बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

अफगानी क्रिकेटमा तालिबानको झण्डा

काठमाडौँ - सन् २००० दशकको सुरुवातसम्म पनि अफगानिस्तानमा क्रिकेट खेल लोकप्रिय थिएन । तर त्यसपछिका वर्षमा भने यस खेलको लोकप्रियता ह्वात्तै बढ्यो । यसको मुख्य कारण, पाकिस्तानमा बसोबास गर्ने अफगानी शरणार्थी हुन् । जसले पाकिस्तानी भूमिमा क्रिकेट सिके । अनि उनीहरु मार्फत नै क्रिकेटको चस्का मुलुक नछाडेका अफगानीसम्म पुग्यो । 

अफगानिस्तानमा क्रिकेट लोकप्रिय हुन सुरु गरेसँगै त्यहाँको राष्ट्रिय टिमको प्रदर्शन बलियो बन्दै गयो । सन् २०१७ मा त अफगानिस्तानले टेस्ट मान्यता नै पायो । हाल उ एक दिवशीय क्रिकेटमा शीर्ष १० मा पर्ने टिमहरूमध्येको एक हो । टी-ट्वान्टीमा पनि उसको हैसियत उति नै बलियो छ । जे होस्, क्रिकेटले अफगानी समाजमा सकारात्मक प्रभाव छाडेको छ । पछिल्ला २० वर्ष अफगानिस्तान युद्धमा रहँदा त्यहाँको समाजलाई एक ढिक्का बनाइराख्ने प्रयास क्रिकेटले नै गर्‍यो । 

अगस्ट १५ बाट तालिबान काबुल फर्केको छ । तालिबानले सत्ता हातमा लिएसँगै त्यहाँको खेलकुदको अवस्था के हुने भन्‍ने अन्योल छ । यस्तो अन्योलबीच नै शुक्रबार मैत्रीपूर्ण क्रिकेट खेल आयोजना गरियो । सहभागी टिम थिए, पिस डिफेन्डर्स र पिस हिरोज । दुवै टिममा अफगानी राष्ट्रिय टोलीका सदस्यहरू थिए । जो आसन्‍न टी–ट्वान्टी विश्वकपका लागि तयारी गरिरहेका छन् । 

काबुलमा भएको खेलमा खेलकुद पदाधिकारी देखि तालिबान कमाण्डरसम्म उपस्थित थिए । यो खेलले अफगानिस्तानको राष्ट्रिय एकतामा टेवा पुर्‍याएको खेलकुद पदाधिकारीहरूको भनाइ छ । विगतमा खेलकुद, सास्कृतिक क्रियाकलाप प्रति कठोर देखिएको तालिबानका कमाण्डर क्रिकेट हेर्न मैदान पुगेपछि महत्वपूर्ण प्रश्न उठेको छ, ‘तालिबान फेरिएको हो ?’

खेल दौरान अफगानिस्तानको राष्ट्रिय झण्डासँगै तालिबानको झण्डा पनि फहराईएको थियो । ‘यहाँ आएर क्रिकेट हेर्दा रमाइलो लागेको छ,’ अमेरिकी राइफल एम–१६ बोकेका तालिबानी कमाण्डर हाम्जाको भनाइ थियो । मैदानमा उपस्थित दर्शकको सुरक्षाका लागि खटिएका तालिबानी लडाकुहरूको नेतृत्व यिनै हाम्जाले गरिरहेका थिए । ‘म आफैँ पनि क्रिकेट खेल्ने गर्थे । म अलराउण्डर थिए,’ हाम्जाले आफ्नो विगत सम्झिए ।

सन् १९९६ देखि २००१ सम्म अफगानिस्तान तालिबानकै कब्जामा थियो । त्यसबखत तालिबानले मनोरञ्जनमा मात्र होइन कतिपय खेलमा समेत प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धमा नपरेका खेलमा पनि महिलाको सहभागिता वर्जित गरिएको थियो । शुक्रबारको क्रिकेट खेलमा पनि महिला दर्शक थिएनन् । तर यस टि–ट्वान्टी भिडन्तले अफगानी नागरिकमा उत्साह भने ल्याएको बताइएकाे छ । 

टिकटको व्यवस्था नगरिएको खेल हेर्न करिब चार हजार दर्शक उपस्थित थिए । खेलमा विजयी बन्यो, पिस डिफेन्डर्स । उसले ६२ रनले खेल जित्यो । खेलपछि फ्रेन्च समाचार एजेन्सी एएफपीसँग कुरा गर्दा अफगानी क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकृत हमिद शिनवारी हर्षित देखिए । ‘यो खेल अफगानिस्तानका लागि सकारात्मक संकेत हो । एकताको सन्देश हो,’ शिनवारीले भने । विना अवरोध क्रिकेट गतिविधि सञ्चालन गर्न पनि आफूहरु र तालिबानबीच छलफल भइरहेको उनको भनाइ थियो । 

यद्यपि, शिनवारीले महिला क्रिकेटबारे प्रष्ट जवाफ दिन सकेनन् । अफगानी महिला टिमका कतिपय सदस्यले मुलुक छाडिसकेका छन् भने बाँकी सदस्यले आ-आफ्नो परिचय लुकाएको अवस्था छ । एएफपीको सहयोगमा