शनिबार १३ बैशाख, २०८२
Saturday, April 26, 2025

विपद्जन्य घटनामा वैशाखयता साढे चार सयको मृत्यु

सिन्धुपाल्चोकको लिदीमा गएको पहिरो । फाइल तस्बिर

काठमाडौं : गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर चार सय ४४ को मृत्यु भएको छ । 

उक्त अवधिमा एक सय एक वेपत्ता भएका छन् भने सात सय ३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपालि पहिरोले ठुलो क्षति गरेको बताउँदै विपद्का घटनामा परेर एक हजार सात सय ५५ चौपाय मरेको र झण्डै रु ८२ करोड क्षति भएको जनाए ।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पहिरोबाट मात्रै दुई सय ९५ को मृत्यु, ६४ वेपत्ता र दुई सय २३ घाइते भएका छन् । पहिरोले चार सय ३५ जना पशुचौपाय क्षति भएको छ । पहिरोबाट अनुमानित रु पाँच करोड ९ लाखको क्षति भएको छ । त्यसपछि चट्याङ्ले बढी मानवीय क्षति गराएको छ । चट्याङ्बाट ६५ को मृत्यु, दुई सय १३ घाइते र  छ सय ९६ चौपाय क्षति भएको छ । चट्याङले रु ५९ लाख भौतिक क्षति भएको विवरणमा उल्लेख छ ।  यसैगरी बाढीबाट ४२ को मृत्यु, ३७ बेपत्ता र ११ जना घाइते भएका छन् । बाढीमा परेर २७२ पशु चौपाय मरेको र झण्डै रु पाँच करोडको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ । 

आगलागीमा परेर १० को मृत्यु एक सय ४४ घाइते र ६० करोड भन्दा बढीको भौतिक तथा आर्थिक क्षति भएको छ । सर्पदंसबाट २१ को मृत्यु, ३६ घाइते र जनावरको आक्रमणबाट ११ को मृत्यु एक सय १२ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । रासस