आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

प्रधानमन्त्रीले भने- के सहयोग चाहिन्छ गर्न तयार छु, व्यवसायीको गुनासो- चन्दा आतंक बढ्यो

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको मनोबल घट्दै गएको बताएका छन् । उनले विभिन्‍न माग राखी उद्योग बन्द गर्ने र चन्दा आतंक बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । 

महासंघका नवनिर्वाचित प्रतिनिधीहरुको प्रधानमन्त्रीसँगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले भने, ‘केही समयदेखि उद्योगहरूमा विभिन्‍न माग राखी उद्योग बन्द गर्ने कार्य भएको, जिल्लाका उद्यमी व्यवसायीहरूबाट चन्दा आतंक बढेको गुनासो आएको, काम गर्ने वातावरण नभएको र व्यवसायिक मनोवल समेत घट्दै गएको छ ।' सरकारले समयमै यसतर्फ उचित कदम चाल्नुपर्ने उनको सुझाव थियो । 

महासंघका नवनिर्वाचित पदाधिकारीहरूले हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक भेटवार्ता गरेका थिए । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले प्रधानमन्त्री समक्ष महासंघको नयाँ नेतृत्वले निजी क्षेत्र र समुन्‍नत मुलुक निर्माणका लागि भिजन पेपर तयारीमा लागेको बताए । 

अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अवका दिनमा समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि महासंघले विज्ञ समेतको सहयोगमा आवश्यक गृहकार्य गरिरहेको जानकारी गराए । बजेट र मौदि्रक नीतिले उद्यमी व्यवसायीका केही माग सम्वोधन गरेको भए पनि धेरैजसो कार्यान्वयन हुन नसकेकाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सहित कोभिड पुनरूत्थान विशेष कार्यक्रमको आवश्यकतामाथि जोड दिए ।
 
सो अवसरमा महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले मुलुकको आर्थिक सुदृढीकरणका लागि महासंघको नवनिर्वाचित टिमले अगाडी सारेको कार्ययोजनाको स्वागत गर्दै सरकारले गर्नुपर्ने सहयोगका लागि आफू सधै तयार रहेको बताए । उनले भने, ‘तपाईहरू उद्योग व्यवसायमा लाग्‍नुहोस, के सहयोग गर्नुपर्छ म आफैँ पनि र उद्योग मन्त्रालयका तर्फबाट समेत तपाईहरूलाई चाहेको सहयोग हुन्छ ।’ 
 
प्रधानमन्त्री ओलीले व्यावसायिक एकता र सहकार्यमा पनि जोड दिए । साथै उनले स्वदेशी उत्पादनको प्रवर्धनमा लाग्‍नसमेत आग्रह गरे । भेटवार्तामा महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको सहभागिता थियो ।