एनआरएनएको नयाँ नेतृत्वका लागि उपाध्यक्ष केसीको दौडधुप
काठमाडौँ - गैरआवसीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि उपाध्यक्ष डा.बद्री केसीले दौडधुप सुरु गरेका छन् । काठमाडौँको फर्पिङमा जन्मेर अध्ययनका क्रममा रुस पुगेपछि व्यवसाय सुरु गरेका डा.केसी वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् ।
नयाँ नेतृत्वका लागि उनले अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका छन् । उनको सामाजिक सञ्जाल हेर्दा अनौपचारिक रुपमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेरै चुनावी प्रचार प्रसार लागिसकेका छन् ।
बुधबार पनि उनले दौडधुपकै क्रममा काठमाडौँमा केही पत्रकारसँग अन्तरक्रिया गरे । पछिल्लो समय आफ्नै साख जोगाउन नसकेको एनआरएनए, धुमिल पर्दै गएको छवि, राजनीतिक दलका नेताहरुको हस्तक्षेप र चुनावी गतिविधिका बारेमा उनले आफ्ना तिता मिठा अनुभव सुनाए ।
यी सबै चुनौतिलाई चिर्न आफुले अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेको पनि केसीले बताए । ‘पछिल्लो समय एनआरएनएमा समस्या, चुनौति र विकृति पनि बढेको गुनासो बढिरहेको छ,’ उनले भने, ‘यी सबै चुनौतिको सामना गर्दै एनआरएनएलाई नयाँ उचाईमा लैजान अध्यक्षमा चुनाव लड्न लागेको हुँ ।’
उनी यतिमै रोकिएनन् । एनआरएनएभित्र बढ्दो दलीय राजनीतिक दबाब र प्रभाव तथा गैरआवासीय नेपालीका समस्याको समाधान खोज्न आफू अध्यक्ष बन्न लागेको पनि दाबी गरे । पार्टीको समर्थन लिएर चुनाव जित्ने भन्दा प्रवासी नेपालीको दुःख बुझेर नेतृत्वका लागि दौडधुप गरिरहेको उनको दाबी थियो ।
एनआरएनएको वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक समेत रहेका केसीले आगामी चुनावमा नयाँ एजेन्डाभन्दा अहिले भएकै एजेन्डालाई कार्यान्वयन गर्नका लागि आफ्नो नेतृत्व आवश्यक रहेको पनि जिकिर गरे ।
भावी अध्यक्षका लागि केसीले राजनीतिक नेतृत्वदेखि सम्भावित प्रभावशाली व्यक्तिहरुसँगको भेटघाटलाई तीव्र पारेका छन् । यसबीचमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरुसँग पनि लबिङ गरेका छन् ।
एनआरएनएको नयाँ नेतृत्वका लागि केसीसहित वर्तमान महिला उपाध्यक्ष रविना थापा र यसअघि पराजित उम्मेद्वार कूल आचार्य पनि प्यानलसहित चुनावी मैदानमा आउने तयारीमा छन् । एनआरएनएमा नयाँ नेतृत्वका लागि आगामी अक्टोबर २० देखि २५ तारिखमा चुनाव हुँदैछ ।

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

प्रतिक्रिया