शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

प्रचण्डको ‘क्यारेक्टर सर्टिफिकेट’

फाइल तस्बिर

आफ्नो पार्टीको भ्रातृसंगठन अखिल क्रान्तिकारीको कार्यक्रममा हिजो माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति धेरै अर्थले विचारणीय छ । हिजो उनले मुत्यु र मुक्ति, लड्ने र भिड्ने, आत्महत्या र हत्या जस्ता बीभत्स शब्दावली वमन गरेका छन् । 

आफ्नो मनमा गढेका केही कुरा यिनले नौटंकी नै सही भक्कानिँदै पोखेका छन् । मनोवेत्ताहरू भन्छन्- मान्छेको हाउभाउ र अभिव्यक्ति उसको मनको, लोकेसनको, परिस्थितिको, मनस्थितिको विम्ब हो ।

आफूले धेरै पटक मन्त्री बनाएकाहरू दलाल भएको भनेर उनले आफूसमेत दलालको ससुरा भएको अर्थात् आफ्नो परिवार नै दलालीमा लिप्त भएको स्वीकार गरेका छन् । 

२६ वर्ष पहिले माओवादीले सशस्त्र द्वन्द्व कसरी सुरु गर्यो ? त्यसका माग के थिए ? त्यसका खराबी र उपलब्धि के भए ? यतातिर धेरै अक्षर लेखिइसकेका छन्, बहस भई नै रहेका छन् । यो पक्ष छोडौँ, अहिलेलाई ।

माओवादीले नेपालमा भुइँतहसम्म अधिकारको जागरण फुकेको, गरिब, सीमान्तीकृत वर्गलाई वाणी दिएको अवश्यै हो । एक पेट खान नपाई मारिनुपर्ने नागरिक प्रचण्डहरूको पछि लागेर मर्न-मार्न तयार भएकै हुन् । अर्थात्, क्रान्तिप्रति उनीहरूको समर्पण थियो नै ।

युद्धकालमा जे जस्ता खराबी भए पनि माओवादीले सरकारमा रहँदा भन्दा फरक र राम्रो सेवा प्रवाह गरेको भए ती सबै नराम्रा पक्ष बिर्सिइन्थे पनि । तर, माओवादी परम्परागत पार्टी-शक्तिभन्दा धेरै गुणा सम्भ्रान्त, भ्रष्ट, अपारदर्शी भएर निस्कियो ।

२०६३ सालपछि यो पार्टी सधैँजसो सरकारमा रह्यो, सरकारमा रहँदा उनीहरुको वर्गीय पक्षधरता सर्वहारा गाउँघरतिर होइन सर्वहारी सहरीतिर रह्यो । सरकार-राज्यद्वारा निर्धा, निमुखा, निरक्षर, निःसहाय, नागरिकलाई निरन्तर निरीह बनाउने कांग्रेस-एमाले कदममा माओवादीले हातेमालो मात्र गरेन, ती पार्टीलाई जितेर भ्रष्टआचरणको कीर्तिमान नै कायम गर्‍यो ।  

१३ वर्ष पहिले पहिलो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले अवसरको सदुपयोग गर्न सकेनन् । उनलाई आफूले पाएको  बहुमत स्थायी हो भन्‍ने आत्ममुग्धताले यति गाँजेको थियो कि उनी र उनका कार्यकर्ताहरू कांग्रेस-एमाले जस्ता शक्तिलाई हरूवा भनेर सधैँ हेप्थे । 

अरु पार्टी, व्यवस्था खराब भए भन्‍ने नारा बोकेर माओवादी अघि बढ्यो । अनि त्रास वा आस वा विश्वास सबैको मिश्रणले पहिलो संविधानसभामा उसले बहुमत ल्यायो । पार्टी जब सरकारमा गयो, ऊ क्षणभरमै पहिलेका दलभन्दा पनि दलालीको दबदबे हिलोमा भासिनु भासियो । 

माओवादी पार्टी पटक पटक फुट्यो । युद्धकालका सहयात्री मोहन वैद्य किरण, बाबुराम भट्टराई, सीपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, लोकेन्द्र विष्ट मगरजस्ता नेतालाई प्रचण्ड र प्रचण्ड गुटले गर्नु अपमान गरेका छन् । आफ्ना चाकडीबाजलाई उनले मन्त्री पद, लाभका पद बक्सिस दिइरहे । उनमा परिवारवाद यति हाबी भयो कि छोरी, बुहारी, भाइहरू परिवारका नातागोताका धेरैलाई सरकारी तलब बुझ्ने बनाएका छन् ।

प्रचण्डको परिस्थिति र मनस्थिति अहिले ठीक छैन । यसका लागि उनलाई आलोचना गरेर मात्र पुग्दैन । यहाँ प्रसंगवश प्रचण्डको मात्र कुरा गरियो, कांग्रेस, एमाले लगायत सबै पार्टी, सबै पार्टीका नेताको यही हो- चालचलन ।

प्रचण्डको जहान-परिवारवाद हेर्दा उनलाई जहानियाँ शासक भन्दा फरक पर्दैन । हालै मात्र उनले पत्नी सीता दाहाललाई पदक दिलाएका छन् । पदक घोषणापछि केहीले ‘नाइँ’ भने उनको परिवारले चाहिँ अचेत अवस्थामा रहेकी आमाले पदक पाएकोमा तात्तातै हर्षबढाइँ गरे । शक्ति र स्रोतको लोभ उनमा यति धेरै छ कि उनी त्यसका लागि जे पनि कुकृत्य-कुतर्क गर्न पछि पर्दैनन् । तारजाली हालेर मतगणना गराउन सक्ने पात्रका प्रणेता प्रचण्ड नै हुन् ।

उनीसँग निजी सम्पत्ति त प्रशस्त छ । ठेक्कापट्टाका विवादित पात्र पनि उनकै वरिपरि छन् । यहाँ पूर्वप्रधानमन्त्री भइसकेको व्यक्ति व्यापारी, बिचौलिया, दलाल, तस्कर, ठग भनेर चिनिएका पात्रकै परिक्रमा गर्छ, अहोरात्र । 

उनमा आत्मकेन्द्रित सोच यतिसम्म छ कि उनी आफूबाहेक पार्टीमा अध्यक्ष हुन लायक पात्र कोही देख्दैनन् । तीस वर्षे पञ्चायती व्यवस्था भनेजस्तै तीस वर्षे प्रचण्डीय व्यवस्था छ पार्टीमा । त्यहाँ लोकतन्त्रको, प्रतिस्पर्धाको, व्यवहार र आचरणको कुनै माने छैन । कम्युनिस्टका, माक्र्सवादीका कुनै अभिलक्षण छैनन् । बुर्जुवा, नवधनाढ्य नेताले ‘माओवादी’ नाममा माओको यति बेइज्जत गरेका छन् कि माओका उत्तराधिकारीले यहाँका माओवादीउपर अपमान-बेइज्जती मुद्दा दायर गर्न ढिला भइसकेको छ । 

प्रचण्डलाई पुत्र शोक पर्‍यो । पुत्री शोक पनि पर्‍यो । जीवनसाथी बिरामी छन् । पार्टीका ऊ बेलाका नेता बेग्लै पार्टीतिर छन् । सानोभन्दा सानो उपचारका लागि विदेश सयर गर्ने ‘महाराज’ नेताहरू अब उनका सारथि छन् । प्रचण्डले अब गुमाउन र कमाउन बाँकी केही छैन तर उनी शक्ति र सत्ताले मात्र शान्ति मिल्छ भन्‍ने गम्भीर गलत बाटोमा छन् । 

प्रचण्डको आर्थिक जीवन पटक्कै पारदर्शी छैन तर उनै सुशासनको गफ गर्छन् । प्रचण्डको पार्टी जीवन आत्मकेन्द्रित छ, उनै लोकतन्त्रको गफ दिन्छन् । पटकपटक अवसर पाएर केही गतिलो नगरेका पात्रलाई प्रचण्ड नै मन्त्री बनाउँछन्, अनि  तिनै मान्छे दलाल भए भन्छन् ।

नातागोतालाई लाभ दिन उनी मरिहत्ते गर्छन् अनि उनै कुल-वंश राजनीतिले देश बिग्रियो भन्छन् । उनी विवादित पात्रकै लगानीमा, विवादित पात्रलाई नै लगानी गरेर टिकेका छन्, अनि उनी नै ‘नवयुग’को नायक भन्ठान्छन् आफूलाई । पदमा रहँदा उनी आफूले पनि संसद्को गरिमा मिचे, संविधानसभाको गरिमा मिचे अनि उनी नै संसद्को गीत गाउँछन् । केपी ओलीसँग पार्टी एकीकरण गरेका बेला उनले केपी ओलीलाई राम्रो सरकार भएन भनेर कहिल्यै आलोचना गरेनन्, भाग पुगेन मात्र भनिरहे, अनि उनै पदबाहिर हुँदा आकाशका तारा झार्ने गफ गर्छन् । 

‘अयोग्य लडाकु’को पीडा प्रचण्डले कहिल्यै सुनेनन् । द्वन्द्वकालमा भएका गैरन्यायिक हत्याका लागि उनले कहिल्यै क्षमा मागेनन् । क्यान्टोनमेन्टको रकम हिनामिनामा यत्रो कुरा उठ्यो, उनी सधैँ मौन रहे ।

प्रचण्ड दुई पटक प्रधानमन्त्री भए पनि २०६२/०६३ यताको १५ वर्षमा उनको पार्टी दुई तिहाइभन्दा बढी समय सरकारमा छ । तर, उनको पार्टीका, उनका कार्यकर्ताले मन्त्री हुँदा के नयाँ र फरक काम गरे ? शिक्षा मन्त्रालयमा त उनको पार्टीले ठेक्कै पाए जस्तो भयो सधैँ, तर अहिले सबैभन्दा बिग्रेको, व्यापारिक भएको कुनै क्षेत्र छ भने शिक्षा नै छ ।

शिक्षा र स्वास्थ्यमा यो हदको व्यापार गरेका छन्, कसले भन्दा हिजो जनवादी शिक्षा भन्‍ने, कथित कम्युन चलाउने नेताले नै । प्रचण्ड सर्वहारा थिए होलान्, उनी सर्वहारी भइसके, जे पनि खाइदिने । शिक्षा र स्वास्थ्य नाफावालेका हातमा हुनुहुन्‍न भन्‍ने नै प्रचण्डका प्रधानशत्रु अनि समाजवादको संगीत सुनाउने पनि प्रचण्ड ? प्रचण्डको राजनीति अश्लील छ । अश्लील साइट सरकारले बन्द गर्छ तर यिनको अश्लीलता नागरिकले टुलुटुल बेसहाय हेरिरहनु परेको छ ।

प्रचण्डको परिस्थिति र मनस्थिति अहिले ठीक छैन । यसका लागि उनलाई आलोचना गरेर मात्र पुग्दैन । यहाँ प्रसंगवश प्रचण्डको मात्र कुरा गरियो, कांग्रेस, एमाले लगायत सबै पार्टी, सबै पार्टीका नेताको यही हो- चालचलन । यी सबै नेतालाई नेपाली जनताले क्यारेक्टर सर्टिफिकेट दिनुपर्‍यो भने त्यहाँ ‘सन्तोषजनक’ लेख्‍ने कदापि कोही तयार छैनन् । लेख्‍नेछन्- ‘यी विद्यार्थीको चालचलन खराब छ ।’