अध्यादेश औपचारिक रुपमै फिर्ता

काठमाडौँ : सत्तारुढ दलभित्रबाटै चर्को विरोध भएपछि मन्त्रिपरिषद् बैठकले विवादित अध्यादेश फिर्ता लिने औपचारिक निर्णय गरेको छ । सत्तारुढ नेकपाको स्थायी समिति बैठकले निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद्को बैठक राखेर त्यस्तो निर्णय लिएका हुन् । उनले प्रक्रियाको लागि मात्र बैठक बोलाएका हुन् ।मन्त्रिपरिषद्काे नियमित छलफलसँगै अध्यादेशको विषयमा पनि निर्णय भएको हाे । यो निर्णयसँगै राष्ट्रपति मार्फत अध्यादेश फिर्ता हुने प्रक्रिया अघि बढ्ने छ ।
उनले मन्त्रिपरिषद् बैठकअघि संवैधानिक परिषदकै बैठक बोलाएका थिए । उनले उक्त बैठक बोलाएलगत्तै नेकपाभित्र बुधबार स्थायी समितिमा भएको सहमति प्रधानमन्त्रीले लत्याएको सन्देश गएको थियो । उक्त सन्देशसँगै प्रधानमन्त्रीले आफूले त्यसो गर्न नचाहेको तर गलत सन्देश गएको भन्दै मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीले गत बैशाख ८ मा पनि अध्यादेश ल्याएर चौतर्फी विरोधपछि १२ वैशाखमा फिर्ता गरेका थिए । अहिले पनि अध्यादेश ल्याएको २४ घण्टा बित्न नपाउँदै फिर्ता ल्याउने बताए भने ४८ घण्टा नहुँदै फिर्ता लिने औपचारिक निर्णयमा पुगे । यसरी संविधानको धारालाई गलत रूपमा प्रयोग गरिरहेको भन्दै सर्वत्र प्रधानमन्त्रीको आलोचना भएको छ ।
मन्त्रिपरिषद्लाई समेत जानकारी नदिईकन ल्याएको भन्दै मन्त्रीहरुले नै प्रधानमन्त्रीको बाहिर आलोचना गरेका थिए । तर, मन्त्रिपरिषद् बैठकमा लामो बहस भएपनि अध्यादेशको विषयमा लामो छलफल भएन । ओलीले आफूले फिर्ता लिएको भन्दै यसमा जानकारी गराउनुपर्ने विषय नभएको बताएको एक मन्त्रीले जानकारी दिए । प्रक्रियागत ढंगले फिर्ता हुने अर्का एक मन्त्रीले बताए ।
स्थायी समिति सदस्य एवं नेकपाका प्रभावशाली नेता भीम रावलले पार्टीमा गलत प्रक्रिया हावी भएकाले त्यसलाई विधिमा ल्याउन सबै सक्रिय रहेको बताए । ‘पार्टी विधि र विधानमा अडेर अघि बढ्नुपर्छ,’ रावलले बिहीबार इकागजसँग भने, ‘कसैको ब्यक्तिगत चाहनामा पार्टी अघि बढाउनु हुँदैन ।’
‘पहिलो, पार्टीको आन्तरिक समस्याबारे बैठकमा निष्कर्ष खोज्ने प्रयत्न गर्नेछौं । अर्को, संसद अधिवेशन बोलाउनुपर्छ भन्ने माग हो,’ उनले भने, ‘संसद अधिवेशन संवैधानिक बाध्यात्मक रुपले बाटोको म्याद दिंदै केही दिनभित्रै बोलाउनुपर्ने हुन्छ नै ।’
यसअघि प्रधानमन्त्रीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा गफिदै आफूले बैठक बोलाउनुको कारण समापान गर्ने र मन्त्रिपरिषद् बोलाएर निर्णय लिने सोच राखेको जानकारी दिएका थिए । तर, सहमति अनुरुप नभई आफ्नो ढंगले अघि बढ्न खोजेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीको चर्को आलोचना गरेका थिए ।
‘आजको बैठक मैले हिजोको बैठकको समापन गर्न बोलाएको तर विवाद आएपछि रोकेको हुँ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै पार्टी स्रोतले भन्यो, ‘कुनै अनर्थ निर्णय लिनु थिएन तर यसलाई बढी नै उचालियो । अब मैले मन्त्रिपरिषद् राखेर निर्णय लिन्छु । फिर्ता लिनुअघि म राष्ट्रपतिसँग भेट्छु ।’
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीले जथाभावी गर्ने र पछि हट्ने जस्ता कार्यले पार्टीप्रति जनताको मोह भंग हुँदै जाने हुनाले यस्तो कार्य गर्ने कुनै अधिकार अध्यक्षलाई नभएको बताए । जनताले नेकपाले केही गर्ला भन्ने धारणा सहित यो तहको जिम्मेवारी दिएकाले त्यसमा तुषारापात गर्न नहुने बताए ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया