मेची र कोसी राजमार्ग आंशिक रुपमा सुरु
विराटनगर - बाढी र पहिरोका कारण अवरुद्ध भएका प्रदेश १ का दुई मुख्य राजमार्ग मेची र कोसी राजमार्ग आंशिक रुपमा सुचारु भएका छन् । मेची राजमार्ग अन्तर्गत पाँचथर–ताप्लेजुङ खण्ड बिहीबारदेखि आंशिक रुपमा सुचारु भएका हुन् ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहित चारवटा स्काइभेटरको सहायताले अवरुद्ध भएको पाँचथर सदरमुकाम फिदिमदेखि राँकेसम्मको सडकखण्ड खुलाइएको जानकारी दिए । मेची राजमार्ग अन्तरगतकै पाँचथरदेखि इलामको रक्सेसम्मको सडक भने खुल्न बाँकी रहेको जनाइएको छ ।
मेची राजमार्ग झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म पर्दछ । बैकल्पिक सडक नहुँदा ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथिभरा जाने र फर्किने सयौं तिर्थालुहरु ताप्लेजुङ सदरमुकाम फुङ्लिङ लगायतका स्थानमा अलपत्र परेका छन् । पाँचथर–रक्से खण्डको पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । अहिलेपनि प्रहरीसहितको टोली परिचालन गरी सडक अवरोध हटाउने काम भइरहेको जनाइएको छ ।
यसैगरी धनकुटाको मुलघाट नजिकैको लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका–६ मा सडक बगाउँदा अवरुद्ध भएको कोसी राजमार्ग अन्तरगतको धरान–धनकुटा सडक ३० घण्टापछि एकतर्फी खुलेको छ । लेउती खोलाको बाढी घटेका कारण खोलाको बगरबाट डाइभर्सन तयार गरी एकतर्फी सडक खुलाइएको जिल्ला ट्राफिक कार्यालय धनकुटाले जनाएको छ ।
अविरल बर्षापछि लेउती खोलामा आएको बाढीले करीव दुई सय मिटर सडक बगाएको थियो । बाढीले सडक बगाउँदा धनकुटा हुँदै भोजपुर, तेह्रथुम र संखुवासभा जोड्ने एकमात्र कोसी राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको थियो । खोलामा पानी घटेका कारण बिहीबार पनि स्काईभेटरको सहायताले सडक मर्मतको काम भइरहेको र एकतर्फी रुपमा पालो गरेर सवारी साधनहरुलाई आवत जावतको व्यवस्था मिलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख दिपक खड्काले बताए ।
गत सोमबार साँझदेखि भएको अविरल वर्षाका कारण कोसी राजमार्ग अन्तरगत धनकुटा सडक खण्डको गर्जुवा, रुद्रबारी, त्रिसुले लगायत स्थानमा पहिरो खसेको थियो । ती स्थानको पहिरो पन्साइसकेको जनाइएको छ ।
बाढी पहिरोका कारण प्रदेश १ को तमोर करिडोर र मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । पहिरोले सडक अवरुद्ध हुँदा दसैं मानेर घर फर्किनेहरु समेत बाटोमै अलपत्र परेका छन् ।
सुनसरी खोलाको बाढी पसेर करिब तीन किलोमिटर जलमग्न बनेको पुर्वपश्चिम राजमार्गको इनरुवा–भाण्टाबारी सडक समेत पूर्णरुपमा सुचारु भएको छ । बाढीले रागमार्गमा गुडिरहेको बस समेत बगाएको थियो । दर्जनौं सवारी साधन पानी पसेर बिग्रिएका छन् । बस्तीतर्फ बसेको सुनसरी खोला राजमार्गले थुनिंदा आसपासका सयौं घर डुबानमा परेका थिए ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया