बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

‘सरकारले जारी गरेको अध्यादेश संविधानको मर्मविपरीत’, तत्काल फिर्ता गर्न कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले जारी गरेको संवैंधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरित रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले बताए ।

‘सरकारले संवैधानिक परिषद् सम्बन्धी जुन अध्यादेश ल्याएको छ, यो संविधानको भावना र मर्म विपरित छ,’ उनले भने, ‘संविधानको व्यवस्था र भावना, मर्म  विपरित ल्याएको अध्यादेश तत्कालै सरकारले फिर्ता लेओस् । संविधानको व्यवस्थामाथि कुनै खेलवाड नगरोस् । यो स्वीकारयोग्य छैन । फिर्ता हुनुपर्छ ।’

त्यसैगरी संसदको अधिवेशन बोलाउने बेला भइसक्दा पनि सरकारले अधिवेशन बोलाउन चासो नदेखाएको प्रमुख सचेतक खाडको भनाइ छ । बैठकले संसद अधिवेशन अबिलम्ब बोलाउन समेत माग गरेको बताए । उनले भने, ‘अबिलम्ब जनताको समस्याहरूलाई छलफल गर्नका लागि, जनतालाई भरोसा र विश्वास दिलाउनका लागि, सरकारको क्रियाशिलताका निम्ति सदनको अधिवेशन अबिलम्ब बोलाउनुपर्छ ।’

बैठकले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष समेत निकालेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापनमा सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ । कोरोना नियन्त्रणको नाममा अनियमितता गर्नेहरूलाई कारबाही गर्न पनि बैठकले माग गरेको छ । 

यसैगरी उखु किसानले भुक्तानी नपाएर गरिरहेको आन्दोलनमा नेपाली कांग्रेसले समर्थन गर्ने निर्णयसमेत बैठकले गरेको उनले बताए । उखु किसानको आन्दोलनलाई सरकारले गम्भिरतापूर्वक ध्यान दिनुपर्ने पनि उनको भनाइ छ । ‘उखु किसानले लामो समयदेखि भुक्तानी पाएका छैनन् । किसान प्रताडित भएर धर्ना बसिरहेका छन् । उखु किसानले गरेको आन्दोलनको समर्थन गर्दछौँ । आन्दोलनलाई सरकारले ध्यान देओस् र किसानले उखुको भुक्तानी पाउन् । सरकारले गम्भिरताका साथ प्रयत्न गरोस् ।’

बैठकले केही समयअघि मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं. १ स्थित सरस्वती आधारभुत विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्या भएको घटनालाई निन्दनिय र दुखद घटना भन्दै भत्र्सना गरेको छ । यस्ता हिंसात्मक घटनालाई रोक्दै दोषी उपर कारबाही गर्न बैठकले माग गरेको छ । प्रमुख सचेतक खाडले भने, ‘कुनै पनि नागरिकलाई, जनतालाई कसैले पनि कुनै पनि बाहानामा जीवनमाथि आक्रमण गर्न पाइदैनँ । हत्या, हिंसा गर्न पाइदैन । यस्तो हिंसात्मक घटना रोकियोस् र श्रेष्ठको हत्या गर्नेलाई सरकारले कारबाहीको दायराभित्र ल्याओस् ।’