प्रिमियर लिगमा यो साता : म्यानचेस्टर डर्बीदेखि ‘रेलिगेसन ब्याटल’सम्म

म्यानचेस्टर युनाइटेडविरुध्द म्यानचेस्टर सिटी
सोल्स्यारको दुविधा
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यार दबाबमा छन् । जब उनी दबाबमा हुन्छन्, तब उनी रक्षात्मक खेल रणनीति छनौट गर्छन् । गत सिजन पनि उनले धेरै खेलमा त्यसै गरे । यस सिजनका महत्वपूर्ण खेलहरूमा सोल्स्यारले रक्षात्मक टिम छनौट गरेका छन् ।
उदाहरणका लागि, च्याम्पियन्स लिगमा आरबी लाइपजिविरुद्धको खेल । जहाँ उनले तीन सेन्ट्रल डिफेन्डर र दुई ‘होल्डिङ मिडफिल्डर’ खेलाए । त्यो पनि, स्ट्राइकरबिना मैदान उत्रिएको टिमसँग आमनेसामने हुँदा । यस्तो संरचनामा खेलाउनु भनेको सोल्स्यारले आफ्नो रक्षापंक्तिलाई विश्वास नगर्नु हो । जबकि सोल्स्यार आफैँले खरिद गरेका तीन डिफेन्डर युनाइटेडको टिममा छन् ।
सोल्स्यारले सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीविरुद्ध शनिबार कस्तो रणनीति बनाउलान् ? शायद रक्षात्मक नै । तर रक्षात्मक भएर खेल्दा बल अधिकांश समय, सिटीका आक्रमक खेलाडीहरूसँग रहनेछ । विपक्षीलाई बलमाथि नियन्त्रण राख्न दिनु भनेको आफू स्वतः दबाबमा पर्नु हो । तर के सोल्स्यारसँग आक्रमक फुटबल खेल्ने सुविधा छ ? त्यो पनि विश्व फुटबलमा उत्कृष्ट मानिएका प्रशिक्षक पेप ग्वार्डिओलाको बलियो सिटी टिमविरुद्ध । जे जस्तो उपाय अपनाए पनि सोल्स्यार दबाबमै रहनेछन् ।
एभरटनविरुध्द चेल्सी
रोद्रिगेजसँगको अपेक्षा
इटालियन कार्लो एनसिलोटीको नेतृत्वमा एभरटनले यो सिजन राम्रो सुरुवात गर्यो । सुरुवाती चार खेल जितेको एभरटनले त्यसपछिका साताहरूमा बलियो लय कायम राख्न सकेन । पछिल्ला पाँच खेलबाट एभरटनले चार अंक मात्र बटुल्न सकेको छ । एभरटनको बलियो सुरुवातमा यसै सिजन इंगल्यान्ड आएका हामेस रोद्रिगेजको पनि महत्वपूर्ण भूमिका थियो । तर उनी सिजन अघि बढदै जादाँ फिक्का देखिदै गएका छन् ।
एभरटनको पछिल्लो खेलमा रोद्रिगेजले केही हदसम्म राम्रो खेले । तर बर्नलीविरुद्ध उनले एभरटनलाई पुरै तीन अंक दिलाउन सकेनन् । त्यसकारण यो साता एभरटन चेल्सीसँग आमने-सामने हुँदा रोद्रिगेज एनसिलोटीको मुख्य हतियार हुन जरुरी छ । एभरटन सर्मथकहरूले धेरै वर्षपछि साँच्चैको विश्वस्तरीय खेलाडीलाई आफ्नो देखिरहेको परिप्रेक्ष्यमा रोद्रिगेजले अपेक्षाकृत खेल देखाउन जरुरी छ ।
आर्सनलविरुध्द बर्नली
आर्सनललाई युवा खेलाडीहरूको साथ
इंगल्यान्डका कुनै पनि ठूलो क्लबमा युवा खेलाडीले मौका पाउन मुस्किल छ । आर्सनल भने यो सिजन युवा खेलाडीलाई मौका दिने कार्यमा उदार देखिएको छ । तर आर्सनल प्रशिक्षकका लागि युवा खेलाडीलाई मौका दिनेबाहेकका उपायहरू पनि धेरै छैनन् । किनभने उनका धेरै सिनियर खेलाडीहरूले सोचे अनुसार खेल्न सकेका छैनन् । यसै साता युरोपा लिगमा आइरिस विपक्षि डुन्डल्कलाई ४-२ ले पराजित गरेको आर्सनलमा टिममा युवा खेलाडीहरूले मौका पाए । जोसेफ विल्लक, एडबार्ड नेकेटिया र फोलारिन बालोगन जस्ता युवा प्रतिभाहरूले गोल गर्दा आर्सनलको रक्षापंक्तिमा भने कुनै सुधार देखिएन । जारी लिगमा पनि आर्सनलले गोल गरेको भन्दा खाएको संख्या बढी छ ।
आर्सनल प्रशिक्षक मिकेल आर्टेटाका लागि युवा खेलाडीहरूले युरोपा लिगमा गोल गरेको खबर खुशीयाली मनाउन योग्य त छँदैछ । साथमा टाउको दखाइको विषय पनि बनेको छ । किनभने स्पेनिस रणनीतिकारसँग युवा फर्वाडहरूलाई बर्नलीविध्दद्धको खेलमा निरन्तरता दिने की पाका खेलाडीलाई विश्वास गर्ने भन्ने दुविधा रहनेछ । त्यसो त, २१ वर्षीय नेकेटियाले जारी सिजनमा आर्सनलका अनुभवी स्ट्राइकरहरू पेयर एमरिक आबुमेयाङ र अलेक्जेन्डर लाकाजेटले भन्दा बढी गोल गरेका छन् । त्यस्तै, बालोगनले युरोपा लिगमा ६१ मिनेट खेल्दै दुई गोल गरिसके । त्यसकारण, आर्टेटालाई यस साता टिम छनौट गर्न सजिलो हुनेछैन ।
क्रिस्टल प्यालेसविरुद्ध टोटनहम
‘लिग लिडर’लाई प्यालेसको चेतावनी
प्रिमियर लिगको शीर्षस्थानको टोटनहम जारी सिजनमा सबैभन्दा कम गोल खाने टिम हो । जोसे मौउरिन्हाको नेतृत्वको टिमले ११ खेलमा नौ गोल मात्र खाएको छ । तर टोटनहमको रक्षापंक्ति डिफेन्डरहरूको भरमा मात्र बलियो भएको होइन । मिडफल्डरद्वय मौसा सिसोको र पियर एमाइल होयब्याकको सन्तुलित प्रदर्शनका कारण पनि टोटनहमको रक्षापंक्ति बलियो देखिएको हो ।
तर क्रिस्टल प्यालेसले यस साता टोटनहमको रक्षापंक्तिलाई बलियो चुनौति दिनेछ । प्यालेसका स्ट्राइकर क्रिस्टियन बेन्टेकेले प्यालेसका लागि सोचे अनुरुपको योगदान नगरिरहेको भएपनि गएको साता वेस्टबु्रमविध्द दुई गोल गरेका बेल्जियन टोटनहमसँग उर्जावा देखिन सक्छन् । बेन्टेकेका साथै विलफ्रिड जाहा र एबेरेची एजको उपस्थितीले प्यालेसको आक्रमणलाई चुनौतिपूर्ण बनाएको छ । त्यसकारण, मौउरिन्होका डिफेन्डरहरूले प्यालेसलाई सहजरुपमा लिने गल्ती गर्नेछैनन् ।
लिड्सविरुध्द वेस्टह्याम
मिडफिल्डको लडाई
डेभिड मोयस सँधै आफ्नो टिमलाई शारीरिक रुपमा बलियो बनाउने प्रयास गर्ने गर्छन् । यो सिजन वेस्टह्याम मोयसले चाहे अनुरुप खेलिरहेको छ । वेस्टह्यामका खेलाडी शारीरिक रुपमा बलियो देखिन्छन् । मोयसले अंगिकार गरिरहेका ४-५-१ संरचनाले वेस्टह्यामलाई सन्तुलित बनाएको छ । यस सिजन वेस्टह्यामका लागि डेक्लान राइसले वेस्टह्यामको मिडफिल्डलाई धानिरहेका छन् । तर शनिबार वेस्टह्यामले लिड्स युनाइटेडको चुनौति सामना गर्दा राइसले काल्भिन फिलिप्सलाई प्रतिद्वन्द्वीका रुपमा पाउनेछन् । राइस र फिलिप्सबीचको प्रतिस्पर्धाले खेल कता मोडिने भन्ने संकेत गर्नेछ । राइस र फिलिप्सको प्रतिद्वन्द्विता यस खेलमा मात्र सीमित हुने छैन । यी दुई इंगल्यान्डको राष्ट्रिय टोलीमा पहिलो रोजाइको मिडफिल्डर बन्नका लागि पनि एकआपसमा संघर्षरत छन् ।
वुल्भरह्याम्पटनविरुद्ध एस्टन भिल्ला
राहुल हिमिनेज बिनाको वुल्भरह्याम्पटन
एस्टन भिल्लाले यस सिजन खेलेका चार ‘अवे खेल’मध्ये तीनमा जित हासिल गरेको छ । तर लगातार दुई खेल हारेपछि भिल्लाको लय बिग्रेको देखिएको छ । डिन स्मिथको नेतृत्वमा रहेको भिल्लाले हारका बावजुत पनि आफ्नो शैलीमा परिवर्तन गरेको छैन । त्यसकारण, वुल्भससँग आमने-सामने हुँदा पनि भिल्लाले आक्रामक फुटबल खेल्ने प्रयास गर्नेछ ।
उता वुल्भसले भने पछिल्ला खेलहरूमा आफ्नो शैली परिर्वतन गरेको छ । पोर्चुगिज प्रशिक्षक नुनो स्पिरिटो सान्टोले आफूले प्रयोग गर्दै आएको ३-४-३ को संरचनालाई पछिल्ला खेलहरूमा ४-३-३ मा रुपान्तरण गरेका छन् । त्यसकारण, यो खेलमा फरवार्डहरू महत्वपूर्ण साबित हुन सक्नेछन् । वुल्भसका प्रमुख स्ट्राइकर राउल हिमिनेज अनुपस्थिति रहने भएकाले, आक्रमणको जिम्मा भने ड्यानियल पोडेन्स, पेद्रो नेटो र अडामा ट्राओरेले लिनेछन् ।
साउथह्याम्पटनविरुद्ध सेफिल्ड युनाइटेड
बलियो साउथह्याम्पटनलाई जितबिहिन सेफिल्डको चुनौति
सेफिल्ड युनाइटेडले जारी सिजनमा एक अंक मात्र बटुल्न सकेको छ भने साउथ ह्याम्पटन २० अंकका साथ लिग अंक तालिकामा पाँचौ स्थानमा रहेको छ । राल्फ हासेनहुटेल नेतृत्वको साउथह्याम्पटनले आकर्षक फुटबल खेल्दै प्रिमियर लिगमा छाप छोडिरहेको छ । सेन्ट मेरिजमा सेफिल्डलाई स्वागत गर्दा साउथह्याम्पटन तीन अंक कब्जा गर्ने रणनीतिमा हुनेछ । जितले साउथ ह्याम्पटनको शीर्ष चारमा छनौट हुने सम्भावना सुदृढ गर्नेछ ।
फुलहमविरुद्ध लिभरपुल
योर्गेन क्लपले मूख्य खेलाडीहरूलाई आराम नदिने
यही साता च्याम्पियन्स लिगमा मोहम्मद सलाहले नयाँ कीर्तिमान राखे । मिज्जील्यान्डविरुद्धको गोलसँगै इजिप्सयन फरवार्ड लिभरपुलको जर्सीमा सबैभन्दा धेरै च्याम्पियन्स लिग गोल गर्ने खेलाडी बने । यसअघि, यो कीर्तिमान स्टिभन जेरार्डको नाममा थियो । लिभरपुलका प्रशिक्षक योर्गेन क्लपले बाराम्बार ब्यस्त तालिकाबारे गुनासो गर्दै आएका छन् ।
घरेलु लिग र च्याम्पियन्स लिगका खेलहरू लगातार खेल्नुपर्दा खेलाडीहरूले आराम नपाउने उनको भनाई थियो । तर मिज्जील्यान्डविरुद्धको खेलमा सलाह, ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड लगायतका खेलाडीरुले आराम पाएनन् । फुलहमसँगको खेलमा पनि क्लपले मूख्य खेलाडीहरूलाई आराम दिने सम्भावना छैन । लिग अंक तालिकामा दोस्रो स्थानमा रहेको लिभरपुलले लन्डन भ्रमणमा बलियो टिम नै उर्ताने सम्भावना छ । (अन्तराष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया