प्रहरीका तालिमेलाई गृहमन्त्रीको फोन : तालिम केन्द्रमा कस्तो छ व्यवस्था ?

काठमाडौँ – सुदूरपश्चिम प्रदेश प्रहरी तालिमकेन्द्र दिपायलमा अपराध अनुसन्धान तथा नियन्त्रणबारे तालिम दिइरहेका प्रहरी निरीक्षक रणबहादुर चन्दको मोबाइलमा अपरिचित फोन आयो । फोन उठाउँदा उनी झन दंग परे । ‘हेल्लो म गृहमन्त्री बालकृष्ण खाण बोलेको’ भन्ने आवाज आएपछि उनले विश्वासै गरेनन् । कुरा गर्दै गएपछि मात्रै बल्ल रहेछ भन्ने बुझे ।
‘अपरिचित नम्बरबाट आएको फोन रिसिभ गर्दा म गृहमन्त्री बोलेको भन्नुभयो । पहिला त पत्यारै लागेन । कुनै साथीले गरेर जिस्क्याएको होला भन्ने लाग्यो,’ निरीक्षक चन्दले इकागजसँग भने, ‘पछि सबै कुरा सोध्दै गएपछि बल्ल अलिअलि विश्वास लाग्यो । पछि साथीहरूले पनि फोन आएको बताएपछि विश्वास लाग्यो ।’
उनले आफूले मात्रै हैन अन्य साथीहरूले पनि पहिला त गृहमन्त्रीले टेलिफोन गरेको विश्वासै नगरेको बताए । गृहमन्त्री खाणले शुक्रबार चन्दसहित दिपायल प्रशिक्षण स्थल बुडरमा तालिम दिइरहेका चार जनालाई टेलिफोन गरेर त्यहाँ उनीहरूलाई गरिएको व्यवस्था सरकारले प्रहरीलाई उपलब्ध गराएको रासनमा उल्लेख भए अनुरुप छ कि छैन भनेर सोधेका थिए । खाणले तालिम दिइरहेका प्रहरी मेजर सुव्दार महेन्द्रराज गिरी, प्रहरी हवल्दार पदमबहादुर भण्डारी र प्रहरी जवान लोकेश विष्टलाई टेलिफोन गरेका थिए । तालिम लिइरहेका प्रहरी सहायक निरीक्षक सञ्जय धामीलाई पनि सोधेर तालिम केन्द्रमा गरिएको व्यवस्थाबारे जानकारी लिएका थिए । ,
प्रहरी सहायक निरीक्षक धामीले गृहमन्त्रीले टेलिफोन गरेर तालिम केन्द्रमा भएको खानाको व्यवस्था अन्य प्रबन्ध, विषयबस्तु अनुरुपको तालिम भइरहेको छ कि छैन भनेर सोधेको जानकारी दिए । ‘गृहमन्त्रीज्यूले टोलिफोन गरेर तालिम केन्द्रमा भएको खानाको व्यवस्था, तालिममा उल्लेख भएका विषयबस्तु र सरकारको स्केल अनुरुपको खानाबारे जानकारी लिनुभयो,’ इकागजसँग सहायक निरीक्षक धामीले भने ।
गृहमन्त्री खाणले सरकारले दिएको सुविधा जीवन धान्न प्रयाप्त छ कि छैन ? खाना पौष्टिक छ कि छैन ? सरकारले दिएको स्केल अनुरुपको खाना छ कि छैन ? साथीहरू तालिममा बसेका बेलामा विरामी भएका छन् कि छैनन् ? केही असुविधा छ कि छैन ? भनेर जिज्ञासा राखेका थिए । स्वकीय सचिव बिजेश न्यौपानेका अनुसार तल्लो तहका प्रहरी अधिकृत र जवानको मनोबल बढाउन र सरकारले उपलब्ध गराएको सेवा सुविधा लक्षितसम्म पुगेको छ कि छैन भनेर आफैले जानकारी लिएका हुन् ।
उनीहरूको कुरा सुनेपछि केही थप्न पर्ने भए योजना बनाउने नपर्ने भएमा व्यवस्थित गराउने प्लान खाणको छ । ‘तालिमकेन्द्रमा कस्तो छ व्यवस्था ? सरकारले उपलब्ध गराएको रासन अनुसारको खाना छ कि छैन ? स्वास्थ्य स्थिति कस्तो छ ? भनेर मन्त्रीज्यूले तालिममा रहेको तल्लो तहका अधिकृतलाई सोध्नु भएको हो,’ न्यौपानेले भने । प्रहरीमा तल्लो तहका अधिकृत र जवानलाई आवश्यक पर्ने पौष्टिक तत्व नभएको खाना खुवाउने गरेको गुनासा आइरहन्थे । त्यसमा सत्यतथ्य के हो भनेर पनि मन्त्रीले आफै बुझेको सचिवालयले जनाएको छ ।
मन्त्री खाणले तालिम राम्रोसँग गर्न र नागरिक सुरक्षा र राष्ट्र सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका थिए । ‘नागरिक सुरक्षा र राष्ट्र सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुहोला । अन्य कुनै असुविधा भएमा भन्नुहोला भन्नुभयो,’ प्रहरी निरीक्षक चन्दले भने ।
अहिले सुदूरपश्चिम प्रदेश प्रहरी तालिमकेन्द्र दिपायलमा ३९५ जना प्रहरी जवानले तालिम गरिरहेका छन् । त्यस्तै ३० जना प्रहरी जवान (अनुसन्धान) जुनियर प्रहरी अधिकृत (अपराध अनुसन्धानतथा नियन्त्रण)मा ३० जनाले तालिम गरिरहेका छन् ।

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

प्रतिक्रिया