सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

राप्रपा के हो स्थानीय निर्वाचनमा देखाउँछौं : अध्यक्ष राणा

काठमाडौँ -  राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले महाधिवेशनपछि खरो रूपमा प्रस्तुत भएर राप्रपा जनतामाफ स्थापित हुने दाबी गरेका छन् । अध्यक्ष राणाले राप्रपाको सोमबार सम्पन्न कार्य सम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।  

‘एकत्रित राप्रपाले महाधिवेशनको हाँक पूरा गरेर आगामी स्थानीय निर्वाचनमा राप्रपा के हो भनेर देखाएरै छाड्ने छ । जनताको चाहना, देशको परिस्थिति, अन्य दलहरूको अवस्था, यी सबै कारणबाट उभार ल्याउने पार्टी भनेको अब राप्रपा मात्र हो,’ अध्यक्ष राणाले भने, ‘महाधिवेशनबाट प्राप्त ऊर्जाबाट खरो रूपमा प्रस्तुत भएर, एक ढिक्का राप्रपा जनतामाझ स्थापित हुने छ ।’ 

पार्टी एकतालाई लिएर कार्यकर्तामाझ चिन्ता देखिए पनि, महाधिवेशनमा हुने प्रतिष्पर्धाकै कारण राप्रपा नफुट्ने अध्यक्ष राणाले दाबी गरे । ‘महाधिवेशनमा प्रतिष्पर्धा हुनु स्वभाविक हो, प्रजातन्त्र भनेकै प्रतिष्पर्धा हो,’ उनले कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, ‘अध्यक्ष पदमा दुई, चारजना उठ्छन्, सबै उम्मेद्वारसँग चुनाव हारे पनि पार्टी नफुटाउने प्रतिबद्धता माग गर्नुहोस् । नभए कार्यकर्ता तहबाट उम्मेद्वारी स्वीकार नगर्नुहोस् ।’ कम्युनिष्ट दलहरू टुटफुटबाट गुज्रिरहेको भन्दै नेपाली कांग्रेसले पनि पछिल्लो समय बाटो बिराएको उनको भनाइ छ ।

‘एक महिना बितिसक्दा पनि कांग्रेस नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन । गठबन्धनका सबै दलका सबै सांसद्लाई मन्त्री चाहिएको छ । त्यसैले हेर्दै जाउँ, नेपाली कांग्रेसको हालको हाई हाई, अबको चार, पाँच महिनामै फिक्का साबित हुनेछ,’ उनले भने । 

यस्तै राप्रपाका अर्का अध्यक्ष ड.  प्रकाशचन्द्र लोहनीले राजसंस्था र हिन्दु राष्ट्रको बलमा राप्रपाले देशव्यापी लहर ल्याउने जिकिर गरे ।  ‘राप्रपा संसद् अन्तर्गतको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्रमा विश्वास गर्ने दल हो,’ वैठकलाई सम्बोधन गर्दै लोहनीले भने, ‘यी मान्यताका पक्षमा एक समय निकै राम्रो वातावरण बनिसकेको थियो । संसद विघटनको घटनाले देश र जनताको ध्यान अन्यत्र मोड्यो । तर त्यो राजनीतिक सम्भावना र आवश्यकता अझै पनि छ ।’

राप्रपा कुनै पनि दलको पुच्छर भएर होइन, आफ्नो स्वाभीमानमा अडेर अघि बढ्ने उनले जिकिर गरे । ‘आवश्यकताअनुरूप चुनावी गठबन्धन गर्नुपर्ने हुनसक्छ । तर गठबन्धन गरेकै आधारमा कुनै दलको पिछलग्गू भएको भनेर सोच्नु हुँदैन,’ उनले भने ।

आइतबारबाट आरम्भ भएको राप्रपाको दुई दिने कार्य सम्पादन समितिको वैठक सम्पन्न भएको छ । राप्रपाको महाधिवेशन  २७, २८, २९ र ३० कार्तिकमा हुने तय भएको छ ।