सम्झौताविपरीत बिक्यो मणिपाल
पोखरा – नेपाल सरकार र मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपबीचको सहमति लत्याउँदै मणिपाल अस्पताल बिक्री भएको खुलेकाे छ । सरकारसँग मणिपालले गरेको सम्झौतामा बीचमा बेच्न/हस्तान्तरण गर्न नपाइने प्रावधान राखिएको छ । तर मणिपाल ग्रुप भने पोखराका २ व्यवसायीलाई ३ अर्ब २२ करोड ६० लाखमा बेचेर बाहिरिन लागेको हो । ‘उक्त ४९ वर्षको अवधि समाप्त भएपछि वा बिचैमा दोस्रो पक्षले उक्त जग्गा छाडी जाने भएमा भू–बहाल रकम प्रथम पक्षले फिर्ता नदिने र उक्त जग्गामा उपलब्ध भौतिक सुविधाहरू अरूलाई हस्तान्तरण गर्न नपाउने गरी यथास्थितिमै प्रथम पक्षलाई नै छोडेर जानुपर्नेछ । सोवापत प्रथम पक्षले दोश्रो पक्षलाई कुनै पनि रकम दिनुपर्ने छैन ।’ सम्झौतामा लेखिएको छ ।
मणिपाल ग्रुपले १९९२ मा नेपाल सरकारसँग सम्झौता गरेर मेडिकल कलेज स्थापना गरेको थियो । सरकारले मणिपाललाई ४९ वर्षको अवधि दिएको थियो । तर २७ वर्षमात्रै चलाएर २२ वर्ष सम्झौता अवधि बाँकी छँदै भारतीयले कलेज र अस्पतालबाट लगानी झिकेका हुन् ।
मणिपाल शिक्षण अस्पतालको सेयर खरिद सम्झौता शुक्रबार भएको छ । दुई पोखरेली व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले संयुक्त लगानीमा किन्ने गरी सेयर खरिद सम्झौता गरेका हुन् । बतास समूह चलाइरहेका आनन्दराज बतास र अटोवेज ग्रुपका नारायण पौडेलले ३ अर्ब २२ करोड ६० लाखमा मणिपाल किनेका हुन् । बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानी गरेर अस्पताल किनेको पौडेलले बताएका छन् ।
नेपाल सरकारसँग सहमति अनुसार संचालनकाे ४९ वर्षपछि सरकारकाे हुनेगरी खुलेको मेडिकल कलेज बेचेर भारतीय कम्पनी बाहिरिन लाग्दा पनि सरकार भने मौन छ । शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयका अधिकारी मन्त्रालयलाई आधिकारिक जानकारी नआएको बताउँछन् ।
यस्तो अवस्थामा सरकार मौन बस्नु शंकास्पद रहेको अधिवक्ता खगेन्द्र सुवेदीको भनाइ छ । नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने कम्पनी बेचेर भारतीय कम्पनी स्वदेश पस्न लाग्दा पनि आधिकारिक जानकारी पाएनौं भनेर बस्नु गलत रहेको उनको तर्क छ । ‘मन्त्रालयले सबैतिरबाट जानकारी लिने हो । यत्रो मिडियामा लगातार आइरहँदा थाहा छैन भन्नु शंकास्पद छ,’ उनले भने । सरकारले अब मणिपाल ग्रुपसँग स्पष्टीकरण सोधेर किनबेचलाई बदर गर्नुपर्ने सुवेदीले बताए । सरकारले यस विषयमा काम नगरे सार्वजनिक महत्त्वको विषय भएकाले जनताले नै अदालतमा रिट दिए किनबेच बदर हुनसक्ने उनको भनाइ छ ।
कलेज र अस्पताल दुवैको मूल्यांकन गर्दा अस्पतालको मूल्य २ अर्ब २५ करोड छ । यसका साथै अस्पतालको ४० रोपनी जग्गा र ९७ करोड दायित्व गरेर सवा ३ अर्बमा अस्पताल बिक्री भएको हो अस्पताल सञ्चालनका लागि आनन्दराज बतासको अध्यक्षतामा चार सदस्यीय बोर्ड बन्ने छ । उपाध्यक्षमा नारायण पौडेल रहनेछन् भने सदस्यमा आनन्दका २ भाइ शान्तराज बतास र बिपिन बतास हुनेछन् ।
७ सय ५० शय्याको अस्पतालमा ११ सय कर्मचारी कार्यरत छन् । कलेजबाट वर्षेनी १ सय जना विद्यार्थीलाई एमबीबीएस पढ्ने अनुमति छ । ५ वर्षसम्म मणिपालकै नाममा संचालन हुने र त्यसपछि नाम परिवर्तन गरिने भएको छ । तर मणिपाललगायत नेपालका सबै निजी चिकित्सा शिक्षण संस्था भने अबको ७ वर्षमा गैरनाफामूलक बन्दैछन् । २०७५ मा पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनले नेपालका निजी चिकित्सा शिक्षण संस्था गैरनाफामूलक र सेवामूलक हुनुपर्ने प्रावधान राखेको छ । ‘ऐन प्रारम्भ भएको मितिले दश वर्षपछि नेपाल राज्यभित्र सञ्चालित चिकित्सा शिक्षण संस्था क्रमशः गैर नाफामूलक र सेवामूलक संस्थाका रुपमा रहनेछन्,’ ऐनको दफा ४७ ले भनेको छ । तर त्यसअगावै सम्पत्ति हस्तान्तरण गर्न चाहेमा भने सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्ने प्रावधान पनि ऐनमा छ ।
तस्बिरहरू साभार : गन्थनडटकमबाट

म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन

बाणिज्य बिभागको अनुगमन जारी, २० उधोगको कारोबार

चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

चित्तवनमा दिपल इभीको औपचारिक विक्रीवितरण सुरु

नयाँ वर्षमा रचना रिमालले 'द क्लिफ'मा सांगीतिक प्रस्तुति दिने

सुनको मूल्य तोलामै ५ हजार ७ सयले बढ्यो

यस्तो छ आजको विनिमयदर

प्रतिक्रिया