प्रधानमन्त्रीले चाल्नसक्ने सम्भावित कदम

काठमाडौं : मंसिर २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक बैठक आह्वान गरे । तर प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले आफू उपस्थित नहुने जनाएपछि उक्त बैठक बस्नै सकेन । त्यसपछि उक्त बैठक ३० गते (आज) लाई सारियो । बिहान बालुवाटारमा बसेको बैठकमा प्रतिपक्षी दलका नेता देउवा त उपस्थित भए तर, सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन् । सभामुख उपस्थित नभएपछि बैठक बस्न सकेन । साँझ पुनः बस्ने गरी स्थगित भयो ।
संवैधानिक परिषद् बैठक स्थगितलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाए । बैठकले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्यो । यसविषयमा कतिपय मन्त्री नै अनविज्ञ रहे । तर मन्त्रिपरिषद् बैठक सकिएको एक घण्टामै राष्ट्रपतिले अध्यादेश जारी गरेपछि तरंग उत्पन्न भयो । राष्ट्रपति कार्यालयले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्ति जारी गरेको थियो ।
अहिले सत्तारुढ नेकपामा विवादले उग्र रुप लिएको छ । ओलीले विभिन्न बहानामा सचिवालय र स्थायी कमिटी बैठक छल्दै आएका छन् । संवैधानिक परिषद्को बैठक पनि नेकपाकै विवादको भूमरीमा पर्यो । पार्टीकोे विवादले उग्र रुप लिइरहरेको बेला संवैधानिक परिषद्को बैठक बस्न नहुने दाहालको धारणा थियो । तर ओलीले सुनेनन् । सभामुख सापकोटा बैठकमा नजानुको एउटा कारण यो पनि हो ।
फिर्ता लिन चौतर्फी दबाब
राष्ट्रपति कार्यालयले अध्यादेश जारी गरेको विज्ञप्ति सार्वजनिक भएसँगै विरोध सुरु भएको छ । विरोध गर्ने पहिलो पङ्तिमा सत्तारुढ नेकपाकै नेताहरू छन् । अध्यक्ष पुष्पकमल दाहालदेखि प्रवक्ता नारायाणकाजी श्रेष्ठसम्म सरकारको यो कदमको विरोधमा उत्रिएका छन् । ओलीइतरका अन्य नेताहरू पनि सरकारको यो कदमको विरुद्धमा छन् । पार्टीमा छलफल नै नगरी ल्याइएको अध्यादेश फिर्ता लिनुपर्ने उनीहरूको माग छ ।
अध्यक्ष दाहालले अध्यादेश तत्काल फिर्ता गर्नपर्ने धारणा राखेका छन् । पार्टी नै फुटाउने गरी प्रधानमन्त्रीले यस्तो कदम चालेको दाहालको ठहर छ । ‘सबै पार्टीले संसद्को अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो,’ दाहालले भनेका छन्, ‘यो बदनियतपूर्ण छ र तरुन्त खारेज हुनुपर्छ ।’ छलफलकै क्रममा दाहालले परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न प्रधानमन्त्रीलाई दूतहरुमार्फत सन्देशसमेत पठाएका छन् । यद्यपि दाहाल र प्रधानमन्त्री ओलीबीच यसमा कुनै पनि छलफल भएको छैन । यस विषयमा दाहालले आफू पक्षीय नेताहरूसँग छलफल थालेका छन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेश नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले एकल निर्णयका आधारमा जारी गरेको बताए । यो कानुनसम्मत र लोकतान्त्रिक नभएको उनको ठहर छ । यसलाई लोकतन्त्रकै उपहास भन्न मिल्ने बताउँदै उनले भने, ‘सबै पार्टी सदस्यहरूले अधिवेशन गराउने माग भैरहेको बेला यो अध्यादेश ल्याउनु बदनियत पूर्ण छ । तुरुन्त खारेज हुनुपर्छ, अन्यथा लोकतन्त्रको उपहास हुनेछ ।’
श्रेष्ठले सामाजिक सन्जाल फेसबुक र ट्वीटरमा लेखेका छन्, ‘सरकारले पुनः संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको छ । यो सारतः यसअघि जारी गरेर फिर्ता गरिएकै अध्यादेश हो । त्यसबेला हाम्रो पार्टी, प्रतिपक्ष लगायतका राजनीतिक दल र नागरिक समाजले अलोकतान्त्रिक कदम भन्दै बिरोध गरी फिर्ता लिन व्यापक दबाब दिएपछि सरकारले उक्त अध्यादेश फिर्ता लिएको थियो ।अहिले हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको छ र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइसकेको छ । यस्तो स्थितिमा प्रधानमन्त्रीले अप्रत्यासित ढङ्गबाट अध्यादेश ल्याउनु गलत छ । तसर्थ अध्यादेश तत्काल फिर्ता लिनु पर्दछ । अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानाकारी थिएन र जारी गरिएपछि पार्टीमा कुनै छलफल भएको छैन । भोलिको स्थायी कमिटीको बैठकमा छलफल होला ’
सत्तापक्ष मात्र होइन प्रमुख प्रतिपक्ष प्रतिपक्षी दल नेपाली कांग्रेससमेत आक्रोशित बनेको छ । अध्यादेश ल्याउनु अलोकतान्त्रिक क्रियाकलाप भएको भन्दै प्रमुख प्रतिपक्षीले यसलाई षड्यन्त्रका रूपमा लियो । कांग्रेस नेता रमेस लेखकले ‘अध्यादेश यसरी ल्याउनु अलोकतान्त्रिक क्रियाकलाप भएको बताए । साथै उनले अध्यादेशपछिको बैठकमा कांग्रेस नजानेसमेत जानकारी दिए ।
देउवाले वक्तब्य नै जारी गरेका छन, वक्तव्यमा उनले अधेयादेश ल्याउने सरकारकाे निर्णयमा आफ्नाे पार्टीकाे विमति रहेकाे उल्ल्ख छ । वक्तव्यमा उनले भनेका छन्, ‘उपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ । यसमा नेपाली कांग्रेसको प्रष्ट विमति छ ।’
प्रधानमन्त्रीले चाल्न सक्ने सम्भावित कदम
अध्यादेशमा तीन जना सदस्य उपस्थिती भए निर्णय लिन सकिने र त्यसमा पनि विवाद भए कम्तीमा बहुमत सदस्यहरुबाट निर्णयमा पुग्ने उल्लेख छ ।
नयाँ जारी अध्यादेशअनुसार अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठकको गणपूरक संख्या पुगेको मानिनेछ र त्यस्तो बैठकमा अध्यक्षसहित उपस्थित सदस्यको बहुमतबाट निर्णय हुन सक्नेछ । अहिले समितिमा पाँच जना मात्रै रहेकोले तीन जना मात्रै उपस्थित हुँदा पनि बैठक बस्न सक्ने छ ।
यससँगै अब प्रधानमन्त्री र अन्य २ सदस्य उपस्थित हुँदा बैठक बस्न र निर्णय गर्न कानूनी अड्चन हुने छैन । सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता दुवै अनुपस्थित हुँदा पनि बैठक बस्न सक्नेछ ।
अध्यक्षसहित ६ सदस्यीय परिषदमा उपसभामुख रिक्त रहेकाले हाल ५ सदस्य छन् । अध्यक्षसहित ३ जना उपस्थित हुँदा बहुमत पुग्छ । यही व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले परिषदको बैठक राखेर आफू अनुकुल निर्णय गर्न सक्ने देखिएको छ ।
संविधानविद् रमण श्रेष्ठ संविधानको मूल भावनाविपरीत अध्यादेश जारी गरिएको बताउँछन् । यसअघि पनि पनि ल्याएर फिर्ता लिइएको अध्यादेश फेरि ल्याइनु आफैमा त्रुटिपूर्ण भएको उनको ठहर छ । ‘अध्यादेश असामान्य अवस्थामा ल्याउने हो । अघिल्लो पटक पनि यही अध्यादेश ल्याएर फिर्ता लिएको होइन । त्यो गलत छ भनेर फिर्ता लिएपछि अहिले सही हुन सक्छ ?’
उनले भने, ‘अध्यादेश संविधानको मूल भावनाविपरीत छ । अबको केही दिनमा संसद् अधिवेशन अनिवार्य रूपमा बोलाउनै पथ्र्यो । यही व्यवस्था अनुरूप संसद् छिट्टै चल्नुपर्छ । तर, संसद्लाई छल्नको लागि यो अध्यादेश ल्याइएको देखियो । ’
सबै कुरा मुठ्ठीमा राख्ने मनसायले अध्यादेश प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको उनले बताए । ‘इच्छाअनुसार चल्ने आसयले अध्यादेश ल्याएको देखिन्छ । सबैकुरा आफ्नो मुठ्ठीमा राख्ने प्रधानमन्त्रीको मनसाय देखिन्छ,’ उनले भने ।
प्रधानमन्त्रीले अब चाल्न सक्ने कदम भने अहिले नै आँकलन गर्न नसकिने उनको भनाइ छ । यसपछि विकसित हुने राजनीतिक घटनाक्रमले प्रधानमन्त्रीका आगामी कदम तय गर्ने उनको भनाइ छ ।
त्यस्तै संविधानविद् भीमार्जुन आचार्य अध्यादेश जारी गर्ने कार्य आपत्तिजनक भएको बताउँछन् । पदाधिकारी अनुपस्थित भएको मौका परेर ल्याइएको अध्यादेशको कुनै औचित्य नभएको उनको भनाइ छ । ‘अध्यादेशले के देखाइदियो भने सामान्य बहुमत भए पनि बैठक बस्न सक्ने । र, त्यसको पनि बहुमतले निर्णय गर्न सक्ने भनेपछि त लगभग दुई जनाले निर्णय गर्न सक्ने बनाइदियो ।’
यस्ता महत्वपूर्ण पदको नियुक्ति दुई जनाले मात्र गर्दा संविधानमा राखिएको ६ जनाको कुनै अर्थ नहुने उनको तर्क छ । यसलाई उनले संविधानमाथिको धेरै ठूलो जालसाजी भएको बताए ।

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो

कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छ : अध्यक्ष दाहाल

प्रतिक्रिया