पीएसजी: पेरिस सहरको नयाँ पहिचान
काठमाडौँ- पेरिस सहरको बीचमा बग्ने सिन नदीबाट नजिकै छ, सामारिटैन डिपार्टमेन्ट स्टोर । यो स्टोर ७५ करोड युरो खर्च गरेर मर्मत–सम्भार गरिएको हो । यहाँ विश्व प्रसिद्ध ब्रान्डका सामान राखिएका छन् । एक जोर जुत्ताकै एक हजार युरोसम्म पर्छ । अचम्मलाग्दो के भने, कोभिड–१९ महामारी उत्कर्षमा पुग्दा पनि यो स्टोरको व्यापारमा खासै असर परेन ।
जसरी मानिसहरू लुभ्रमा मोनालिसालाई हेर्न पुग्छन्, त्यसरी नै यो स्टोरमा पनि सयौँ झुम्मिनछन् । यो स्टोरका मालिक हुन्, बर्नाड आर्नौल्ट । उनी युरोपकै सबैभन्दा धनी व्यक्ति हुन् । अर्बपति आर्नौल्ट मालिक रहेका सामारिटैन र पेरिसकै पेरिस सेन्ट जर्मेन (पीएसजी) फुटबल क्लबबीच समानता छ ।
सामारिटैनमा महंगो मूल्य पर्ने वस्तु बिक्रिमा राखिएका छन् भने पीएसजीमा बहुमूल्य खेलाडीहरू छन् । युरो २०२० जितेका जियानलुजी डोनारुमा पीएसजीको गोलपोष्ट सम्हाल्छन् । रियल म्याड्रिडका कप्तान रहिसकेका सर्जियो रामोस रक्षापंक्तिमा हुन्छन् । मिडफिल्डमा युरो विजेता नै रहेका मार्को भेराटी छन् । अग्रपंक्तिमा को–को छन् भनेर भन्नै परेन ।
पीएसजीका फरवार्ड लियोनल मेस्सी, नेयमार र किलियान एमबाप्पे विश्वभर लोकप्रिय छन् । एसियाको टोकियोदेखि अफ्रिकाको केप टाउनसम्म उनीहरूको चर्चा छ । पीएसजीलाई विश्व फुटबलमा चिनाउने काम गरिरहेका थिए, नेयमार र एमबाप्पेले । अब यो अभियानमा मेस्सी पनि थपिएका छन् । उनी यसै सिजन पीएसजीसँग जोडिएका हुन् । ६ पटक बालोन डोर जितेका मेस्सी पेरिस पुगेपछि पीएसजीको अग्रपंक्ति विश्व फुटबलको सबैभन्दा महंगो अग्रपंक्ति बनेको छ ।
पीएसजीको स्वामित्व कतारको शाही परिवारसँग छ । कतारका राष्ट्रध्यक्ष तमिम अल थानीले पीएसजीमा एक अर्ब युरो भन्दा बढी खर्च गरिसकेका छन् । अल थानी नेतृत्वको कतारी सरकारले खेलकुदका अन्य क्षेत्रमा पनि व्यापक लगानी गरेको छ । कतारले आउँदो विश्वकप आयोजना गर्न लागेको छ । फुटबलबाहेक अन्य खेलका विश्व स्तरीय प्रतियोगिताहरू निरन्तर आयोजना गरिरहेको छ ।
कतारीको लगानीमा पीएसजीले आफूलाई फ्रेन्च क्लब फुटबलको सबैभन्दा बलियो शक्तिका रुपमा स्थापित गरेको छ । गएका नौ वर्षमा पीएसजी सात पटक लिग च्याम्पियन बनेको छ । खासै समृद्ध इतिहास नभएको पीएसजी अहिले युरोपियन क्लब फुटबलको एलिट क्लब बनेको छ । खेलाडीमात्र होइन, नाम चलेका प्रशिक्षकहरूलाई पनि उसले आर्कषित गर्न सकेको छ । हाल रियलमा रहेका कार्लो एनसिलोट्टी, र चेल्सीका थोमस टुकेल पनि कुनैबेला पीएसजीमै थिए । हाल प्रशिक्षणको जिम्मेवारी माउरिसियो पोचेटिनोको काँधमा छ । जो इंग्ल्यान्डकै ठूलो क्लबमध्येको एक रहेको टोटनहमबाट फ्रान्स पुगेका हुन् ।
पीएसजीले च्याम्पियन्स लिग जित्न सकेको छैन । सन् २०२० मा उप–विजेता भने बनेको थियो । मेस्सीलाई क्लबमा भित्र्याउनुको उदेश्य च्याम्पियन्स लिग जित्नु नै हो । तर यसपालीको च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमै पीएसजी रोकियो । फ्रेन्च क्लबले बेल्जियमको क्लब ब्रगसँग १–१ को बराबरी खेलेको थियो । समूह चरणको दोस्रो खेलमा पीएसजीको भेट म्यानचेस्टर सिटीसँग हुँदैछ । खेल पीएसजीको मैदानमा मंगलबार राति हुनेछ ।
गएको नौ सिजनदेखि लगातार च्याम्पियन्स लिग खेलिरहेको पीएसजीको समर्थकको संख्या बढिरहेको छ । त्यो पनि विश्वभर नै । यी सबै समर्थक आफ्नो प्रिय क्लबको खेल हेर्न पेरिस पुग्न सक्दैनन् । यति हुँदा हुँदै पनि पार्क डेस प्रिन्सेस प्रत्येक खेलमा भरिन्छ । कोभिड महामारीले पनि पीएसजीको केही बिगार गर्न सकेको छैन । कोभिडकै कारण युरोपका अन्य क्लब आर्थिक मारमा परिरहेका बेला पीएसजीले मेस्सीलाई अनुबन्ध गर्यो । जसले गर्दा पीएसजीको लोप्रयिता ह्वात्तै बढेको छ । यस्तो लाग्छ, पेरिसमा आइफल टावर र नोट्रो डामपछि पीएसजी नै पेरिसको पहिचान हो ।
पीएसजीको आर्थिक सम्पन्नताको कुरा गरिरहँदा च्याम्पियन्स लिग समूह चरणका उसका प्रतिद्वन्द्वी क्लबहरुको पनि चर्चा गर्न आवश्यक छ । ब्रगको वार्षिक आम्दानी १३ करोड ५० लाख मात्र हो । बेल्जियमको लिगमा बलियो भए पनि ठूला लिगका महंगा टिम भएका क्लबहरुसँग उसको तुलना हुँदैन ।
समूहमा पीएसजीका अन्य विपक्षी आरबी लाइपजिग र म्यानचेस्टर सिटी हुन् । यी दुई क्लब पनि पीएसजी जस्तै धनी लगानीकर्ताहरुबाट सञ्चालित छन् । वास्तवमा भन्ने हो भने एक शताब्दीअघि यी कुनै पनि क्लब आजको अवस्थामा आइपुग्छन् भन्ने अनुमान गरिएको थिएन । यी तीनै क्लबको मोडल एउटै छ, स्थानीय तहमा पहिचान बलियो बनाउने भन्दा पनि विश्वमै लोकप्रियता कमाउने । यसकारण, पीएसजी र सिटीबीचको खेल विश्वभरका फुटबल प्रेमीहरुले पर्खिरहेका छन् । किनभने यो भन्दा रोमाञ्चक खेल अर्को छैन । जर्मनीका पूर्वखेलाडी फिलिप लाह्मले दी गार्डियनका लागि लेखेको लेखको अनुवाद

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

लिभरपुलको विजय यात्राको भिडमा कार कुदाइयो, ४७ जना समर्थक घाइते

अब पाँच चौकाले बनाउनेछ कोहलीलाई १२०० चौका हान्ने पहिलो एसियन क्रिकेटर

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

प्रतिक्रिया