शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

खोप र अक्सिजन उद्योगलाई सहुलियत, पूर्वाधार निर्माणको ७५ प्रतिशत खर्च सरकारले व्यहोर्ने

काठमाडौँ - सरकारले संक्रामक रोगविरुद्धको खोप उत्पादन गर्ने उद्योग र लिक्विड अक्सिजन उत्पादन गर्ने उद्योगलाई सहुलियत तथा छुटको व्यवस्था गरेको छ । सरकारले खोपको बजार मूल्य समेत निर्माण गर्ने भएको छ । 

संक्रामक रोग विरुद्धको खोप (भ्याक्सिन) उत्पादन गर्न इच्छुक उद्योगलाई वित्तीय सहुलियत तथा छुट दिने भएको हो । यस्ता उद्योगलाई आधार दर मा कर्जा, ब्याज पुँजीकरण सुविधा, परियोजनामा आधारित कर्जा, विशेष पुनरकर्जाको दरमा सहुलियतपूर्ण कर्जा तथा कर्जा नवीकरण सुविधा उपलब्ध गराउने उल्लेख छ । 

खोप उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको मितिदेखि पहिलो पाँच वर्षसम्म विद्युत डिमाण्ड शुल्क छुट दिने उल्लेख छ । त्यसपछि उद्योग सञ्चालन क्षमताको आधारमा पुनरावलोकन गर्न सकिने भनिएको छ । 

खोप उद्योग आफैले उद्योगसम्म पुग्ने सडक, खानेपानी, ढल सम्बन्धी पूर्वाधार निर्माण गरेमा खर्च भएको ७५ प्रतिशतसम्म रकम उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले तर्जुमा गरे कार्यविधि बमोजिम अर्थ मन्त्रालयले सम्बन्धित उद्योगलाई शोधभर्ना उपलब्ध गराउने समेत व्यवस्था गरेको छ ।

खोप उद्योग आफैं वा विद्युत प्राधिकरणबाट उद्योगस्थलसम्म डेडिकेटेड विद्युत लाईन विस्तार गरेमा लागेको खर्चको ७५  प्रतिशतसम्म रकम शोधभर्ना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यविधि तर्जुमा गर्नेछ । कार्यविधि बमोजिम अर्थ मन्त्रालयले सम्बन्धित उद्योग वा नेपाल विद्युत प्राधिकरणलाई शोधभर्ना उपलब्ध गराउने उल्लेख छ । 

खोप उद्योग स्थापना गर्न आवश्यक पर्ने मेसिन उपकरण पैठारी गर्दा स्वीकृत स्किम बमोजिम उद्योग दर्ता भएको मितिले तीन वर्षसम्म भन्सार महशुल, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क पूरै छुट दिने व्यवस्था छ । 

खोप उद्योग स्थापना भई सञ्चालन भएको मितिबाट पाँच वर्षसम्मका लागि विद्युत खपतको आधारमा दुई मेगावाटसम्म खपत भए ४० प्रतिशत विद्युत्‌ महसुलमा छुट दिनेछ । दुई मेगावाटभन्दा बढी खपत भएमा बढीमा ५० प्रतिशतसम्म विद्युत् महसुलमा छुट दिने उल्लेख छ । 

त्यस्तै तरल (लिक्विड) अक्सिजन ग्याँस उत्पादन गर्ने उद्योगलाई विशेष पुनरकर्जाको दरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था सरकारले गरेको छ । तरल अक्सिजन उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको मितिदेखि पहिलो पाँच वर्षसम्म विद्युत डिमाण्ड शुल्क छुट दिनेर तत्पश्चात उद्योग सञ्चालन क्षमताको आधारमा पुनरावलोकन गर्न सकिने उल्लेख छ ।

तरल अक्सिजन उद्योग आफैंले उद्योगसम्म पुग्ने सडक, खानेपानी, ढल सम्बन्धी पूर्वाधार निर्माण गरेमा खर्च भएको ७५ प्रतिशत सम्म रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तर्जुमा गरेको कार्यविधि बमोजिम अर्थ मन्त्रालयले सम्बन्धित उद्योगलाई शोधभर्ना उपलब्ध गराउनेछ ।

तरल अक्सिजन उद्योग आफैँ वा नेपाल वि प्राधिकरणबाट उद्योगस्थलसम्म डेडिकेटेड विद्युत लाईन विस्तार गरेमा लागेको खर्चको ७५ प्रतिशतसम्म रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तर्जुमा गरेको कार्यविधि बमोजिम अर्थ मन्त्रालयले सम्बन्धित उद्योग वा नेपाल विद्युत प्राधिकरणलाई शोधभर्ना गराउनेछ । 

तरल अक्सिजन उद्योग स्थापनाका लागि आवश्यक पर्ने मेशिन उपकरण पैठारी गर्दा उद्योग दर्ता भएको मितिले तीन वर्षसम्म भन्सार महशुल, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट दिनेछ । तरल अक्सिजन उद्योग स्थापना भई सञ्चालन भएको मितिबाट पाँच वर्ष सम्मका लागि विद्युत खपतको आधारमा दुई मेगावाटसम्म खपत भए चालीस प्रतिशत र दुई मेगावाट भन्दा बढी खपत भएमा बढीमा ५० प्रतिशतसम्म प्रतिशतसम्म विद्युत महशुलमा छुट दिने । उक्त छुट बराबरको रकम
अर्थ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई शोधभर्ना गराउनेछ ।

अक्सिजनको उपभोक्ता मूल्य समर्थन, वित्तीय सहुलियत छुट तथा सुविधा, सुविधाको उपयोग र तरल (लिक्विड) अक्सिजनको उत्पादन सम्बन्धमा सहजीकरण, समन्वय, अनुगमन तथा पुनरावलोकन गर्न आपूर्ति सचिवको संयोजकत्वमा एक समिति गठन हुनेछ ।