सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

कांग्रेस नेता सिंहको प्रश्‍न: काठमाडौंको भएकै कारण सभापति बन्‍न नपाउने ?

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट डायानामिक सभापति रोज्नुको विकल्प नभएको बताएका छन् । कांग्रेस महाधिवेशनअन्तर्गत काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर विभागहरू गठन गरेको आरोप लगाउँदै उनले यस्तै अवस्था रहे केही दिनपछि कांग्रेस कहाँ छ भनेर खोज्नुपर्ने जिकिर गरे। सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू वरिष्ठ रहेको बताउँदै उनले सभापति बन्न नहुने कारण देखाइदिन उनीहरूलाई आग्रह गरेको उल्लेख गरे ।

‘मैले शेरबहादुर दाइलाई भनिसकेको छु। पाँचपटक प्रधानमन्त्री भइसक्नु भएको छ, विभाजित कांग्रेस र अहिले गरी दुईपटक सभापति बनिसक्नुभएको छ। अब छोडि दिनुपर्‍यो । रामचन्द्र दाइलाई पनि भनिसकेको छु,’ सिंहले भने,‘काठमाडौंको भएकै कारण सभापति बन्न नपाउने? गणेशमानको छोरा हुँदामै सभापति बन्न पाइँदैन? सभापति बन्न नहुने उहाँहरूले कारण देखाइ दिनु पर्‍यो। गणेशमानको परिवारले सँधै त्यागमात्र गर्नुपर्ने ?’ १३ औं महाधिवेशनमा आफूले वरिष्ठ नेता पौडेललाई सभापतिमा छोडिदिएको जिकिर गर्दै उनले यसपटक कुनै हालतमा पछि नहट्ने उल्लेख गरेका छन् ।