७७ अर्बको माथिल्लो त्रिशुली-१ निर्माण सुरु
काठमाडौं - विश्व बैंक र कोरियन लगानी रहेको माथिल्लो त्रिशुली-१ (२१६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । आयोजनाले जारी गरेको प्रेस नोट अनुसार भूमिगत विद्युतगृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’ को काम मंगलबार सुरु भएसँगै आयोजनाको निर्माण सुरु भएको हो ।
दुई सय ४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो बिष्फोट गराइएको प्रेस नोटमा छ । ‘मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण सुरु गरिएको छ’ उसले भनेको छ ।
आयोजना स्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्टको स्थापना, निर्माण सामाग्रीहरुको परीक्षण, पहुँच सडकका लागि त्रिशुली नदीमा बेली ब्रिजको निर्माण, बाँधलगायतका संरचना निर्माणका लागि रुख कटान, सर्च ट्याङतर्फको पहुँच सडक निर्माण लगायतका काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । निर्माणमा अहिले दुई सय श्रमिक आयोजनास्थलमा खटिएका छन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा कोरियन कम्पनी डुसानले ठेक्का पाएको छ ।
उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको यो आयोजना हालसम्मकै ठूलो जलविद्युत आयोजना हो । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन (कोरिया साउथ इस्ट पावर कम्पनी लिमिटेड), विश्व बैक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी रहेको छ ।
आयोजना प्रभावित स्थानीयको लागि अधिकतम १० प्रतिशतसम्म शेयर लगानी सुनिश्चित गरिएको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।
कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ ।
आइएफसी सहभागी भएकाले यसको लागत अत्यधिक उच्च पारिएको छ । यसको सुरुको अनुमानित लागत ३५ अर्ब रुपैयाँ थियो । आइएफसी साझेदार भएपछि यसको लागत ७७ अर्ब रुपैयाँ भन्दा बढी (हालको) पु¥याइएको छ । यो लागत हालै सम्पन्न माथिल्लो तामाकोसी (४५६ मेगावाट) सरह हो ।
आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने कार्यक्रम छ ।
काठमाडौं भार केन्द्र (लोड सेन्टर) बाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको आयोजनाको दाबी छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

प्रतिक्रिया