मंगलबार १३ साउन, २०८२
Tuesday, July 29, 2025

राष्ट्रपतिविरुद्ध रामकुमारीको आक्रोशदेखि मन्त्रीको शपथसम्म

काठमाडौँ– विद्यार्थी राजनीतिबाट उदाएकी जुझारु नेतृ रामकुमारी झाँक्रीले आज राष्ट्रपतिबाट मन्त्री पदको शपथ लिदैंछिन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपतिले सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छिन् । राष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्तिका कारण पूर्ववर्ती केपी ओली सरकारको समयमा प्रहरीको पक्राउमा समेत परेकी झाँक्रीको आज प्रतिनिधि सभा विघटनको सिफारिश दुईपटक सदर गर्ने राष्ट्रपतिसँग शीतलनिवासमा भेट हुँदैछ । जसका विरुद्ध उनले संघर्षको जेहाद नै छेडेकी थिइन् । 

अनेरास्ववियूको राजनीतिदेखि नै तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल समूहसँग निकट रहेकी झाँक्री प्रतिनिधि सभा विघटन विरुद्धको लडाइँमा सशक्त रूपमा आवाज उठाउनेमा पर्छिन् । नेकपा एमाले र माओवादी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र र सर्वोच्च अदालतको गत वर्ष फागुन २३ को सर्वोच्चको फैसलापछि अलग भएको एमालेमा केपी शर्मा ओलीको स्वेच्छाचारिताविरुद्ध बोल्ने क्रममा रामकुमारी झाँक्रीले गोर्खाको सिरानचोकमा आयोजित आमसभामा गरेको भाषण विवादास्पद बन्यो । 

ओलीको स्वेच्छाचारितालाई सघाएको भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरेकी थिइन् । राष्ट्रपतिलाई बडामहारानी भनेर सम्बोधन गर्दै उनले शीतल निवासको सुख–सुविधा छाडेर निर्वाचनको मैदानमा आउन आह्वान गरेकी थिइन् । उनले शीतल निवास छाडेर बालकोट नै गएपनि हुन्छ भनेर दिएको अभिव्यक्तिका कारण ओली सरकारले उनीमाथि निशाना साँधेको थियो । 

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न ओली सरकारको निर्देशनपछि उनी तत्कालीन सत्तारुढ नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहले गत वर्ष माघ २८ मा राजधानीमा आयोजना गरेको आमसभामा 'प्रतिगमन मुर्दावाद' लेखिएको कालो ज्याकेट लगाएर मुखमा टेप लगाएर मञ्चमा उभिइन्, त्यसपछि प्रतिगमन लेखिएको कालो ज्याकेट फालिन् अनि मुखबाट टेप निकालेर भनिन्, ‘बोल्न पाइन्छ । हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ, नागरिकको मुखमा टेप टाँसिएको छैन । संविधान र कानुनी राज्यको खिलाफमा सेटिङ र बन्द अध्याँरा कोठामा भएका षड्यन्त्रको विरुद्धमा बोल्न पाइन्छ ।’

त्यहाँ पनि उनले राष्ट्रपति र तत्कालीन प्रधानमन्त्रीप्रति लक्षित गर्दै भनेकी थिइन्, ‘हामी यहाँ छौं, आज दरबारमा जस्तै रजाइँ गर्नेहरू संघर्षका कठिन दिनमा कहाँ थिए दुनियाँलाई हिसाबकिताब थाहा छ ।’ उनले तत्कालीन प्रधानमन्त्री ओलीलाई जङ्गी कागजी बाघझैं ठूलो बलिदानीसाथ स्थापित भएको गणतन्त्रलाई राष्ट्रपतिसँगको मिलेमतोमा च्यातचुत पार्ने काम भएको भनेकी थिइन् । 

रामकुमारीले लोकतान्त्रिक आन्दोलनमा सडकमा कहिले आफूले लाठी खाएर टाउको फुटाइन् त कहिले दुई–चार इटा सुरक्षाकर्मीलाई पनि वर्षाइन् । तर जे भएपनि लोकतान्त्रिक आन्दोलनमा इँटा थप्ने काम उनले गरिन्, पार्टीमा जुझारु युवालाई राजनीतिमा उत्प्रेरित गर्न झाँक्रीको योगदान छ । 

तत्कालीन ओली नेतृत्वको सरकारले निगरानी बढाएपनि राष्ट्रपतिको आलोचनामा झाँक्री रोकिइनन् । उनले एमालेका पूर्व महासचिव मदन भण्डारीको निधनपछि सेतो सारी बेच्‍ने काम गलत भएको बताएकी थिइन् । यद्यपि उनले कोही व्यक्तिविशेषको नभएर राष्ट्रपति संस्था र उक्त पदको मर्यादा च्यूत भएको सम्बन्धमा मात्र आफूले आपत्ति गरेको बताएकी थिइन् । 

राष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्तिका कारण उनलाई उक्त आमसभाको भोलिपल्ट माघ २९ मा निवासबाटै प्रहरीले धरपकड गरेर हनुमानढोका पुर्‍याएको थियो । एउटै पार्टीको सरकारले आफूविरुद्ध बोलेको भन्दै आफ्नै पार्टीको नेतालाई पक्राउ गरेको यो अनौठो घटना थियो । यद्यपि उनलाई सोही दिन रिहा गरियो । 

गत वर्ष फागुन २३ को सर्वोच्चको फैसलापछि एमालेमा दुई लाइनको संघर्ष कायमै थियो । तर माधव नेपालको समूहमा रहेका भनिएका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण विष्ट, युवराज ज्ञवाली, रघुजी पन्त, भीम आचार्य लगायतले ओलीसँगै रहने निर्णय गरेपनि रामकुमारीले दृढताका साथ नेपाललाई साथ दिएर नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टी निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेकी छिन् । माधव नेपाललाई साथ दिन वचनवद्ध रहेर एमालेभित्र दुई लाइनको संघर्ष चर्काइरहेका १० स्थायी कमिटी सदस्य नेपालको पार्टीमा आउन अस्वीकार गरेकाले पनि अहिले रामकुमारी झाँक्री लगायतका नेताहरूको सत्तारोहणको बाटो खुलेको हो । 

यो पनि पढ्नुहोस् 
३१ वर्षपछि एमालेसँग माधव नेपालको डिभोर्स