रेशम चौधरीको जन्मकैद फैसला सदर, छुटेका लक्ष्मणलाई पनि जन्मकैद

कैलाली : टीकापुर घटनाका मुख्य योजनाकार भनिएका संघीय सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय गरेको जिल्ला अदालत कैलालीको फैसला उच्च अदातल दिपायलले पनि सदर गरेको छ । उच्च अदालत दिपायलले बिहीबार चौधरीसहित सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालतको आदेश सदर गरेको हो । उच्च अदालतले तीन वर्ष कैद भुत्तान गरेर रिहा भएका लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।
न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा यस्तो फैसला सुनाएको हो । इजलासले प्रतिवादीहरु रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीलाई जन्मकैदको सजाय गर्ने जिल्लाको फैसला नै सदर गरेको हो ।
अदालतले उनीहरुलाई सातै जनालाई ज्यान मार्ने उद्योगमा समेत ५ वर्ष कैद सजाय सुनाएको छ । डाँका मुद्दामा समेत सजाय गरिपाउँ भन्ने सरकारको पुनरावेदन भने उच्च अदालतले खारेज गरेको छ । एक बालकसहित आठ जनाको ज्यान लिनेगरि उक्त घटना २०७२ भदौ ७ गते भएको थियो । जिल्ला अदालतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो ।
यस्तै अदालतले सन्तोष चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई जनही १० वर्षको सजाय सुनाएको छ । जिल्लाको फैसला उल्ट्याउदै अदालतले उनीहरुलाई १० वर्षको सजाय गरेको हो । ज्यान मार्ने उद्योगमा समेत पाँच वर्ष सजाय तोकिएको छ ।
अदालतले नाबालक श्रवणकुमार चौधरीलाई जन्मकैदको आधा सजाय हुनेगरी जिल्ला अदालतले गरेको फैसला पनि सदर गरेको छ । प्रतिवादी सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियालाई अदालतले जनही पाँच वर्षको कैद सजाय सुनाएको छ ।
यस्तै रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रमेबहादुर चौधरीलाई पनि अदालतले जनही पाँच वर्ष कैद सजाय सुनाएको छ । अदालतले चुन्नीराम चौधरी र रामकुमार कठरियालाई जनही तीन वर्ष सजाय हुने जिल्ला अदालतकै आदेश सदर गरेको छ । उच्चले यसअघि जिल्लाले दोषी ठहर गरेका विश्राम चौधरीलाई भने अभियोगबाट सफाइ हुने फैसला गरेको छ ।
रामनरेश चौधरी, तहाँबर अलीलाई सफाइ दिने जिल्लाको फैसला पनि उच्चले सदर गरेको छ । यस्तै, नाबालक करण चौधरीलाई ६ महिना कैद सजाय हुनेगरि जिल्ला अदालतले गरेको फैसला समेत अदालतले सदर गरेको छ । यसअघि जिल्ला अदालतले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । यस्तै १२ जनालाई तीन वर्ष, एक जनालाई ६ महिना र अभियुक्तमध्ये तीन जनाले सफाइ पाएका थिए ।

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा

घाँटीमा मासु अड्किएर कुँवरको मृत्यु

विसु पर्व नजिकिएसँगै चहलपहल बढ्यो

युवालाई दमाहा बजाउने कला सिकाइँदै

डढेलो लाग्न नदिन उच्च सतर्कता

प्रतिक्रिया