सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

माओवादीले पुस ११ देखि १३ गतेसम्‍म राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आगामी पुसभित्रै महाधिवेशन गर्ने तयारी गरेको छ । अगामी पुस ११ देखि १३ गतेसम्‍म महाधिवेशन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका हुन् । काठमाडौँमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

उनले त्यहाँ महाधिवेशन भन्दा पनि राष्ट्रिय सम्मेलन भनेका छन् । भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउँदै असोज १० गते सेल र टोल भेला गर्ने जस्ता कार्य उनको प्रतिवेदनमा उल्लेख छ । 

माओवादीले असोज २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्दै राष्ट्रिय सम्मेलनको सबै तयारी पुरा गर्दै मंसिरमा १५ गते प्रदेश सम्मेलन गर्ने भनिएको छ । 

छलफलमा उनले राजनीतिक र सांगठनिक प्रस्ताव पेस गरेका थिए । त्यही प्रस्तावमा उनले महाधिवेशन (राष्ट्रिय सम्मेलन) को तिथी पनि राखेका हुन् । दाहालले राखेको प्रस्तावमा छलफल सुरु भएको छ । समूह-समूहमा सुरु भएको छलफलले लगातार प्रतिवेदनमाथि प्रश्न गर्ने र निचोड निकाल्ने भनिएको छ । फरक-फरक आठ समूह बनेर छलफल अघि बढेको जानकारी दिइएको छ । 

शनिबार सुरु भएको पहिलो बैठक दाहालको प्रतिवेदनमा विभिन्‍न समूह बनाएर छलफल गर्दै टुंगिएको हो । आइतबार बिहान पुन बैठक बस्‍ने छ भने समूहगत छलफल पनि हुनेछ । त्यही बैठकपछि मात्र महाधिवेशनलगायत अन्य विषयमा निचोडमा पुगिने माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । केन्द्रीय कमिटीको बैठक बस्‍नुअघि स्थायी कमिटी बैठक बस्‍नेछ ।