कसैले पनि ‘मर्द’ बन्ने कोसिस नगरौँ

‘प्रकृति’को उपासना गर्ने परम्परा दक्षिण एसियामा निकै प्राचीन हो । खासगरी आदिवासी समुदायमा अलिक बढी नै थियो, यो परम्परा । सिन्धुघाँटीमा प्राप्त पुरातात्विक सामग्रीबाट पनि थाहा हुन्छ कि प्रकृति (शक्ति)को प्रतीक महिलाको आकृतिको पूजा–आराधना हुन्थ्यो ‘हरप्पन’ तथा ‘महेन्जदाडो’ सभ्यताहरूमा पनि ।
द्रबिड जातिमा पनि देवी उपासना प्रचलित थियो ।
पितृसत्ताको विकास र विस्तारसँगै ‘प्रकृति’को साथसाथै ‘पुरुष’को पनि उपासना गर्ने प्रचलन सुरु भयो । देवीका साथसाथै ‘देव’हरूका मूर्ति पनि पूजा हुन थाले । पितृसत्ता दरोसँग स्थापित भएसँगै ‘देवता’हरू प्रमुख हुन थाले र ‘देवी’हरूलाई यी देवताहरूका ‘पत्नी–देवी’का रूपमा राखेर कथाहरू, मूर्तिहरू र पुराणहरू लेखिन–कुँदिन थालिए । (हेर्नुहोस्, तस्बिर)
‘प्रकृति र पुरुष’बीचको ‘द्वन्द्व’लाई प्रतिविम्बित गर्ने यस चित्रलाई, ‘प्रकृति र पुरुष’बीचको ‘सम्बन्ध’ जस्तो देखाएर ‘काली र शिवको’ गहिरो सन्देशात्मक चित्रकोसमेत अपव्याख्या गरिएको छ । प्रकृति र पुरुषको सनातन द्वन्द्वलाई विम्बित गर्ने यो चित्रलाई ‘पुराणहरू’ले पितृसत्तात्मक रूप दिएर, ‘कालीलाई शिवको पत्नी भनेका छन् र रक्तपानबाट मतिएर होश गुमाएकी कालीले आफ्नै ‘पति’ कुल्चन गई, होश आएपछि लाजले आफ्नो लामो जिब्रो निकालिन्’ भनेर पौराणिक कथा (लिंगपुराण लगायतमा) कथिएको छ, जसले ठूलो भ्रम सिर्जना गरेको छ ।
‘मौलिक’ पूर्वीय दर्शनहरूमा ‘काली र शिव’लाई क्रमशः ‘प्रकृति र पुरुष’को प्रतीक मानिएको छ । हामीले ‘प्रकृति र पुरुष’ शब्दको अर्थ लगाउन निकै सावधान हुनुपर्छ । किनकि यी निकै पुराना शब्द हुन् जसको मूल अर्थ आधुनिक समयसम्म आइपुग्दा धेरै भिन्न भइसकेको छ ।
प्राचीन कालदेखि, अक्सर ‘मन’ (चित्त) भनेको पुरुष र ‘शरीर’ भनेको महिला हो भनेर पढ्ने–पढाउने गरेको पाइन्छ । नाम–रूप ( Mind–metter) अर्थात् चित्त र शरीर)को यस्तो व्याख्या परा कालदेखि चल्दै आएको छ । त्यसकारण अधिकांश मानिस विश्वास गर्दछन् कि चेतना–जगत् ( mind), चित्त, मन, बुध्दि, अहंकार) पुरुषले प्रतिनिधित्व गर्छ र महिलाले भौतिक–जगत् ( matter)भच, चार महाभूत, शरीरलगायत सम्पूर्ण भौतिक जगत्) को प्रतिनिधित्व गर्छन् ।
यस्तो गलत व्याख्या र बुझाइले पुरुष महिलाभन्दा उच्च, श्रेष्ठ, महत्वपूर्ण हुन्छन् भन्ने भ्रममा समाजलाई डो-याइरहेको छ । किनकि ‘विचार’ ‘पदार्थ’भन्दा उच्च छ । ‘चेतना–जगत्’ ‘भौतिक–जगत्’भन्दा श्रेष्ठ छ भन्ने धारणा यसले वितरण गर्छ ।
स्त्री–चित्त (प्राकृत) पुरुष–चित्त (संस्कृत) भन्दा धेरै प्रबुध्द, शान्त र संयमित चित्तावस्था हो ।
भगवान् बुध्दले भनेका छन् कि मनो पुब्बंगमा धम्मा, मनो मया मनो सेठ्ठा (अर्थात् सबै धर्म क्रियाकलाप) को पूर्व–अंग ‘मन’ नै हो, सबै प्रवृत्ति मनोमय छन्, मन नै श्रेष्ठ छ), (त्रिपिटक, धम्मपद, यमक वग्गो) ।
त्यसरी नै, बौध्दशास्त्रअनुसार, यस सम्पूर्ण लोकहरू (३१ लोकहरू छन् भनिन्छ) बौध्द–ब्रह्माण्ड परिकल्पनाअनुसार, जो सबै जन्म–मृत्यु चक्र चलिरहने संसारभित्र नै पर्छन् । निर्वाण मात्र यी जन्म–मृत्यु संसार वा लोकभन्दा बाहिर वा पर छ) मा सबैभन्दा माथिल्लो, श्रेष्ठ, सुखदायक भनेका चार अरूप ब्रह्मलोकहरू हुन्– (त्यसमुनिका १६ रूप ब्रह्मलोक र त्योभन्दा मुनि ६ देवलोक, अनि हाम्रो मनुष्य लोक पर्छ भनिएको छ र मनुष्य लोकभन्दा तल नरकसहित चार अपाय लोकहरू छन्) ।
यी चार अरूप ब्रह्मलोकका सत्व वा प्राणीहरू (ब्रह्माहरू) सबै मनोमयमात्र हुन्छन्, भौतिक शरीर हुँदैन, त्यसैले ‘अरूप’ भनिएको हो । यसरी ‘चित्त वा मन’लाई ‘शरीर र भौतिक पदार्थ’भन्दा श्रेष्ठ मानिन्छ । तर के महिला ‘शरीर भौतिक–जगत्’ का मात्र प्रतिनिधि हुन् त ? अनि पुरुषहरूलाई मात्र ‘चित्त र चेतना–जगत्’का प्रतिनिधि मान्नुपर्ने ? किन यस्तो दोहोरो मापदण्ड भन्ने प्रश्न उठि नै हाल्छ ।
यस्ता भ्रामक धारणाले किन आजसम्म पनि समाज, संस्कृति, धार्मिक सम्प्रदाय र पौराणिक कथाहरूमा गहिरो जरा गाडेर मौलाउने मौका पाइराखेका छन् त ? यस्ता मिथक लामो समयदेखि हामीमाझ छन् र महिला तथा अन्य व्यक्तिहरू, जो ‘मर्द–पुरुष’ होइनन्–लाई उत्पीडन तथा अन्याय भोग्न बाध्य पारिरहेका छन् । समस्याको मूलमा पुग्न शब्द र भाषालाई मिहिन केलाएर हेर्नु र गहिरिएर बुझ्नु आवश्यक छ ।
दुर्भाग्यवश शब्द ‘प्रकृति’ (वा पालि भाषामा ‘पकिती’) लाई अक्सर ‘वन, जंगल, नदी–नाला वा बाह्य वातावरण’का रूपमा बुझिन्छ । जुन कुरा मूलभूत रूपले गलत हो ।
थेरवाद–बौध्द परम्पराका मौलिक ग्रन्थ ‘पालि’ भाषामा लेखिएको पाइन्छ साथै स्वयं बुध्दले पनि पाली भाषामा नै आफ्ना सम्पूर्ण धर्म देशानाहरू दिएको विश्वास गरिन्छ ।
निकै मिल्दोजुल्दो हुँदाहुँदै पनि ‘पालि भाषा’ ‘संस्कृत भाषा’ भन्दा फरक भाषा हो । उदाहरणका लागि, संस्कृत भाषाको ‘संस्कार’ शब्द पालि भाषामा ‘संखार’ हुन्छ ।
अब हेरौं, कसरी ‘प्रकृति’ शब्द र ‘संस्कृति’ शब्दको अर्थ दुई हजार–२५ सय वर्षको समयान्तरमा फेरिँदै–फेरिँदै अर्थको अनर्थ भएको छ र कसरी गलत व्याख्या र गलत प्रयोग भइरहेको छ भन्ने ।
एकै क्षणमा अनेकौँ चित्तहरू उत्पन्न हुने र व्यय (क्षय) हुने गर्छन् । आधुनिक मनोविज्ञान (साइकोलोजी)ले चित्तलाई दुई भागमा मात्र बाँडेर हेरेको छ : चेतन मन र अवचेतन मनका रूपमा । हरेक क्षण भइरहने नाम–रूप (mind–matter) (कान, नाक, जिब्रो, आँखा, छाला र मनलगायत ६ इन्द्रियको माध्यमद्वारा चित्त र भौतिकजगत्) को अन्तरक्रियालाई बुझ्न भगवान् बुध्दले चित–जगत्लाई चार भागमा बाँडेको पाइन्छ ।
पितृसत्ता दरोसँग स्थापित भएसँगै ‘देवता’हरू प्रमुख हुन थाले र ‘देवी’हरूलाई यी देवताहरूका ‘पत्नी–देवी’का रूपमा राखेर कथा, मूर्ति र पुराण लेखिन–कुँदिन थालिए ।
ती हुन् : १) विञ्ञाण : (संस्कृत भाषामा विज्ञान) चित्तको यस हिस्साले जान्ने काम गर्छ । हिजोआजको यौगिक–वैदिक प्रचलनमा यसलाई ‘चित्त वा चेतन’ भनेर भनिन्छ ।
२) वेदना : (संस्कृत भाषामा पनि वेदना) चित्तको यो हिस्साले सुख–दुःख अनुभव गर्छ । हिजोआजको यौगिक–वैदिक प्रचलनमा यसलाई ‘मन’ भनेर भनिन्छ ।
३) सञ्या : (संस्कृत भाषामा ‘संज्ञा’ हुन्छ) चित्तको यस हिस्साले पहिचान गर्छ । पूर्वअनुभूतिका आधारमा, पृथकीकरण वा विभाजन गरेर जान्ने काम गर्छ । यस अवस्थामा आइपुग्दा ‘म मेरो’ र ‘अरू अरूको’ भनेर छुट्ट्याएर हेरिएको हुन्छ, चित्तको यसै हिस्साले सम्भावित यो राम्रो, यो नराम्रो, यो लाभदायक, यो नोक्सानजनक, यो शुभ, यो अशुभलगायत विस्तृत प्रतिवेदन तयार पार्छ । हिजो आजको यौगिक–वैदिक प्रचलनमा चित्तको यस हिस्सालाई ‘बुध्दि’ भनेर भनिन्छ ।
४) संखार : (संस्कृत भाषामा ‘संस्कार’ हुन्छ) हिजो–आजको यौगिक–वैदिक प्रचलनमा चित्तको यस हिस्सालाई ‘अहंकार’ भनेर भनिन्छ । चित्तको यस हिस्साले ‘सञ्या’को प्रतिवेदनको आधारमा प्रतिक्रिया दिने काम गर्छ । राम्रो भए ‘राग’ जगाउने, नराम्रो भए ‘द्वेष’ जगाउने काम गर्छ । यो संस्कार, जसको मूलकारण अविधा (अज्ञान) हो, हमेसा पक्षपातपूर्ण र विभाजित प्रतिक्रिया दिइरहेको हुन्छ, जसले दुःखलाई बढाइरहेको हुन्छ, मानिसलाई जन्म–मृत्युको चक्रमा फसाइराखेको हुन्छ ।
आउनुहोस् हामी हेरौं, किन पुरुषद्वारा ‘चित्त’ र महिलाद्वारा ‘भौतिक पदार्थ’को प्रतिनिधित्व गराइन्छ त ? मर्द वा पुरुषद्वारा ‘चित्त’ खास गरीकन चित्तको चौथो हिस्सा ‘संस्कार’लाई प्रतिनिधित्व गरिनुमा खासै समस्या रहेन, हुने पनि यस्तै हो । महिलाद्वारा ‘प्रकृति’लाई प्रतिनिधित्व गरिनुमा पनि कुनै समस्या नहुनुपर्ने हो ।
समस्या तब सुरु हुन्छ, जब पितृसत्ताका विद्वान्हरूले (यो कुरा पूर्वीय, पाश्चात्य, उत्तरी, दक्षिणी सबै खाले विद्वान्हरूमा लागू हुन्छ) लामो समयदेखि ‘प्रकृति’ भन्ने शब्दलाई अंग्रेजी भाषाको ‘नेचर’ बराबरको अर्थ लाग्ने गरी परिभाषित गरेका छन् ।
जसको अर्थ बाहिरको भौतिक संसारमा रहेका, मानव गतिविधिले खासै दखल नगरिसकेका, नदी–नाला, वन–जंगल, पहाड–हिमाल, तालतलैया आदिमा मात्र सीमित अर्थ लाग्ने गरी प्रचार गराइएको छ, जुन–पूर्ण गलत त होइन तर) अधिकांश गलत र भ्रामक छ । (संखार) ‘संस्कार’ जस्तै तर संस्कारको ठाउँमा (पकार) ‘प्रकार’ पनि चित्तको त्यो चौथो अवस्था वा चरण बन्न सक्छ, जो कि निष्पक्ष र शान्त–चित्त अवस्था) हो । यो वैकल्पिक तर समाहित र गहिरो चित्तको अवस्था जो ‘संस्कार’ चित्तको विपरीत छ ।
दुवै शब्द ‘संस्कृति’ र ‘प्रकृति’लाई हेरौं, दुवै शब्दको मूल–धातु ‘क्रि’ हो, जसको अर्थ कुनै पनि कार्य हुनु वा गरिनु हो । र जब ‘प्र’ उपसर्ग थपिन्छ यसले ‘स्वतःस्फूर्त निरन्तर कार्य अगाडि बढिरहने वा भइरहने वा गरिरहने’ अवस्थालाई बुझाउँछ । जस्तै गति शब्दको अगाडि ‘प्र’ लागेर प्रगति भन्छ, अर्थात् गतिको निरन्तर अघि बढिरहने कार्यः प्रगति । समान शब्द संरचनामा अंग्रेजीको उचय–नचभकक शब्दलाई हेर्न सकिन्छ, जसमा ल्याटिन शब्द ‘gardi’ (जस्को अर्थ ‘step’ भन्ने हुन्छ) को अगाडि pro थपेर बनेको शब्द progress, अर्थात् प्रगति ।
त्यस्तै गरी जब मूलधातु ‘क्रि’को अगाडि ‘सं’ उपसर्ग थपिएर बनेको शब्द ‘संस्कार’ (पालि भाषामा संखार) हो, जसको अर्थ ‘स्वयं कृत’ भन्ने अर्थ लाग्छ । अर्थात् स्वतःस्फूर्त निरन्तर भइरहेको ‘प्रकृति’माथि ‘म’ (संस्कार वा अहंकार) क्रियाशील हुन्छ । ‘म’ले (संज्ञाचित्तको प्रतिवेदनको आधारमा) हस्तक्षेप गर्छ । हाम्रो पक्षपातपूर्ण र पूर्वाग्रही मनले भइरहेको (प्रकृति) मा परिमार्जन गर्छ, यो नै ‘संस्कार’ हो ।
यौगिक–वैदिक भाषामा ‘कर्म–संस्कार’ भनेको पनि यही हो । यसरी ‘संस्कार’ अज्ञान र अहंकार वशीभूत छ । दुर्भाग्यवश ‘प्रकृति’ शब्दलाई ‘वन–जंगल, नदी–नाला र वातावरण’मा मात्र सीमित गरिएको छ, यसको सूक्ष्म र मौलिक अर्थलाई बिल्कुलै छाडिसकिएको छ । यो चित्तको सम्भावित चौथो अवस्था हुन सक्छ, ‘संस्कार’लाई प्रतिस्थापन गर्न सक्छ, यदि बोधि (वा ज्ञान) जाग्यो भने ।
यसैगरी चिरकालदेखि भइरहेको ‘प्रकृति’ शब्दको भ्रामक व्याख्याले मानिसहरूमा प्रकृतिभन्दा ‘संस्कृति’ (चित्त, मन) श्रेष्ठ, अर्थात् ‘महिलाभन्दा पुरुष श्रेष्ठ’ भन्ने भ्रमले गहिरो जरा गाडेर बसेको छ शदीयौंदेखि, विश्वभरि । यो ऐतिहासिक तथा सांस्कृतिक गलत व्याख्या पितृसत्ताद्वारा महिलाविरूध्द गरिएको सम्भवतः सबैभन्दा ठूलो षड्यन्त्र हो । अन्यथा, मूलरूपमा सबै पूर्वीय दर्शनले ‘नारी चित्त’ अर्थात् ‘प्रकृति–चित्त’लाई बढी महत्व दिन्छन् र सम्पूर्ण यौगिक, ध्यान र आध्यात्मिक प्रथाले नारी–चित्त (प्रकृति–चित्त)मा हुने मानसिक गुण निर्माण तथा प्रवर्धन गर्नमा जोड दिन्छ ।
करुणा, ममता, क्षमा, सहनशीलता, संवेदनशीलता, शिष्टता, अहिंसालगायत कुशल चित्तका विशेषताहरू नारी–चित्तसँग जोडिएका गुण हुन् । सत्य यो हो कि नारी–चित्त (प्रकृति–चित्त) बढी प्रबुध्द छ, जबकि मर्दाना–चित्त (संस्कारी–चित्त) पक्षपाती, विचलित र अहंकारी अकुशल चित्त हो, जो ‘प्रकृति’माथि प्रभुत्व र नियन्त्रण गर्न हमेसा प्रयासरत रहन्छ । ‘प्रकृति’देखि डराउँछ र व्यवस्थित गर्न थाल्छ । ‘व्यवस्था’ को सिर्जना गर्न थाल्छ ।
यो प्रवृत्ति हामीले स्थूल रूपमा पनि देख्न सक्छौं । जसलाई हामी ‘कल्चर वा संस्कृति’ भनेर जान्दछौं । अज्ञानताले वशीभूत ‘पुरुष’ (संस्कृत–चित्त) ‘प्रकृति’देखि डराउँछ । किनकि ‘प्रकृति’मा ‘म मेरो’ भन्ने हुँदैन, ‘तँ तेरो’ पनि हुने कुरै भएन । तर आत्मभावलाई त्याग गर्न नसक्ने अज्ञानीले अहंकार गर्छ । लोभ, द्वेष, मोह गर्छ । फलस्वरूप सूक्ष्म रूपमा क्षण–क्षण अकुशल ‘कर्म–संस्कार’ बनाइरहेको हुन्छ ।
अर्को शब्दमा भन्नुपर्दा, पुरुष–चित्तले ‘संस्कृति’ सिर्जना गर्छ किनकि यो ‘संस्कार–चित्त’मा जोडिएको विषय हो । स्थूल रूपमा हेर्दा पनि संस्कार–चित्तले, अज्ञानतावश, आत्मभाव स्थापित गर्छ । उसलाई ‘प्रकृति’ भयावह लाग्छ । महिलालाई कपाल छाडेर हिँड्न हुँदैन भन्छ । कपाल बाँध्ने र बाट्ने ‘संस्कार’ स्थापित गर्छ । महिलालाई घरेलु–हिजो आजको भाषामा ‘संस्कारी’ बनाउँछ । आफू जस्ताहरूको संगठन खडा गर्छ । नियम कानुन बनाउँछ । सेना, पुलिस खडा गर्छ यी नियम–कानुन पालना गराउनका लागि । ‘मेरो क्षेत्र’ खडा गर्छ । सीमा लगाउँछ ।
प्राचीन कालदेखि, अक्सर ‘मन’ (चित्त) भनेको पुरुष र ‘शरीर’ भनेको महिला हो भनेर पढ्ने–पढाउने गरेको पाइन्छ ।
जंगल भयानक लाग्छ । फाँडेर बस्ती र सहर बसाल्छ । यसरी ‘अहंकार’ सँगसँगै ‘संस्कार’ बृहत् हुँदै जान्छ । जति डर पुरुष (संस्कार–चित्त)मा हुन्छ, त्यति नै धेरै नियन्त्रणकारी स्वरूपमा अभिव्यक्त हुन्छ उसको व्यवहार पनि ।
गहिरिएर हे-र्यौं भने हामी पाउँछौं कि, धेरै प्रबुध्द व्यक्तिहरू, ऋषिहरू र बुध्दहरूले आफू भित्र (प्रकृति–चित्त अर्थात) स्त्री–चित्तका गुणहरू विकास गरेका छन् । जस्तै अनुकम्पा, सहिष्णुता, क्षमा, करुणा, स्नेह इत्यादि । यसो हुन सकेको प्रकृति चित्तलाई अँगाल्दै, सख्त र अहंकारी मनलाई त्याग्न सकेकाले नै हो ।
त्रिपिटकमा भनिएको छ : ‘पकारेन जानतीति पञ्ञा’ (खुद्दक निकाय, सध्दम्मप्पजोतिका, चुल्लनिद्देस–अठ्ठकथा, नेत्तिप्पकरण–अठ्ठ कथा, ४ पटिनिद्देसवारवण्णना, १ देसनाहारविभङ्गवण्णना, पेज १८५) । अर्थाक प्रकारेन (विविध प्रकृतिहरू)लाई जान्नु नै प्रज्ञा हो । प्रकृति निकै पुरानो शब्द हो, कालान्तरमा यसको अर्थ निकै बदलिएको छ । बुध्दले ‘वन–जंगल, खोला–नाला, पहाड–हिमाल लगायत बाहिरी भौतिक जगत् (जसलाई आधुनिक भाषामा प्रकृति भनेर बुझिन्छ) लाई जान्नु ‘प्रज्ञा’ हो भनेर भन्न खोजेका होइनन् ।
त्यसरी नै ‘प्रकार’ शब्दलाई पनि ‘विभिन्न किसिम’को अर्थमा बुझिन्छ । जबकि ‘प्रकार’को पुरानो अर्थ ‘निरन्तर चलिरहने क्रिया अर्थात् प्रक्रिया’ हो, जो प्रकृति शब्दकै अर्को रूप हो । त्यसकारण प्रज्ञा भनेको आफैंभित्रको स्वतःस्फूर्त निरन्तर चलिरहने नाम–रूप mind–matter intraction का अनेकौं–अनेक अन्तरक्रियालाई जान्नु हो अर्थात् प्रकृतिलाई जान्नु, आफूभित्रको विबिध ‘प्रकृति’हरूलाई जान्नु ‘प्रज्ञा’ हो ।
ऋग्वेदमा भनिएको छ : ‘विकृतिः एवं प्रकृति’ – ‘विकृति’ शब्द पनि संस्कृत भाषाको पुरानो शब्द हो । आज यसको अर्थको अनर्थ भएको छ । ‘विकृति’ भनेर ‘नैतिक पतनलाई मात्र’ बुझिन्छ आज, जबकि यो शब्दको मूल धातु पनि ‘कृ’ हो र ‘वि’ उपसर्ग लागेपछि ‘भित्र हुने क्रिया’ अर्थ लाग्छ, जो कुशल वा अकुशल दुवै हुन सक्छ । त्यसकारण चित्तभित्र हुने (कुशलक्रिया नै ‘प्रकृति’ हो भनिएको हो । ‘विकृति’ अकुशल भए ‘संस्कृति’ बन्न जान्छ ।
सांख्य दर्शनमा प्रकृतिलाई ‘कारण’ र विकृतिलाई ‘कार्य’ भनिएको छ (सांख्यतत्वकौमुदि, पृष्ठ २९) । उदाहरणका लागि ‘बीज’लाई प्रकृति मान्ने हो भने ‘अंकुुर’ विकृति हुन जान्छ । ‘ढुङ्गा’लाई प्रकृति मान्ने हो भने, ‘मूर्ति’ विकृति हुन जान्छ ।
जे भए तापनि, कहिलेकाहीँ अंग्रेजी शब्द nature यसै अर्थमा प्रयोग हुन्छ, जब हामी भन्छौँ, ‘यो व्यक्तिको प्रकृति के हो, कस्तो प्रकृतिको मान्छे हो यो ?’ भनेर यदाकदा पुरानो र वास्तविक हुनुपर्ने अर्थमा ‘प्रकृति’ शब्दको प्रयोग हुने गरेको पाइन्छ । आफ्नो प्रकृतिलाई बुझ्नु आफूलाई जन्म, मृत्यु र दुःखको चक्रबाट निर्वाण, मुक्ति, स्वतन्त्रतातिर लैजाने पहिलो पाइला हो । यसका लागि बुध्दले ‘विपस्सना’ ध्यान विधि सिकाएर जानु भएको छ । यहाँ पनि ‘पस्सना’ (संस्कृतमा पश्यना)’ भनेको हेर्नु हो र उपसर्ग ‘वि’ले भित्र भन्ने जनाउँछ, आफूभित्र चित्तको गहिराइसम्म हेर्नु नै विपस्सना हो ।
मैले यो भन्न खोजेको होइन कि सबै महिला बोधिप्राप्त छन् वा ज्ञान प्राप्त छन् भनेर । तर सवाल के हो भने स्त्री–चित्त (प्राकृत) निश्चय पनि पुरुष–चित्त (संस्कृत) भन्दा धेरै प्रबुध्द, शान्त र संयमित चित्त–अवस्था हो । पुरुषले नाम (mind), मन, बुध्दि, अंहकार लगायत चेतन–जगत्) र महिलाले रूप (matter), शरीर, पदार्थ लगायत भौतिक जगत्) को प्रतिनिधित्व गर्छन् भन्ने धारणा वा दृष्टिकोण हामीले त्याग्नुपर्छ । बरु, दुई किसिमका भिन्न चित्त–स्वभाव छन् ‘प्रकृति’ बोधि–चित्त स्वरूप हो भने ‘संस्कृति’ अविधा–चित्त वा अज्ञानी–चित्त स्वरूप । मर्द –चित्तले स्त्री–चित्तका गुणहरूलाई आफूमा प्रस्फूरण गराउनु आवश्यक छ, यदि ज्ञान प्राप्त गर्ने हो, ज्ञानी हुने हो, बोधि जगाउने हो भने ।
स्पष्ट छ कि, महिला, पुरुष र तेस्रो लिंगी सबैमा ‘संस्कृत–चित्त’ र ‘प्राकृत–चित्त’ दुवै समाहित भएको हुन्छ, मात्राको फरक मात्र हो । नियन्त्रण गर्ने र दबाएर राख्ने प्रवृत्ति भएको ‘संस्कृत–चित्त’लाई कम प्रभावी बनाउँदै लाने तथा स्वतन्त्र र करुणा प्रवृत्ति भएको ‘प्राकृत–चित्त’ (जो ममतामयी आमाको जस्तो चित्त हो) लाई बढाउँदै लान सक्नुपर्छ ।
त्यसैले कसैले पनि ‘मर्द’ बन्ने र ‘मर्दांगी’सँग बराबरी गर्ने कोसिस नगरौँ । किनकि त्यो त आफूलाई तल झार्ने काम हुन्छ । ‘मर्द’ हुनु राम्रो वा श्रेष्ठ भन्ने विचार पूर्वीय दर्शनहरूसँग मिल्दैन । धेरै दृष्टिकोणवाट हेर्दा, हामी सबै प्राणीहरूको भित्री–बाहिरी स्वभाव असल बनाउन, राम्रो हुन ‘प्रकृति’को साथ चल्न सक्नुपर्छ । ‘प्रकृति’को साथ हुन सक्नुपर्छ । जसमा करुणा, ममता, प्रेम, स्वतन्त्रताजस्ता कुशल गुण प्रतिविम्बित भएका हुन्छन् ।
भवानी ‘काली’लाई वास्तविक ‘प्रकृति’को प्रतिरूप मानिन्छ, सूक्ष्मतम चित्तदेखि, सम्पूर्ण भौतिक–जगत् हुँदै, वैश्विक चेतनासम्म समेटिएको । शिवको छातीमा टेकेर उभिएर संकेत गर्दैछिन् कि, ‘संस्कृति’भन्दा ‘प्रकृति’ श्रेष्ठ छ, हमेसा ।
पुनश्च : १) संस्कृत भाषामा व्याकरण घोलेर व्यवस्थित नगरुञ्जेल ‘छन्द’ भनिन्थ्यो । पाणिनिले व्याकरण लेखेर ‘छन्द’ भाषालाई संस्कृतिकरण गरेपछि त्यो भाषाको नाम ‘संस्कृत’ भएको हो । अन्य भाषा, जसलाई व्याकरणद्वारा ‘नियन्त्रित र व्यवस्थित’ गरिएका छैनन् वा थिएनन्, लाई ‘प्राकृत’ भाषा भनिन्छ ।
२) हिन्दुहरूका आराध्य देव शिवको अर्को नाम ‘संकर वा संखर’ पनि हो जो पालि भाषाको शब्द ‘संखार’ सँग निकै मिल्दोजुल्दो छ । पालि भाषाको ‘संखार’ शब्द संस्कृत भाषामा ‘संस्कार’ हुन्छ । संस्कार शब्दको व्याख्यामाथि लेखमा गरिएको छ । ‘काली र शिव’ ‘प्रकृति र संस्कृति’बीचको सनातन द्वन्द्व स्वरूप ।
३) कसरी भवानी ‘काली’लाई संस्कारित गरेर घरेलु ‘गौरी’ (white) बनाइयो या ‘अभद्र’ काली (uncivilized–Kali) लाई कसरी ‘भद्र’–काली (civilized–Kali) बनाइयो रोचक विषय हुन सक्छ । यस ‘कालीबाट गौरी’को रूपान्तरणले ‘प्रकृतिको संस्कृतिकरण’लाई बुझ्न सकिन्छ र मातृसत्तामाथि पितृसत्ताको नियन्त्रण पनि ।
४) बुध्दलाई ‘भगवान् बुध्द’ भनेर सम्बोधन गरिएको छ । भगवान् शब्दको अर्थ पनि कालान्तरमा ‘ईश्वर’ (सर्वेसर्वा, सम्पूर्ण लोकहरू वा ब्रह्माण्डहरूको रचयिता वा सृष्टिकर्ता) भएको छ । बुध्दकालमा (भग्गो ति रागो भगवा, भग्गो ति दोसो भगवा, भग्गो ति मोहो भगवा अर्थात्) जसले राग, द्वेष र मोहलाई भगाउन वा हराउन सक्यो त्यो नै ‘भगवान्’ भन्ने अर्थमा यो शब्दको प्रयोग हुने गरेको थियो र छ ।
००००
यौनिक अल्पसंख्यकका विषयमा लामो समय काम गरेका तथा पूर्वसभासद् सुनीलबाबु पन्त केही समयदेखि भिक्षु काश्यपका रूपमा बौध्दमार्गी भएका छन् ।

स्ववियु र विद्यार्थी आन्दोलनको मार्ग: इतिहास र भविष्यको अवलोकन

राजनीतिक दलले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ

जरुर उठ्छ-उठ्नुपर्छ माओवादी आन्दोलन

सांसदले जनताको विश्वास जित्न काम गरेर देखाउनुपर्छ

संघीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

‘नेपालमा वैदेशिक रोजगारको वृद्धिदर र यसको प्रभाव’

श्रमिक महिलाको पीरः आमा बन्ने कि जागिर रोज्ने ?

प्रतिक्रिया