प्रदेश २ आन्तरिक मामिला तथा कानुन मन्त्रालय: बैठक भत्तामै सकियो ६९ लाख

जनकपुरधाम - प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विभिन्न शीर्षकमा बैठक भत्ताको नाममा ६९ लाख भन्दा बढी रकम अनियमित तरिकाले खर्च गरेको पाइएको छ । महालेखा परीक्षक कार्यालयको ५८औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७६/७७ मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कानुन निर्माण गर्न बैठक भत्ताको नाममा ४६ लाख ४० हजार र शान्ति सुरक्षाको बैठक भत्ताको नाममा २३ लाख ५० हजार रुपैयाँगरी कूल ६९ लाख ९० हजार गैर कानुनी रूपमा खर्च ठहर गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको काम नै परामर्श दिने र कानुन निर्माणका मस्यौदा तयार पार्ने रहेको छ । आफूले गर्ने कामको लागि बैठक भत्ताको नाममा रकम खर्च गर्नु कानुन सम्मत नरहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
'आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६ (८) मा रीत पुगे नपुगेको र नियम ९५ मा मन्त्रालयबाट सम्पादन हुने कार्यलाई मितव्ययी गराउन आर्थिक नियन्त्रण प्रणाली तयार गर्नुपर्ने व्यवस्था छ । मन्त्रालयले विभिन्न कानुन मस्यौदा तयार गर्ने क्रममा विभिन्न मितिमा बैठक भत्ता ४६ लाख ४० हजार रुपैयाँ खर्च लेख्नु उचित नदेखिएको कारण सो रकम असुल गर्नु पर्दछ,' प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै मन्त्री ज्ञानेन्द्र यादव र सचिव कृष्णहरि पुष्करले शान्ति सुरक्षा बैठक भत्ताको नाममा २३ लाख ५० हजार लिनु गलत परिपाटी रहेको महालेखाको दाबी छ । शान्ति सुरक्षा कायम गर्नु र त्यसका बैठक गर्नु सो मन्त्रालयबाट सम्पादित हुने काम हो । आफूले सम्पादन गर्ने कार्य सम्बन्धित पदाधिकारीको दायित्व हो त्यसका लागि भत्ता लिनु उचित नरहेको भनिएको छ ।
प्रदेश मन्त्री परिषद्को २०७५ जेठ १० को निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री तथा सचिवलाई भैपरी आउने शान्ति सुरक्षाको कामको बैठकका लागि मन्त्रीलाई प्रतिपटक ३० हजार र सचिवलाई १० हजारका दरले प्रति महिला पाँच पटक सम्म खर्च गर्न सक्ने व्यवस्था गरिएको छ । सो निर्णय अनुसार मन्त्रीले बिना बिल भरपाईको मन्त्री यादवले १८ लाख र सचिवलाई ५ लाख ५० हजार गरी कूल २३ लाख ५० हजार रुपैयाँ ११ महिनाको बुझेको पाइएको छ ।
यति मात्र होइन गतवर्ष सो मन्त्रालयले संघीय सरकारको नक्कल गर्दै शान्ति सुरक्षाका लागि सुराकीको नाममा २४ लाख रुपैयाँ अवैधानिक तरिकाले खर्चेका थिए । सो बेला पनि महालेखा उक्त रकम खर्च गर्नु गलत रहेको भन्दै असुल गर्नुपर्ने भनेको थियो । यसवर्ष शीर्षक परिवर्तनगरी शान्ति सुरक्षा बैठक भत्ताको नाममा साढे २३ लाख खर्चेको हो ।
मन्त्रालयले आफनो काम कर्तव्य अन्तरगत रहेर कुनै योजनामा रकम खर्च गर्नु पाउने आर्थिक नियमावलीमा व्यवस्था छ । तर ती व्यवस्थालाई बेवास्ता गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नो कार्य क्षेत्रभन्दा बाहिर गएरसमेत रकम खर्च गरेको महालेखाले ठहर गरेको छ ।
मन्त्रालयले मन्त्रिपरिषदको निर्णय गराएर खेलकुद कार्यक्रममा २३ लाख ८४ हजार खर्च गरेको छ । यसका बावजूद सार्वजनिक खरीद ऐनविपरित मन्त्रालयले ४३ लाख ६४ हजारको विपद् राहत सामग्री खरिद शीर्षकबाट हरियो मण्डी त्रिपाल ब्ल्याङ्केट लगायतका सामानहरू प्रतिस्पर्धा नगराई सोझै खरिद गरेको छ ।
महालेखाले प्रत्येक वर्ष आफ्नो प्रतिवेदनमा मन्त्रालय तथा विभिन्न सरकार कार्यालयको त्रुटि निकाले अवैध खर्च गरिएको भनी असुल गर्नुपर्ने भन्दै आएको छ । तर आजसम्म ती असुल गर्नुपर्ने रकम भुक्तानी गरिएको छ÷छैन कुनै प्रतिवेदन सार्वजनिक गरिएको देखिदैन ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया