यस्तो छ प्रदेश १ मा बिजुलीको अवस्था
विद्युत चुहावट कति ?

काठमाडौँ - प्रदेश १ का कूल १४ जिल्लामध्ये सबैभन्दा बढी विद्युतीकरण सुनसरीमा भएको छ । विद्युत् प्राधिकरणको सबैभन्दा पछिल्लो आँकडाअनुसार सुनसरीमा ९९.६२ प्रतिशत विद्युतीकरण भएको हो । सुनसरीमा प्राधिकरणको कूल एक लाख ७४ हजार ९२ ग्राहक छन् । सुनसरीपछि सबैभन्दा बढी विद्युतीकरण भएको झापा हो । झापामा विद्युतीकरण दर ९८.९१ प्रतिशत पुगेको छ । झापामा प्राधिकरणको दुई लाख ३८ हजार एक सय ५० ग्राहक छन् । प्रदेशमा सबैभन्दा बढी ग्राहक भएको जिल्ला झापा हो ।
सुनसरी र झापाकै समकक्षमा आउने मोरङमा आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार ९८.०६ प्रतिशत विद्युतीकरण भएको छ । मोरङमा प्राधिकरणको चारवटा वितरण केन्द्र छन् । यी केन्द्रअन्तर्गत दुई लाख १९ हजार ७ सय ३८ ग्राहक छन् । विद्युतीकरणका हिसाबले यी तीन जिल्लापछि अग्रस्थानमा विद्युतीकरण भएको धनकुटा हो । २९ हजार ७ सय ७७ ग्राहक संख्या रहेको धनकुटामा ९७.६५ प्रतिशतले विद्युतीकरण भएको तथ्यांकले देखाएको छ ।
धनकुटापछि तेह«थुममा अहिलेसम्म ८९.१९ प्रतिशत विद्युतीकरण भएको छ । एकमात्र वितरण केन्द्र भएको तेह«थुममा प्राधिकरणको ग्राहक संख्या १६ हजार ९ सय १९ छ । तेह्रथुमपछि पहाडी जिल्ला पाँचथर विद्युतीकरणमा अग्रस्थानमा छ । प्राधिकरणका अनुसार पाँचथरमा अहिलेसम्म ८६.९४ प्रतिशत विद्युतीकरण भएको छ । त्यसैगरी इलाममा ७८.२९, संखुवासभामा ७४.६२ प्रतिशत, खोटाङमा ६८.२९ प्रतिशत विद्युतीकरण भएको छ ।
प्रदेश १ कै उदयपुरमा ६७.३२ प्रतिशत, ताप्लेजुङ ६१.७६ प्रतिशत, भोजपु ५५.५५ प्रतिशत र ओखलढुंगामा ४६.०६ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश १ मा सबैभन्दा कम विद्युतीकरण भएको जिल्ला सोलुखुम्बु हो । हिमाली जिल्ला सोलुमा जम्मा ६.०२ प्रतिशत मात्र विद्युतीकरण भएको छ । प्रदेश १ अन्तर्गतका १४ जिल्लामा कूल ८६.९५ विद्युतीकरण भएको प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश १ मा विद्युत चुहावट कति ?
प्रदेश १ अन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट (प्राविधिक र चोरी दुवै) सुनसरीको इनरुवा वितरण केन्द्रमा देखिएको छ । प्राधिकरणको तथ्यांकअनुसार इनरुवामा २६.९६ प्रतिशत विद्युत् चुहावट छ । दुई वर्षअघि २४.५८ प्रतिशत चुहावट रहेको इनरुवाको गत वर्षको चुहावट २६.४४ प्रतिशत थियो ।
प्रदेश १ मा इनरुवापछि दोस्रो ठूलो चुहावट हुने कीर्तिमानी राखेको वितरण केन्द्र मोरुङको रंगेली हो । रंगेलीमा गत वर्ष २३.७३ प्रतिशत चुहावट रह्यो । यो गत वर्षको भन्दा २.४६ प्रतिशत बढी हो । निषेधाज्ञाका कारण प्राधिकरणका कर्मचारीको अनुगमन पातलो हुँदा चुहावट बढेको आंशका छ । रंगेलीपछि उच्च चुहावट हुने जिल्ला संखुवासभाको खाँदबारी भएको छ । खाँदबारीमा २१.४३ प्रतिशत चुहावट छ । गत वर्षकोभन्दा यो २.२ प्रतिशतले कम हो ।
प्रदेश १ मा सबैभन्दा कम चुहावट भएको जिल्ला धनकुटा हो । धनकुटामा जम्मा चुहावट १.०३ प्रतिशत मात्र छ । यो चुहाव प्राविधिक मात्रै हो । गत वर्ष ११.८९ प्रतिशत चुहावट रहेको धनकुटामा एकैचोटि एक प्रतिशतमा झार्न धनकुटा वितरण केन्द्र सफल भएको हो । दुई वर्षअघि धनकुटाको चुहावट १२.८० प्रतिशत थियो । त्यसैगरी उदयपुर वितरण केन्द्र धनकुटापछि सबैभन्दा कम चुहावट कायम गरेर कीर्तिमान राखेको छ ।
उदयपुरको विद्युत् चुहावट जम्मा २.९१ प्रतिशत छ । उदयपुरको गत वर्षको चुहावट ५.१२ प्रतिशत थियो । कम विद्युत् चुहावट भएको अर्को वितरण केन्द्र दुहबी हो । दुहबी वितरण केन्द्रको चुहावट ४.२ प्रतिशत छ । प्रदेश १ को कूल विद्युत् चुहावट ११.९८ प्रतिशत छ । प्रदेश १ मा विद्युत् प्राधिकरणको कूल ग्राहक सख्या ८ लाख ५८ हजार ९६१ छ । यो प्रदेशमा प्राधिकरणले वार्षिक रुपमा ११ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो । प्राधिकरणले प्रदेश १ मा गत वर्ष एक अर्ब २० करोड युनिट बिजुली बिक्री गरेको थियो ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया