्तोलनको ‘पार्टी’ सकिएको छ । यो खेल उही पुराना समस्यातर्फ फर्किएको छ । अन्तर्राष्ट्रिय भारत्तोलन महासंघ (आईडब्लूएफ) भित्रको आन्तिरक कलह, डोपिङ र भ्रष्टचार यस खेलका पुराना रोगहरू हुन् । यो भन्दा पनि चिन्ताको विषय त, आगामी ओलम्पिकमा भारत्तोलन खेललाई समावेश गरिन्छ वा गरिँदैन भन्ने हो ।
आउँदा ओलम्पिक गर्ने जिम्मा पेरिसको हो । सन् २०२४ मा हुने त्यो ओलम्पिकमा भारत्तोलनका लागि स्थान हुन्छ भन्ने ग्यारेन्टी छैन । यद्यपि यो आईडब्लूएफको प्रयासमा पनि निर्भर रहनेछ । किनभने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) को चाहना छ, आईडब्लूएफ भित्र परिवर्तन होस् ।
‘भारत्तोलन क्लिन खेल हो भनेर देखाउँन हामी प्रयासरत छौँ । यो खेलको भविष्य छ भनेर पनि प्रमाणित गर्नुछ । आईओसीका अध्यक्षले हाम्रा खेललाई लिएर चिन्ता जाहेर गरेका छन् । उनले पेरिस ओलम्पिकमा भारत्तोलनलाई हटाउन नचाहेको पनि बताएका छन्,’ आईडब्लूएफका प्रतिनिधि फोरेस्टेर ओसेईले भनेका छन् ।
डोपिङ
अन्तर्राष्ट्रिय भारत्तोलनमा सबैभन्दा ठूलो समस्या डोपिङ नै हो । डोपिङ एथलेटिक्स, साइक्लिङ जस्ता खेलको पनि समस्या हो । किनभने यी खेल हेरिरहँदा दर्शक प्रश्न सोध्छन्, के यी खेलाडी साँच्चै नै यति बलिया छन् ? ओलम्पिकमा भारत्तोलनको प्रतिस्पर्धा गत बुधबार सकियो । अन्तिम दिन लासा तलाकहादज्जेले तीन नयाँ विश्व कीर्तिमान बनाए । जर्जियाका तलाकहादज्जेले कुल चार सय ८८ केजी उचाले । भारत्तोलनको इतिहासमा यसअघि कसैले पनि यति भार उठाउन सकेको थिएन ।
कीर्तिमानधारी तलाकहादज्जे सन् २०१३ मा दुई वर्षका लागि प्रतिबनधमा परेका थिए । कारण थियो, प्रतिबन्धित औषधिको सेवन गर्नु । खेलकुदको भाषामा भन्दा ‘स्टेरोइड’को सेवन । तलाकहादज्जेले स्वर्ण जितेको स्पर्धामा तेस्रो भएका खेलाडीले पनि प्रतिबन्धको सामना गरिसकेका छन् । उनी हुन्, सिरियाका मान असाद । यस्तै अर्का स्टार भारत्तोलक फर्नान्डो रेइस भने हाल प्रतिबन्ध खेपिरहेका छन् ।
यति हुँदाहुँदै पनि भारत्तोलन अन्धकारबाट केही हदसम्म बाहिर निस्केको बताइन्छ । उदाहरणका लागि, नौ वर्ष अगाडिको अवस्थाबाट । सन् २००८ र २०१२ को ओलम्पिकमा भारत्तोलनमा जितिएका ३० पदक खोसिएका थिए । कारण उही डोपिङ नै ।
गत साता भारत्तोलनको महिलातर्फको प्रतिस्पर्धामा स्वर्ण जितिन्, माउडे चारोनले । क्यानडाकी चारोनले आफ्नो सफलता अर्की भारत्तोलक क्रिस्टिन जिरार्डप्रति समर्पण गरिन् । जिरार्डले लन्डन ओलम्पिकमा स्वर्ण नै जितेकी थिइन् । हुन त जिरार्ड तेस्रो स्थानमा थिइन् । पहिलो र दोस्रो स्थानमा थिए कजाकस्तान र रुसका भारत्तोलक । तर उनीहरुले स्टानोजोल नाम गरेको स्टेरोइड सेवन गरेको पुष्टि भएपछि स्वर्ण जिरार्डलाई दिईयो । यस पटक स्वर्ण जित्ने चारोन भन्छिन्, भारत्तोलन परिवर्तन भइरहेको छ ।
‘वास्तवमा जिरार्ड स्वर्णको हकदार थिईन् । तर सही समयमा उनको मेहेनतको कदर भएन । विपक्षी खेलाडीहरुले नियम अनुसार नखेल्दा उनले त्यसबेला स्वर्ण पाईनन् । यद्यपि यस खेललाई क्लिन बनाउने काम भने जारी छ,’ चारोनले भनेकी छिन् ।
भ्रष्टचार र आन्तिरक कलह
आईडब्लूएफमा तमास अजान करिब ४५ वर्ष रहे । उनी २५ वर्ष आईडब्लूएफको महासचिव थिए भने बाँकी २० वर्ष अध्यक्ष । उनले गत वर्षमात्र आईडब्लूएफ छाडेका हुन् । रोमानियाका अजानमाथि विभिन्न आरोप छ । जस्तै, डोपिङ जाँचमा हस्तक्षेप गरेको, जरिवाना तिर्दाको हिसाब नराखेको आदि । गत जुनमा उनीसँगै उपाध्यक्ष निकु भ्लाद र सदस्य हसन आक्कुस प्रतिबन्धमा परे ।
अमेरिकी भारत्तोलनका प्रमुख कार्यकारी अधिकृत फिल आन्ड्रियुज आईडब्लूएफले आईओसीलाइै धेरै नै चिढ्याएको बताउँछन् । ‘सायद हामीले आईओसीको धैर्यतालाई बुझ्न सकेनौँ,’ आन्ड्रियुज भन्छन् । अजानको बर्हिगमनले पनि आईडब्लूएफ भित्रको आन्तिरक कलहले विश्राम पाएन । अजानको अनुपस्थितीमा कामचलाउ अध्यक्ष बनेका उरुसुला पापानड्रियले पनि पदत्याग्नु पर्यो । उनले आन्तिरक द्वन्द्वका कारण कामै गर्न पाएनन् । ‘आईओसीले आईडब्लूएफमा नयाँ नेतृत्वको आवश्यकता छ भनेर भनिसकेको छ । फेरि उही मान्छेहरुले आईडब्लूएफ नचलाउन भन्ने उसको चाहना हो,’ आन्ड्रियुज भन्छन् ।
अब के ?
आईडब्लूएफका पदाधिकारी तथा प्रतिनिधिहरू आउँदो अगस्ट २८ र २९ मा कतारमा भेला हुँदैछन् । त्यस भेलाको मुख्य उदेश्य संस्थाको नयाँ विधान सम्बन्धी निर्णय गर्नु हो । त्यसपछि आईडब्लूएफको निर्वाचन हुनेछ । र, आईओसीले चाहेझैँ आईडब्लूएफको नेतृत्व तहमा नयाँ अनुहारहरूको प्रवेश हुनसक्नेछ ।
यद्यपि नयाँ विधान जारी गर्ने कार्य सजिलो भने छैन । कारण, फेरि उही पुरानो द्वन्द्व नै । आईडब्लूएफलाई परिवर्तन गर्न चाहने तप्का र अजान पक्षधरबीच ठूलो लडाई चलिरहेको अवस्था छ । तर उनीहरूलाई सहमतिमा नपुगी भएको छैन ।
महासंघभित्र समस्या भएपनि भारत्तोलकहरू भने भविष्यप्रति आशावादी छन् । जसमा प्रतिबन्धित औषधिको छाँया होइन मेहेनतको भर होस् । ‘कोही भारत्तोलकले कीर्तिमानी भार उठाएको नै हेर्न चाहन्छनु सबैजना । शालिन तर भव्य शरिर भएको कोही स्टेजमा पुगोस र अरुले भन्दा धेरै भार उठाओस् । यो खेलको मज्जा यही त हो नी,’ ओसेइ भन्छन् । (एपीको सहयोगमा)

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया