सिन्दुर पोते लगाएर काजकिरिया

झापा : झापाको विर्तामोड नगरपालिका-८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर-पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छन् ।
उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उनको मिर्गौलामा समस्या थपिएको थियो । बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नभएको उनको शनिबार निधन भएपछि स्थानीय देउनिया घाटमा दाहसंस्कार गरिएको थियो ।
दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्किइन । हाल निजी निवासमा पतिको किरिया बारिरहेकी उनको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन् ।
'यो मेरा पतिले सौभाग्यको रूपमा दिनुभएको हो,' पतिको निधनपछि पनि सिन्दूर र पोते लगाउनुको कारण बताउँदै उनी भन्छिन्, 'उहाँ (पति)ले म मरेपछि तिमीले सिन्दूर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो ।' रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टीकाराम नेतीले दाजुको इच्छाबमोजिम भाउजूले सिन्दूर र पोते लगाइरहने निर्णय लिएकोमा परिवारको तर्फबाट असहमति नरहेको जानकारी दिए ।
रेनुकाका पति स्व केशव नेपाल कुनै नेता तथा पदीय ओहोदामा रहेका व्यक्ति होइन । उनी विर्तामोडस्थित आफ्नै घरमा सानो पसल चलाउँथे । रेनुकासमेत सामान्य गृहिणी हुन । केशवका दुई छोरा र दुई छोरी छन् । (रासस)

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया