शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

कृषि विकास गर्न अवसर र सीप उपलब्ध गराउनुपर्छ : राष्ट्रपति

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने बताएकी छिन् । शुक्रबार काठमाडौँमा आयोजित जिल्ला समन्वय समिति महासंघको तेस्रो राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले अर्थतन्त्रको मुल आधार कृषि क्षेत्र भएको बताएकी छिन् । उनले कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने बताइन् ।

उनले विदेश जान बाध्य युवाका लागि सीपमुलक तालिमको व्यवस्था गरी रोजगारीको अवसर सुनिश्चित गर्नुपर्ने अहिलेको खाँचो रहेको बताइन् । उनले मुलुकको समग्र विकासलाई नागरिकको आकंक्षाअनुरुप शीघ्रता दिनुपर्ने खाँचो रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘हाम्रो अर्थतन्त्रको मुल आधारको रुपमा रहेको कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराइ रोजगारी सिर्जना गर्नुपर्दछ, देशभित्र अवसर नपाई विदेश जान बाध्य युवाका लागि सीपमुलक तालिमको व्यवस्था गरी रोजगारीको अवसर सुनिश्चित गर्नुपर्ने अहिलेको खाँचो रहेको छ,एकातिर हामीले मुलुकको समग्र विकासलाई नागरिकको आकंक्षाअनुरुप शीघ्रता दिनुपर्ने खाँचो छ भने अर्कोतिर विकासमा नयाँ चुनौतिहरुको सामना गर्नुपरिरहेको छ ।’

राष्ट्रपति भण्डारीले  विद्यार्थीहरुलाई उपलब्ध गराइँदै आएको दिवा खाजाका लागि स्थानीय उत्पादनलाई समावेश गर्ने विषयमा जनप्रतिनिधिमुलक संस्था र शैक्षिक संस्थाको बीचमा आवश्यक सहकार्य र समन्वय हुनुपर्ने बताइन् । उनले बालबिालिकाको स्वास्थ्य र बौद्धिक विकासका लागि पौष्टिक आहार र वातावरण निर्माण गर्न स्थानीय निकायले नेतृत्वदायी र गहन भूमिका खेल्नुपर्ने बताइन् । उनले कोभिड १९ महामारीको नियन्त्रण र व्यवस्थापनमा स्थानीय तहहरूले खेलेको भूमिकाको प्रशंसा समेत गरिन् ।