सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

क्रियाशील सदस्यको नाम तत्काल वेबसाइटमा राख्‍न पौडेल समूहका जिल्ला सभापतिहरूको माग

काठमाडौं - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेप पक्षीय जिल्ला सभापतिहरूले टुंगिएका क्रियाशील सदस्यहरूको नाम पार्टीको वेबसाइटमा राख्‍न माग गरेका छन् ।

उनीहरूले क्रियाशील सदस्यता छानबिन समितिले अपारदर्शी काम गरेको आरोप लगाउँदै टुंगिएका क्रियाशील सदस्यहरूको नाम वेबसाइटमा राखेर सम्बन्धित जिल्ला कार्यसमितिको सुझावका आधारमा त्रुटी सच्याउन मागसमेत गरेका छन् ।

जिल्ला सभापतिहरूको भेलाले क्रियाशील सदस्यताको विवरण तत्काल वेबसाइटमा राख्न माग गरेको छ । छानबिन समितिका काम कारबाही अपारदर्शी भएको भन्दै क्रियाशील सदस्यता सूची वेबसाइटमा राखी जिल्ला कार्यसमितिको सुझावका आधारमा त्रुटि सच्याउन माग गरेको हो ।

आज काठमाडौँमा बसेको पौडेल समूहका जिल्ला सभापतिहरूको भेलाले त्यस्तो माग गरेको हो । कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले वेबसाइटमा प्रकाशन गरेपछि देखिएका त्रुटी सच्याएर मात्र निर्वाचन समितिलाई अधिवेशनका लागि पठाउनुपर्ने माग आफूहरूको रहेको बताए । 

भेलामा ३५ जिल्ला समापति उपस्थित थिए भने १२ जिल्ला सभापति भर्चुअलरूपमा सहभागी भएका थिए । उनीहरूले क्रियाशील सदस्यताको विवाद तत्काल समाधान गरेर फास्ट ट्रयाकबाट पूर्वनिर्धारित मितिमा महाधिवेशन गरिनुपर्ने बताएका छन् । 

नुवाकोट सभापति केसीले संस्थापनले महाधिवेशन टार्ने वा धाधलीपूर्ण गर्ने मध्येका विकल्प मात्र सोचेको आरोप लगाए ।