ओली र नेपाललाई सच्चिन एमाले दोस्रो तहका नेताको अपिल
काठमाडौँ - नेकपा एमालेको एकताका लागि सक्रिय रहँदै आएका दोस्रो तहका नेताले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपाललाई निर्णय सच्याउन अपिल गरेका छन्।
५ पुस ०७७ मा तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल पक्षमा खुलेका दोस्रो तहका नेताले ओलीलाई १० बुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।
एमाले एकताका लागि २ जेठ ०७८ मा बनेको एकता कार्यदलले २७ असारमा तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार नभए आफूहरू एमालेमा बस्न नसक्ने चेतावनी उनीहरूले दिएका छन् ।
नेपाल पक्षमा खुल्दै आएका तर एमाले समाजवादीमा नगएका एमाले स्थायी समिति सदस्यहरू भीम आचार्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्तलगायतका नेताहरूको बिहीबारको छलफलले ओलीले १० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन नगरे सहयोग गर्न नसक्ने निचोडसमेत निकालेको छ ।
१० बुँदे सहमतिको माइन्यूटमा एमाले एकताबारे उल्लेख छ । तर ओलीले त्यसयता पनि नेपाल पक्षीय नेताको अनुपस्थितिमा एमालेको केन्द्रीय र स्थायी कमिटीको पटक-पटक बैठक राख्दै आएकाले नेपाल असन्तुष्ट रहदै आएका थिए । त्यही विवाद बढ्दै जाँदा बुधबारमात्रै नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन दिएका छन् ।
‘अध्यक्ष ओली कमरेडले १० बुँदेको अक्षरशः कार्यान्वयन गर्ने नबताएसम्म हामी अबका बैठकमा पनि जाँदैनौं,’ छलफलमा सहभागी एक नेताले भने, ‘१० बुँदेको अक्षरशः पालना भएर एमालेमै सबै अट्ने हो भने नयाँ पार्टी दर्ता गर्नुको औचित्य नै हुँदैन नी ।’
अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए माधव नेपाललाई समेत एमालेमा आउन अपिल गरिने ती नेताले जानकारी दिए ।
यता अध्यक्ष ओली भने १० बुँदेमा कहीँ पनि दुई अध्यक्षको व्यवस्था नभएकाले आफू नेपाललाई अध्यक्ष दिन तयार नरहने अडानमा छन् । ‘नेपाल कमरेडले दोस्रो अध्यक्षको माग छोड्नुपर्यो र ओली कमरेडले एमालेमा नेपाल कमरेडलाई सम्मानजनक स्थान दिनुपर्यो यी दुई पहल नेतृत्वबाट भए हामी नेपाल कमरेडलाई एमालेमा ल्याउन पहल गर्नेछौं,’ छलफलमा सहभागी एक नेताले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया