अब होटल व्यवस्थापन र पर्यटन विषय नेपालगञ्जमै पढ्न पाइने
नाथमका लागि जग्गा दिने नेपालगञ्ज उपमहानगरपालिकाको निर्णय
काठमाडौँ - नेपालगञ्ज उपमहानगरपालिकाले होटल तथा पर्यटन अध्ययन प्रतिष्ठान (नाथम)का लागि एक विगाहा जग्गा दिने भएको छ । आइतबार उपमहानगरपालिकामा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले उपमहानगरपालिका वडा नं. १९ बासुदेवमा रहेको एक विगाहा जग्गा नाथमका लागि दिने निर्णय गरेको हो ।
यसअघि नै यो जग्गा उपमहानगरपालिकाले दिने तयारी गरेको थियो । तर स्थानीय मुस्लिम समूदायका मानिसहरुले मस्जिद बनाउने भन्दै सो ठाउँको जग्गा दिन इन्कार गरेका थिए । मेयर धवल शम्सेर राणाले नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाँई, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, स्थानीय राजनीतिक दल, पर्यटन व्यवसायी र सरोकारवाला पक्षको बैठकले नाथमको भवन निर्माणका लागि जग्गा दिने निर्णय गरेको जानकारी दिए । यो निर्णयले कर्णाली र सुदूरपश्चिमको पर्यटन विकासका लागि दक्ष जनशक्ति उत्पादनमा ठूलो टेवा दिने उनको भनाइ छ ।
अब यो निर्णयसँगै कर्णाली र सुदूरपश्चिमको पर्यटन विकासका लागि दक्ष जनशक्ति उत्पादनको काम नाथमले थाल्नेछ । नाथमले होटल व्यवस्थापन तथा पर्यटन विषयमा तालिम दिने, स्नातक र स्नात्तकोत्तर तहको पठनपाठन गराउने र दक्ष जनशक्ति उत्पादन गर्ने गरेको छ ।
काठमाडौँको रविभवनमा केन्द्रीय कार्यालय रहेको नाथमले यस वर्ष झापाको बिर्तामोड, महोत्तरीको बर्दिबास र बाँकेको नेपालगञ्जमा प्रादेशिक कार्यालय खोल्ने निर्णय गरेको थियो । उपत्यका बाहिर नाथम कार्यालय खोल्न नाट्टा लगायका संस्थाले निरन्तर दबाब दिएका कारण नेपालगञ्जमा पनि कार्यालय खोल्ने निर्णय भएको नाट्टाका केन्द्रीय अध्यक्ष तथा नाथमका केन्द्रीय सदस्य अच्युत गुरागाईले जानकारी दिए ।
उनका अनुसार अब नाथमले भदौ असोजदेखि नै तीन देखि ६ महिनासम्मका पर्यटन सम्बन्धि तालिमहरु सञ्चालन गर्नेछ । यससँगै पश्चिम नेपालको पर्यटन विकास, दक्ष जनशक्ति उत्पादन, पर्यटन विकासका लागि आवश्यक पर्ने तालिम तथा सीप र पर्यटन व्यवसायीलाई पनि ठूलो राहत हुने नाट्टाका केन्द्रीय अध्यक्ष गुरागाईले बताए ।
यस्तै नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले पश्चिम नेपालको पर्यटन विकासमा नेपालगञ्जमा स्थापना हुने नाथमले धेरै काम गर्न सक्ने बताए ।
‘नेपालगञ्जमा नाथमको कार्यालय खोल्नु नै ठूलो कुरा हो’ उनले भने, ‘अब जनशक्ति उत्पादन, पर्यटन विकास र नयाँ नयाँ सम्भावनाबारे सरकारकै स्वामित्वमा रहेको नाथमबाट हुनेछ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिका, पर्यटन व्यसायी, राजनीतिक दल, नाथम, नाट्टा लगायत केन्द्रीय पर्यटन सरोकारवाला सबैलाई धन्यवाद छ ।’
पर्यटन व्यवसायीको जोडबलमा सरकारले नाथम स्थापना गरेपनि काठमाडौँमा सीमित हुँदा धेरैजसोलाई पर्यटन विषय पढ्न राजधानी आउनुपर्ने बाध्यता थियो । तर पछिल्लो समय धेरैजसो निजी कलेजले होटल व्यवस्थापन र पर्यटन विषय पढाउन थालेपछि नाथम पनि प्रादेशिक स्तरमा जान तयार भएको हो ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया