भूमि आयोगको स्थानीय सरकारसँग सम्झौता, लुम्बिनीका ३३ पालिकाले गरे हस्ताक्षर

बुटवल : तराईमा लालपुर्जा वितरणको मुद्दा निर्वाचनताका सबैभन्दा महत्वपूर्ण विषय बन्छ । प्रत्येक उम्मेद्वारले यही विषयलाई मुख्य मुद्दा बनाउँछन् र चुनाव जित्छन् । तर जितेर गएपछि यो मुद्दा सधैँ ओझेलमा पर्दै गयो ।
यही मुद्दा सम्बोधन गर्न लुम्बिनी प्रदेशका पालिकाहरूले भूमि आयोगसँग सम्झौता गरेका छन् । केही समयअघि सरकारले बनाएको भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीको रोहवरमा उनीहरूले कार्यसम्झौता गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, आयोगका अध्यक्ष ज्ञवाली, लुम्बिनी प्रदेश सभाका सदस्यहरूको उपस्थितिमा बुटवलमा यस्तो सम्झौता भएको हो । जसबाट पालिकामा भूमि सम्बन्धी समस्या समाधानको कामअघि बढ्ने विश्वास उनीहरूको छ ।
आयोगले लुम्बिनी प्रदेशअन्तरगत तराईका छ जिल्लाका तीन उपमहानगरपालिका, १७ नगरपालिका र १३ गाउँपालिकासंग लिखित कार्यसम्झौता गरेको आयोगका विज्ञ जगत देउजाले जानकारी दिए ।
सम्झौतासंगै पालिकाहरूले तोकिएको ढाँचामा लागत संकलन, आवश्यक कागजातहरू संकलन तथा आन्तरिक समस्याहरूको समाधान गरेर आयोगलाई विवरण बुझाउने छन् । त्यसपछि अध्ययनका आधारमा आयोगले तोकिएको मापदण्डअनुसार पुर्जा बनाउने बताइएको छ ।
तराईका अधिकांश पालिकाका मुख्य शहर एवं बस्तीहरू भुमि पुर्जाविहिन छन् । आयोगका अध्यक्ष ज्ञवालीले भूमि सम्बन्धी समस्यालाई यसपटक प्रभावकारी रुपमै समाधान गर्नेगरी आयोग अघि बढेको बताए । उनले तीनै तहका सरकारसंग सम्झौता गरेर मापदण्ड र विभिन्न आधार निमार्ण गरी लालपुर्जा वितरण गरिने बताए । आगामी असार भित्रै लाजपुर्जा वितरण गरिने आयोगले जनाएको छ ।
बुटवलले कार्यालय खोल्यो
भूमि सम्बन्धी समस्या समाधान आयोगसंग सम्झौता गरेलगत्तै बुटवल उपमहानगरपालिकाले इकाइ कार्यालय स्थापना स्थापना गरेको छ । आयोगका अध्यक्ष ज्ञवालीले बुटवल उपमहानगरपालिकाले स्थापना गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगको उपमहानगर स्तरीय लगत संकलन इकाई कार्यालयको उद्घाटन गरे ।
बुटवलले संकलन गरेको लगत फारमको ढाँचा र अहिले आयोगले बनाएको फारमको ढाँचा अधिकांश उस्तै रहेको भन्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अद्यावधिक गरिने बताए । बुटवलमा ठूलो जनसंख्या सुकुम्वासी वस्तीका छ ।
नगरपालिकाले यस अघि १६ हजार पाँच सय भन्दा धेरै अव्यवस्थित बस्तीको लगत संकलन गरिसकेको छ । कार्यदलले संकलन गरेको लगतलाई अध्ययन गरेर सार्वजनिक महत्वका क्षेत्र र निजी आवास क्षेत्र अलग अलग गर्दै सोही आधारमा सयौं विगाह जग्गाको नापसमेत भइसकेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
टोलैपिच्छे भूमि समस्या
तराईकामा भूमि सम्बन्धी अनेक समस्याहरू छन् । कतै सरकारी जग्गा अतिक्रमण गरी सुकुुम्वासी बसालिएको छ भने कतिपय ठाउँमा नदि क्षेत्रमा बस्ती छन् । त्यस्तै कतिपय उखडा जग्गा त कतै विरौटा जग्गाहरू पनि छन् ।
जसका कारण मुख्य बजार क्षेत्रमा पनि लालपुर्जा वितरण भएको छैन । स्थानीयले लामो समयदेखि बस्तै आएको जग्गाको पुर्जा पाउनु पर्ने माग राख्दै आएका छन् । उनीहरूको मतसमेत निर्णायक बन्छ । निर्वाचनमा उम्मेवारहरूले स्थानीयका मागमा ऐक्यवद्धता जनाए पनि चुनाव सकिएपछि यस्ता मुद्दा ओझेलमा पर्ने गरेका छन् ।
चुनावी चलखेल
भूमि सम्बन्धी समस्या समाधान गर्ने काम राज्यको हो । हरेक वर्ष यस्ता मुद्दाहरू उठे पनि वर्षौदेखि समाधान हुन सेकेको छैन । निर्वाचनमा मात्रै उठ्ने यस्ता मुद्दामा छलफल सुरु हुँदा स्थानीयले फेरि चुनाव आएको हो कि भन्ने महसुस गर्ने गरेका छन् । केही दिनअघि रुपन्देहीको कञ्चन गाउँपालिका पुगेर भुमि आयोगका अध्यक्ष ज्ञवालीले पुर्जा वितरणको काम यहीबाट सुरु गर्ने उद्घोष गरेका थिए । जहाँ उल्लेख्य रुपमा स्थानीयको सहभागिता थियो । सो क्षेत्रका झण्डै ९० प्रतिशत स्थानीय भूमि पुर्जाविहिन छन् ।
कार्यक्रम सकिएपछि सोही स्थानमा सत्तारुढ नेकपाको पार्टी प्रवेशको कार्यक्रम राखियो । पार्टी प्रवेशको कार्यक्रममा भूमि पुर्जा वितरणलाई मुद्दा बनाएर दर्जनौं स्थानीयलाई प्रवेश गराइयो । जहाँ सरकारका मन्त्रीदेखि सांसदहरू उपस्थित थिए ।

घोराही कारागारमा बायोग्यास

राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

प्रतिक्रिया