सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

सर्वसम्मतिमा महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने प्रयास

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसमा पार्टीभित्र सर्वसम्मत महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने प्रयास भइरहेको छ । शनिबार प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा नयाँ कार्यतालिकाका बिषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेको र धारणा राख्‍ने क्रम सकिएपछि परिमार्जित कार्यतालिका पेस हुने प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिए । 

नेताहरूले छलफल गरी सर्वसम्मतले पारित हुने तरिकाले कार्यतालिका ल्याउने प्रयास भइरहेको प्रवक्ता शर्माले जानकारी दिए । 

१४ औं महाधिवेशनको नयाँ कार्यतालिकका बिषयमा सदस्यहरूले आफ्नो धारणा राखिरहेको उनले बताए । महाधिवेशन निर्वाचन निर्देशिकाका विषयमा पनि धारणा राख्‍ने क्रम जारी छ । निर्वाचन कार्यतालिकालाई पनि आवश्यक परिमार्जन गरिने शर्माले बताए ।

बैठकमा सदस्यहरूले अफगानिस्तानको घटनाक्रमले नेपाली कामदारलाई पर्नसक्ने असर, बिट्रिस भूतपूर्व गौर्खा सैनिकको बिषय, इपिएस परिक्षा पास गरेर कोरिया जान नपाएका मजदुरलगायत विषयमा पनि प्रधानमन्त्रीसमेत रहेका देउवाको ध्यानाकर्षण गराइएको प्रवक्ता शर्माले जानकारी दिए । 

उनले आमन्त्रित केन्द्रीय सदस्यहरूले राजीनामा दिँदै गर्दा उठाएका विषयहरुलाई पनि सम्बोधन गरिने बताए । 

भदौ १६ देखि १९ गतेसम्मका लागि निर्धारित १४ औं महाधिवेशन सार्ने सम्बन्धमा काँग्रेसभित्र मतभेद छ ।  संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।