सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

पौडेल पक्षीय केन्द्रीय सदस्यहरूले भने : पार्टीको वैधानिकता सकिन लाग्यो मात्रै नभन्‍नुस्, समाधानको उपाय खोज्‍नुस्

पहिला क्रियाशील सदस्यताको विवाद समाधान गरेर मात्रै नयाँ मिति तोक्न माग

काठमाडौँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहका केन्द्रीय समिति सदस्यहरूले पार्टीको वैधानिकता जोगाउने समाधान खोज्न आफू पक्षका शीर्ष नेताहरूलाई सुझाव दिएका छन् । 

महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा आज बसेको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीमा वैधानिकताको संकट देखियो मात्रै भनेर नहिड्न र समाधानको उपाय खोज्न सुझाएका हुन् । 

बैठकमा सहभागी केन्द्रीय सदस्य बद्री पाण्डेले जे गरेर पार्टीको वैधानिकता जोगिन्छ, त्यही गर्न नेताहरूलाई केन्द्रीय सदस्यहरूले सुझाएको जानकारी दिए । 

‘केन्द्रीय सदस्यहरूले पार्टीको वैधानिकता टुंगिन लाग्यो मात्र होइन, सभापतिलाई वैधानिकता जोगाउने उपाय बताउन र जसरी वैधानिकता जोगिन्छ, त्यही गर्न नेताहरूलाई सुझाव दिएका छौं,’ केन्द्रीय सदस्य पाण्डेले इकागजसँग भने, ‘उहाँहरूले आफूहरू वैधानिकता कसरी जोगिन्छ, त्यो उपाय खोज्न लागिरहेको बताउनु भयो ।’

नेता पौडेलले बिहानमात्रै सामाजिक सञ्जालमा पार्टीको वैधानिकता सकिने अवस्थामा पुगेको भनेर लेखेका थिए । त्यसको प्रतिउत्तरमा आफ्नै पक्षका नेताहरूले वैधानिकता जोगिने उपाय नेतृत्वलाई सुझाउन भनेका हुन् । 

पौडेल समूहले पहिला पार्टीमा देखिएको क्रियाशी सदस्यता विवाद टुंग्याएर मात्र नयाँ मिति र कार्यतालिका सार्वजनिक गर्नु पर्ने बताएको छ । ‘क्रियाशील सदस्यता विवाद समाधान नगरी निर्धारण गरिएकाले अहिलेसम्म कार्यतालिका र महाधिवेशनका मिति कार्यान्वयन भएनन्,’ पाण्डेले भने, ‘अब पनि क्रियाशील सदस्यता नटुंग्याइ कार्यतालिका र महाधिवेशनको मिति तोकियो भने त्यस्तै हुन्छ । तसर्थ पहिला सदस्यताको विवाद टुंग्याएर मात्रै महाधिवेशनको मिति तोक्न नेताहरूलाई हामीले आग्रह गरेका छौँ ।’
यसअघि बसेको पदाधिकारी र शीर्ष नेताहरूको बैठकले पनि क्रियाशील सदस्यताको विवाद टुंग्याएर मात्रै महाधिवेशनको मिति कार्यतालिकासहित तोक्ने निष्कर्ष निकालेको थियो । 

महाधिवेशनको मिति र कार्यतालिका परिवर्तन गर्न भन्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले २८ साउनमा केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।  त्यो बैठक अगावै क्रियाशील विवाद टुंग्याउने पहल गर्न पौडेल पक्षीय केन्द्रीय सदस्यहरूको माग छ । 

बैठकमा नेता पौडेलसहित महामन्त्री डा. कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेताहरू प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसी, अर्जुननरसिंह केसीसहित २४ केन्द्रीय सदस्य उपस्थित थिए । सो समूहमा रहेका केन्द्रीय सदस्यद्वय महेश आचार्य र प्रदीप पौडेल भने बैठकमा उपस्थित थिएनन् । 

बैठकमा नेता पौडेल र महामन्त्री डा. कोइरालाले अहिलेसम्म महाधिवेशनका सन्दर्भमा नेतृत्वसँग भएका कुराकानी र टुंगिएका विषयबारे केन्द्रीय सदस्यहरूलाई जानकारी गराएका थिए ।