सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

कवि सोम निरौलाको ‘सिसिफस’ लोकार्पण

इलाम : इलामका कवि सोम निरौलाको कविता संग्रह ‘सिसिफस’ भर्चुअल माध्यमबाट बिमोचन भएको छ । कोकगोष्ठी, प्रतिभा निकुञ्ज र छन्द-चौतारी गरी तीन संस्थाको सहकार्यमा आयोजित ९७ औँ कोकगोष्ठीको अवसरमा यस कृतिको लोकार्पण गरिएको हो ।

४९ ओटा छन्द कविता समेटिएको पुस्तकको लोकार्पण  रमेश खकुरेल, प्रा.डा. माधवप्रसाद पोखरेल, भुवनहरि सिग्देल, कोषराज न्यौपाने, प्रल्हाद पोखरेल, होम सुवेदी लगायत कविहरूको उपस्थितिमा भएको थियो । पुस्तकको लोकार्पण पछि  होम सुवेदीले  कवितामाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

कवि प्रल्हाद पोखरेल सञ्चालक रहेको उक्त कार्यक्रममा कवि भुवनहरि सिग्देल, कवि कोषराज न्यौपाने, प्राध्यापक डा. माधवप्रसाद पोखरेललगायतले कविता संग्रहमाथि आफ्नो धारणा राखेका थिए । कविता सूक्तिमय रहेको र छन्द कवितामा विम्बको प्रयोग हुँदैन भन्नेहरूका लागि ‘सिसिफस’ एउटा दरिलो जवाफ भएको वक्ताको धारणा थियो ।

कार्यक्रममा पाँचवटा कविता वाचन पनि भएका थिए । युवा कवि मनोज भन्डारी, गायिका निरा रानाभाट, कवयत्री भवानी खतिवडा एवं पुष्कल किरणले ‘सिसिफस’भित्रका कविता वाचन गरेका थिए भने खोलाघरे साहिँलो, जगदीश्वर पोखरेल, दुष्यन्त भट्टराई, डा. खगेन्द्रप्रसाद दाहाललगायत कविहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा कवयत्री भवानी खतिवडाले कवितामै संग्रहमाथि टिप्पणी गरेका थिए । सामाजिक सञ्जालमा छन्द-चौतारीनामक समूह सञ्चालन गरी नेपाली छन्द-कविताको जागरणमा सक्रियता देखाइरहेका सोम निरौलाको यो पहिलो कृति हो । निरौला गणित विषयका अध्यापक हुन् ।