सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

लोसपा शीर्ष नेतासँग एमसीसी प्रतिनिधिको भेटवार्ता

काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का प्रतिनिधिहरूले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् । एसीसीकी उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले आइतबार लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग नक्सालस्थित होटल मेरियटमा भेटवार्ता गरेको हो ।

एमसीसीबारे उत्पन्न भ्रम चिर्न चार दिनदेखि नेपालमा रहेर राजनीतिक दलका शीर्ष नेतासँगको भेट गर्दै आएको टोलीले आइतबार लोसपा नेताहरूसँग भेटवार्ता गरेको हो । एमसीसी प्रतिनिधिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टी, नेपाल (जसपा)का उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितका नेताहरूसँग भेट गरिसकेकी छन् ।