सुल्झियो मन्त्रालय भागबण्डाको सकस
शुक्रबार मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीलाई शपथ गराइने गठबन्धन नेताको दाबी

काठमाडौँ – सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागवण्डामा सहमति भएको छ । गठबन्धनमा रहेका दलले पाउने मन्त्रालयको भागबण्डा मिलेकाले भोलि (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गरी साँझसम्ममा मन्त्रीहरूलाई शपथ ग्रहण गराउने तयारी छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का शीर्ष नेताहरूबीच मन्त्रालयको संख्यामा मंगलबारको बैठकमै सहमति भएको हो । जसमा कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री पाउने सहमति जुटेको थियो ।
गठबन्धनका नेताहरूले बुधबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए पनि बिहीबारसम्म आइपुग्दासमेत थप मन्त्री नियुक्त हुन सकेनन् । खासगरी नेकपा एसका नेताहरूले ‘जनतासँग सिधा जोडिएका मन्त्रालय नपाएको’ भन्दै असन्तुष्टि जनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सत्ता गठबन्धन दलको बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा भएको सहमतिअनुसार नेकपा एसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ ।
यस्तै काग्रेसले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, रक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाएको छ ।
यसअघि नै गृह र परराष्ट्र मन्त्रालय लिइसकेको कांग्रेसले स्वास्थ्य मन्त्रालय भने छोडेको छ । यस्तै अर्थ र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लिएको माओवादी केन्द्रले भूमि व्यवस्था मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र खानेपानी मन्त्रालय पाएको छ ।
माओवादीको बुधबार बसेको स्थायी कमिटी बैकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र वोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । यद्यपि, कुन नेतले कुन मन्त्रालय लिने भन्ने तोकेको छैन ।
यस्तै जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपक्षी मन्त्रालय पाउने भएको छ । तर जसपाले मन्त्रीहरू भने छान्न सकेको छैन ।
अध्यक्ष उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले मन्त्री छान्ने जिम्मेवारी पाएका छन् । उनीहरूले बिहीबार आकांक्षीहरुसँग संवाद गरेका थिए । तर नाम टुंगो भइनसकेको छैन । सत्तारुढ दलहरूले मन्त्रीहरुको नाम पठाएपछि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने र साँझसम्म शपथ भइसक्ने प्रधानमन्त्री देउवानिकट एक नेताले जानकारी दिए ।
मन्त्रालय भागबण्डामा असन्तुष्ट देखिएको नेकपा एसलाई बिहीबारको बैठकले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्रीसमेत दिने भएपछि नेकपा एस मन्त्रिपरिषद् विस्तारमा सकारात्मक देखिएको छ । एकीकृत समाजवादीका उपमहासचिव तथ प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार बिहान ११ बजे स्थायी कमिटी बैठकले मन्त्रीहरूको नाम टुंगो लगाएपछि मन्त्रिपरिषद् विस्तार भई सम्भवतः साँझसम्म मन्त्रीको शपथ हुने बताए ।
‘मन्त्रालयको मोटामोटी फाइनल भएकै छ । पार्टीको भोलि बस्ने बैठकले मन्त्रीको नाम टुंग्याउँछ । सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार भई साँझसम्ममा मन्त्रीको शपथ ग्रहण हुनेछ,’ खतिवडाले इकागजसँग भने ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया