न्यूयोर्कमा किन नहुने भयो सार्क विदेशमन्त्री स्तरीय बैठक ?

काठमाडौँ - दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मन्त्रीस्तरीय बैठक यसपटक राष्ट्रसंघीय महासभाको साइडलाइनमा नहुने भएको छ । नेपालले सम्पूर्ण तयारी गरिसकेको भए पनि पाकिस्तान र अफगानिस्तानकf कारण न्यूयोर्कमा हुने सार्क परराष्ट्रमन्त्री स्तरीय बैठक रोकिएको हो । सार्कको कान्छो मुलुक अफगानिस्तानको पछिल्लो राजनीतिक घटनाक्रमले सार्कको भविष्यमाथि थप प्रश्न उठिरहेका बेला बैठक रद्द भएको हो ।
यो बैठक नहुनु भनेको सार्क थप कोमामा जानु हो । नेपाल सरकारले पाकिस्तान र अफगानिस्तान बाहेक अन्यत्रबाट परराष्ट्रमन्त्रीको आउने निश्चित गरिसकेको थियो । गत भदौ २९ मा नै सबै सदस्य मुलुकसँग सार्क सचिवालयमार्फत पत्राचार गरेको थियो । सार्क साइडलाइन बैठक भने असोज ९ न्यूयोर्कको ग्रान्ड होटलमा राखिएको थियो ।
कूटनीतिक च्यानलमार्फत सबै सदस्य मुलुकलाई नेपालले पत्राचार गरेको थियो । सार्कमा नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र अफगानिस्तान सदस्य छन् । हुनत सार्कमा नौ पर्यवेक्षक पनि छन् । उनीहरू भने त्यो अनौपचारिक बैठकमा खबर गरिदैन । सार्कको साइडलाइन बैठकमा अफगानिस्तान पनि सहभागी हुने सम्भावना रहेको र त्यहाँको सरकारलाई अझै पनि अन्तराष्ट्रिय मान्यता नपाएको अवस्था रहिरहेकोले नेपालले बैठक रद्द गरेको हो ।
अफगानिस्तानको नयाँ सरकारसँगको सम्बन्धबारे अझै सदस्य मुलुकहरू अन्यौलमा नै रहेको अवस्थाले यो क्षण निम्तिएको एक अधिकारीले जानकारी दिए । साथै पाकिस्तानले पछिल्लो समय नेपालको भूमिकाप्रति असन्तुष्टि जनाएर सहभागिताबारे स्पष्ट जवाफ नपठाएको कूटनीतिक स्रोतले बतायो । पाकिस्तानले अफगानिस्तानको पूर्ववर्ती सरकरका अधिकारीको उपस्थिति रोक्न नेपाललाई आग्रह गरेको थियो ।
अफगानिस्तान भाग लिन आउथ्यो या आउथेन स्पष्ट थिएन । तर आयो भने नेपालले रोक्ने स्थान पनि थिएन् । तर, पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानको यस अघिका सरकारका दूत घुलाम एमा इसाक्लाईको उपस्थिति नहुने हुनुपर्छ भनेपछि नेपालले त्यसको ग्यारेन्टी गर्न सकेन र न्यूयोर्कमा बैठक नहुने भएको हो ।
अघिल्लो सरकारले कूटनीतिज्ञ घुलाम राष्ट्रसंघका लागि विशेष दूत नियुक्त गरेकोमा तालिवान सरकारले हटाए पनि उनी कूटनीतिक रूपमा त्यही सक्रिय छन् । तर, तालिवानले दोहामा रहेका प्रवक्ता सुहेल सहिनलाई राष्ट्रसंघीय दूत बनाएको छ ।
नेपालले अफगानिस्तानको विषयमा आफ्नो स्पष्ट धारणा नबनाएको अवस्थामा पाकिस्तानले कूटनीतिक च्यानलबाट भनेको छ,‘पूर्ववर्ती सरकारका दूत वा कूनै कूटनीतिज्ञ सार्कको साइडलाइनमा सहभागी हुन हुँदैन । त्यसको ग्यारेन्टी नेपालले गर्नुपर्छ ।’ नेपालले तालिवान सरकारलाई मान्यता दिएको छैन । त्यस्तै पूर्ववर्ती सरकार नै सही हो भनेर पनि भनेको छैन । यस्तो अवस्थामा नेपालले ग्यारेन्टी दिन नसकेको हो । त्यही कारण सार्कमा पाकिस्तान सहभागी नहुने भएपछि मन्त्रिस्तरीय बैठक नेपालले रोकेको परराष्ट्रका अधिकारीले बताए । नेपालले त्यो बैठक रोक्नुमा दुःख प्रकटसमेत गरेको छ । नेपालले यस क्षेत्रको शान्तिको लागि र सहकार्य मिलाउनको लागि यस्तो निर्णय लिएको पनि सरकारी अधिकारीले बताए ।
पाकिस्तानले अहिलेको अफगानी सरकारको वकालत नै त गरेको थिएन तर पूर्ववर्तिलाई बैठकमा आउन दिन नहुने धारणा व्यक्त गरेको थियो । यस क्षेत्रको मुलुकले तालिवान सरकारलाई मान्यता नदिए पनि द्विपक्षीय सहकार्य अघि बढाएको छ । तर स्पष्टता नहुँदा बैठक रद्द हुन पुगेको हो । राष्ट्रसंघीय ७६औँ महासभाको साइडलाइनमा हरेक वर्ष सार्कका परराष्ट्रमन्त्री (सार्क मन्त्रिपरिषद्)हरू अनौपचारिक रूपमा बैठक बस्ने गर्छन् ।
त्यो बैठक अध्यक्ष मुलुकले गर्ने गर्दछ । औपचारिक निर्णय नलिने भए पनि त्यसको लागि बाटो खोल्ने यो बैठकलाई सार्क भित्रको महत्वपूर्ण बैठकको रूपमा लिइन्छ । सन् २०१४ पछि सार्क शिखर सम्मेलन हुन सकेको छैन । सार्क शिखर सम्मेलन एक वर्षलाई दुई वर्षे बनाए पछि झन समस्यामा आएको हो । भारत र पाकिस्तानको कारण सार्क समस्यामा पर्दै आएको छ । सार्क शिखर सम्मेलन नभए पनि कुनै संकटमा भारतले यो फोरमलाई उपयोग भने गरेको छ । आफ्नो शपथ ग्रहणमा होस या कोभिड-१९ महामारीमा त्यतीबेला भारतले सार्कलाई सम्झेको छ ।
परराष्ट्र मन्त्री खड्का न्यूयोर्क प्रस्थान
राष्ट्रसंघीय महासभामा सहभागी हुन नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का न्यूयोर्क प्रस्थान गरेका छन् । उनी चार सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै न्यूयोर्क गएका हुन ।
नेपालबाट उनीसँग परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसंघ महाशाखा प्रमुख सेवा लम्साल र एक अधिकृत सहभागी हुनेछन् । त्यहाँ उनले महासभालाई सम्बोधन र साइडलाइनमा दुईपक्षीय वार्ताहरू गर्नेछन् । सार्कको मन्त्रीस्तरीय बैठक नबसे पनि त्यहाँ उनले सबै सदस्य मुलुकका समकक्षीसँग दुईपक्षीय वार्ता भने गर्नेछन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया