महन्थ ठाकुर केपी ओलीको मतियार हुन् : उपेन्द्र यादव

बुटवल – जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरले जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । आइतबार भैरहवामा जसपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दुई–दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेका केपी शर्मा ओलीको साथमा लागेर ठाकुर ओलीको मतियार बनेको दाबी गरे । दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेर ओलीले एकै व्यक्तिलाई दुई पटक मृत्युदण्डको सजाय दिएको यादवको आरोप छ ।
‘आफूलाई मधेशको नेता भन्ने ठाकुर एण्ड कम्पनी संसद् विघटन गर्ने केपी ओलीको मतियार बनेको छ । तर प्रतिगमनकारी सपना जसपाले चकनाचुर पारेको छ,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले भने, ‘संसद् विघटन गर्ने ओलीको कदमविरुद्ध जसपा सडक आन्दोलनमा उत्रिएको थियो । सुरुमा हामी आन्दोलनमा उत्रिए पनि कांग्रेसका केही नेता चुनावमा जान पाए ठीक हुन्थ्यो भन्ने सोचमा थिए ।’
यादवले संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने काममा जसपा अग्रणी रहेको दाबी गरे । लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत महत्वपूर्ण उपलब्धीको संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । प्राप्त उपलब्धी रक्षा गर्दै बाँकी रहेका अधिकारका लागि लड्नुपर्ने उनले बताए । ००७ सालमा प्राप्त उपलब्धी संस्थागत गर्न नसकेकै कारण लामो संघर्ष गर्नुपरेकाले अहिले प्राप्त उपलब्धी संस्थागत गर्न नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।
‘त्रुटिपूर्ण र विभेदकारी संविधान संशोधन गर्नुपर्छ, सात प्रदेशको संरचना बदल्नुपर्छ । अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले किसान, मजदूरले निर्वाचन लड्न सक्ने अवस्था छैन । त्यसैले समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ,’ उनले भने, ‘सबै भाषाको सम्मान गर्दै विभेद र असमानताको अन्त्य गर्नुपर्छ । मधेसी नागरिकलाई विदेशी सरहको नागरिकको रूपमा हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्छ । राज्यले विपन्न वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नुपर्छ ।’
कार्यक्रममा जसपा वरिष्ठ नेता अशोक राईले पहिचानको संघीयता र प्रदेशलाई स्वायत्त बनाउनुपर्ने जसपाको माग रहेको बताए । उनले न्यायपूर्ण समाजको परिकल्पनाको साथ जसपाको निर्माण भएको बताए । ‘हामी अग्रगामी यात्रा तय गर्न गठबन्धन गरेर अगाडि बढेका छौं,’ राईले भने ।
पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री महेन्द्र राय यादव, नवराज सुवेदी, नर्सिङ चौधरी, अमृता अग्रहरी, सहसराम यादव, अशोककुमार यादवलगायत नेताहरूले महन्थ ठाकुरहरूले प्रतिगमनलाई साथ दिएको तर्क गरे ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया