आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

कांग्रेसले श्रेष्ठको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने भएको छ । शनिबार बसेको केन्द्रीय कार्यासमिति बैठकले मंसिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर २८ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ । श्रेष्ठको निधन भएको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्‍ने र १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंले भौतिक (सामाजिक) दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

काठमाडौं कांग्रेसका पूर्वसभापतिसमेत रहेका ८० वर्षीय श्रेष्ठको शुक्रबार निधन भएको थियो । २०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिमा बमकाण्डमा पक्राउ परेका श्रेष्ठले पटक-पटक गरी १७ वर्षभन्दा लामो समयसम्म बन्दी जेल जीवन बिताएका थिए ।

श्रेष्ठ २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट कांग्रेस उम्मेदवार, २०५६ मा कांग्रेस काठमाडौंको सभापति भएका थिए ।