‘हामीले नुन खायौँ हौँला, बदलामा धेरै खुन दिएका छौं’
विराटनगर - ‘म २११४६८२४ गञ्जमणि राईको नाती, २११५८४०२ रामशंकर राईको छोरा, मलाई थाहा छ हामीलाई बाहिरबाट हेर्दा झल्याकझुलुक राम्रो देखिएला । तर हामीभित्र भनिनसक्नुको पिडा छ’ प्रदेश १ का प्रदेशसभा सदस्य राजन राईले बेलायत सरकारलाई भने, ‘ जसले तिम्रो साम्राज्य बचाउन आफ्नो जीवन अर्पण गरेको छ, छोराछोरी श्रीमति वेवास्ता गरेर बर्षौंसम्म जंगलमा बसेर लडेका छन्, उनीहरुको सुरक्षा तिम्रो जिम्मेवारी हो ।’ बाजे र बाबु पल्टने भएपनि परिवारले भोग्नु परेको पिडा उनले आइतबार प्रदेशसभा पोखे ।
सांसद राईले आफ्ना हजुरबुवा गञ्जमणि राईको मलाया हालको मलेसिया युद्धका क्रममा २६ बर्षको उमेरमा मृत्यु भएको स्मरण गर्दै चिहान हेरेर चित्त बुझाउनुपर्ने अवस्थाको चित्रण गरे । बेलायतमा ९ दिनदेखि भूपू गोर्खाहरु अनसन बसिरहेको जानकारी दिंदै प्रदेश सांसद राईले भने, ‘गोर्खाहरुमाथि अन्याय भयो, हामीले नुन खाएका हौंला, थोरै नुनका बदलामा गोर्खाहरुले धेरै खुन दिएको छ ।’
उनले सरकार बेलायतमा अनसनरत भूपू गोर्खा सैनिकहरुको माग सम्बोधनका लागि उदासिन भएको आरोप लगाए । राईले सरकारको ध्यानाकर्षण गराउँदै गोर्खाहरुको माग सम्बोधनका लागि पहल गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।
सांसद राईले प्रथम र दोस्रो विश्वयुद्धमा हजारौं नेपाली जवानहरुले ज्यान गुमाउनु परेको, अंगभंग भएको भन्दै त्यसको न्याय बेलायतले दिनुपर्ने बताए । उनले नेपाल सरकारले समेत गोर्खाहरुको माग सम्बोधनका लागि कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिए ।
पल्टनेका नाती सांसद राईले भने ‘मैले यो किन भनेको भने बेलायतले गोर्खाहरुमाथि सारै धेरै अन्याय गरेको छ, गोर्खाको माग र मुद्दालाई सुनुवाई गर्नुपर्छ, नत्र भोलि इतिहासले हामीलाई माफ गर्ने छैन ।’
लण्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले भोक हड्तालमा बसेका छन् । उनीहरुले गोर्खाहरुलाई विभेदमा पारिएको बताइरहेका छन् ।

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया