विवाहको पूर्व सन्ध्यामा श्वेता भन्छिन्, ‘ दुखको अध्याय बन्द गरेर खुसीको अध्याय सुरु गर्दैछु’

काठमाडाैं : अभिनेत्री श्वेता खड्काले विवाहको पूर्वसन्ध्यामा लामो स्ट्याटस लेख्दै आफूले नयाँ जीवन सुरु गर्न लागेको जानकारी गराएकी छिन् । श्वेताको सोमबार धनगढीका युवकसँग गोकर्ण फरेस्ट रिसोर्टमा विवाह हुँदैछ । ५ वर्ष लामो प्रेम सम्बन्धपछि श्वेताले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, विवाह गरेको दुई दिनपछि बिरामी परेका श्रीकृष्णको उपचारकै क्रममा भारतमा निधन भएको थियो ।
श्रीकृष्णको निधन लगत्तै गहिरो शोकमा डुबेकी श्वेताले अब जीवनभर विवाह नगर्ने अभिव्यक्ति दिएको कुरा मिडियामा आएका थिए । अलिपछि भने उनले श्रीकृष्णको फोटो घरमा राख्न दिने मानिससँग विवाह गर्ने अभिव्यक्ति दिएकी थिइन् ।
तर, केही दिनअघिसम्म पनि विवाह गर्ने कुरामा अनभिज्ञता प्रकट गरिरहेकी श्वेताले अचानक विवाह गर्न लागेको खबर बाहिरिएको थियो । इकागजले नै सर्वप्रथम विवाहको कार्डसहित उनको समाचार सम्प्रेषण गरेकाे थियो । त्यसयता विवाहको सम्बन्धमा मौन रहेकी श्वेताले आइतबार मध्यान्नमा भने लामो स्ट्याटस लेख्दै आफूले विवाह गर्ने निर्णय गरेको सार्वजनिक गरेकी छिन् । फेसबुक पोस्टमा उनले श्रीकृष्णको निधनपछि आफूले भोग्नु परेको पीडा र त्यसबाट निस्कन गरेको संघर्षलाई उल्लेख गरेकी छिन् ।
‘अचानोको पीडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुष्चक्रले ममाथि प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पींडा केवल मलाई मात्र थाहा छ । म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जसमा तिखा काँडा, ठूलाठूला पत्थर अनि आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ,’ उनले लेखेकी छिन् ।
उनले ६ वर्षदेखि एक्लो जीवन काटिरहेको तर कमजोर भएको समयमा कसैको सहाराको अभाव महसुस गरेका पनि उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन् ‘अब उठ्नै सक्दिन कि भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहाराको आशा हुँदो रहेछ । महिनै पिच्छे बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधिको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगीको चाह हुँदो रहेछ ।’
उनले आफ्नो अतीतलाई स्वीकार गरी आफूसँगै सुख दुःख बाँड्न तयार साथी भेटेकाले नयाँ जीवन सुरु गर्न लागेको बताएकी छिन् । पोस्टमा अगाडि श्वेता लेख्छिन् ‘ आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई सहर्ष स्वीकार गरी मसँंगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु ।’
तर, नयाँ जीवन सुरु गरे पनि श्रीकृष्ण श्रेष्ठलाई भने नभुल्ने बताएकी छिन् । ‘ त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मीठा पलहरूलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने प्रयास गर्नेछु,उनले लेखेकी छिन् ।

आमिर खानकी आमाले ९१ वर्षमा गरिन् बलिउडमा डेब्यु

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

प्रतिक्रिया