श्याम कलेज पढ्न छोडेर देउरालीमा खेल्न गएपछि मात्र मान्छे बनेँ

हामी केही केटाहरूलाई तास खेल्ने खुब नशा लागेको थियो । यो कक्षा ९ मा पढ्ने बेलातिरको कुरा हो । त्यतिखेर सल्यान खलंगा बजारमा हाम्रो तास खेल्ने ठाउँ थियो, श्याम श्रेष्ठको घर । जसलाई हामी ‘श्याम कलेज’को नामले पुकार्थ्यौं ।
हामीले त्यहाँ आफूले जाने जति तासको कुनै पनि खेल खेल्न सायद बाँकी राखेनाँै । जुटपत्तीबाहेक साइटिङ, फुट्टी, खिचौला, किट्टी, कलब्रेक, सत्र खाने, टाउके फ्रान्स, चल्ने फ्रास, फेडल, पप्लु, धम्बल, म्यारिजदेखि लिएर रिट्ठा कौरी र कहिलेकाहीँ त बाघे कौरीसमेत हानिन्थ्यो श्याम कलेजमा ।
शनिबार, सार्वजनिक बिदाको दिन र स्कुलको लामो छुट्टीमा त हामी बिहानदेखि बेलुकासम्म फुल ड्युटी र ओभरटाइम जस्तै गरी तास खेल्थ्यौँ । स्कुल गएका बेलामा तास खेल्न नपाएको त्यति हुटहुटी लाग्दैन थियो तर छुट्टीको दिन तास खेल्न गएका बेला त्यहाँ दुर्भाग्यवश सिट नपाइएको खण्डमा त प्राण नै फुस्केला जस्तो हुन्थ्यो ।
कोही खेलाडी टाट पल्टेर घर गए हुन्थ्यो जस्तो लाग्थ्यो । एक दिन फेरि त्यस्तै भयो । बेलुकाको सिफ्ट भ्याइन्छ कि भनी हतारहतार श्याम कलेजमा पुगेँ तर सबै सिट प्याक भइसकेको रहेछ । तास खेल्न पाइएन । कोही टाट पनि भएन । अरू खेलेको कति हेर्नु भनेर श्याम कलेजबाट निस्किहालेँ ।
घर नजिकै देउराली पुस्तकालय थियो । नजिकको तीर्थ हेलाँ भने जस्तै त्यहाँ कहिल्यै पाइला टेकिएको थिएन । तास खेल्न नपाएको झोँक एकातिर थियो । त्यो दिन किन-किन अनायासै पाइलाहरू पुस्तकालयतर्फ मोडियो । त्यो दिन लाइब्रेरियन प्रमोद राजभण्डारी अंकलसँग एउटा कुनै पुस्तक घर लगेर पढ्न पाइन्छ कि ? भनेर सोधेँ । तर पुस्तकालयको सदस्यलाई मात्र पुस्तक घर लग्ने अनुमति रैछ । उहाँले ममाथि विश्वास राख्दै पढिसकेपछि फिर्ता गर्ने सर्तमा एउटा किताब लैजाऊ न त भनेर सुझाउनु भयो । त्यसपछि एउटा उपन्यास लिएर घर आएँ ।
मैले जीवनमा किताबको कोर्सभन्दा बाहिरको पढेको त्यो उपन्यासको नाम थियो, युधीर थापाको ‘झरनाको मीठो पानी’ । त्यो उपन्यास पढ्दै जाँदा कुनै रोमान्टिक फिल्म हेरे जस्तो लाग्यो । त्यसपछि उपन्यास पढ्ने नशा यस्तो लाग्यो कि तासको तलतललाई साँच्चै भन्नुपर्दा बिर्साइदियो । अनि के थियो र पुस्तकालयमा भएका प्रायः रोमान्टिक र जासुसी उपन्यासहरू सधैँजसो पढ्न थालियो । घरमा पनि बुवा-आमालाई तुफान त कोठामा बसेर पढिराछ भन्ने लाग्थ्यो तर म भने तिनै उपन्यासको कहानीभित्र मगनमस्त हुन्थेँ ।
उपन्यास पढ्ने सिलसिला जारी थियो । एकदिन पुस्तकालयमै बसेर उपन्यास छानिरहेको थिएँ । केही प्रौढहरू आएर लाइब्रेरियन प्रमोद अंकललाई ‘लुकेको समाज’ र ‘नीलो चोली’ उपन्यास छ ? भनेर सोधिरहेका थिए । उहाँले सबैलाई छैन, अरू कसैले लगेको छ भनेर भन्नुहुन्थ्यो ।
तास खेल्न नपाएको झोँक एकातिर थियो । त्यो दिन किन-किन अनायासै पाइलाहरू पुस्तकालयतर्फ मोडियो ।
म भने आश्चर्यचकित थिएँ । यति धेरै जनाको डिमान्ड भएको त्यो उपन्यासमा खासमा त्यस्तो के चिज छ ? मन बेचैन भयो । तब भनेँ, ‘अंकल त्यो उपन्यास फिर्ता आयो भने मलाई पनि दिनु होला है ।’ उहाँले भन्नुभयो, ‘हैट्, तिमीहरूले पढ्ने उपन्यास होइन त्यो ।’ उहाँको यस्तो भनाइले मन झनै उत्सुक भयो त्यो उपन्यास पढ्ने । तर अफसोच कहिल्यै हात परेन । हिजोआज पनि सोच्ने गर्छु खासमा त्यो ‘लुकेको समाज’ र ‘नीलो चोली’ उपन्यासभित्र त्यस्तो कुन चिज थियो, जुन हामी बालकले पढ्नु हुँदैन थियो ?
तास खेल्ने लत त छुटिसकेको थियो तर उपन्यास पढ्ने नशाले भने नराम्ररी गाँजेको थियो । एक-कान दुई-कान मैदान भने जस्तै बुवाको कानमा पनि यो कुरा पुगिसकेको रैछ । ९ कक्षाको परीक्षा पनि नजिकै आउँदै थियो । कोर्सको किताब पढ्नुभन्दा ध्यान तिनै उपन्यासमै हुन्थ्यो । एक दिन बुवाले बोलाएर भन्नुभयो, ‘तुफान, खुब मिहेनत गरेर पढिराछस् त’ । ‘पढ्नै पर्यो नि बुवा, जाँच आइसक्यो ।’ मैले यत्ति भन्नासाथ बुवाले एक झापड हान्दै, ‘साले बिहानदेखि रातिसम्म फाल्तु उपन्यास पढेर बस्ने अझ जाँच आइसक्यो भन्छस् ?’ बुवाको त्यो व्यंग्यात्मक प्रश्न र जोडदार प्रहारसँगै उपन्यास पढ्ने तलतल पनि सदाका लागि स्खलित भयो ।
त्यसपछि मैले उक्त पुस्तकालयमा साहित्यिक कृति पढ्न थालेँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ मैले पढेको पहिलो कृति थियो । लगत्तै भैरव अर्यालको ‘जयभुँडी’, गुरुप्रसाद मैनालीको कथासंग्रह ‘नासो’, बालकृष्ण समको ‘प्रेमपिण्ड’, डायमनशमशेर राणाको ऐतिहासिक उपन्यास ‘वसन्ती’ र ‘सेतो बाघ’जस्ता धेरै कृति पढियो । यस्ता पुस्तकहरूले मन साह्रै आनन्दित बनाउँथ्यो ।
बिस्तारै पुस्तकालयमा प्रेरक पुस्तक, महान् व्यक्तिहरूको जीवनी साथै उनीहरूका प्रेरक भनाइ समेटिएका पुस्तक पनि आउन थाल्यो । ती पुस्तकहरूले त झनै मेरो मन लोभ्यायो । पुस्तक पढ्दापढ्दै मनमा गुने पनि ‘सानो घटनाले पनि मान्छेको जीवन बदलिन सक्छ’ मलाई उक्त पुस्तकालयमा पढेको वुध्दको जीवन दर्शनले धेरै प्रेरित गर्यो । ईश्वरको मृत्यु घोषणा गर्ने नित्सेदेखि ‘असम्भव भन्ने कुरा मूर्खको डायरीमा हुन्छ’ भन्ने नेपोलियन बोनापार्टसम्मका कुरा त्यही देउराली पुस्तकालयमा पढियो ।
तर समय सधैँ एकनासको कहाँ हुन्छ र ? एसएलसीको परीक्षापछि उच्च शिक्षा अध्ययनका लागि म काठमाडौं गए । त्यो पुस्तकालयमा बिताएको क्षणलाई मैले काठमाडौँमा साहै्र मिस गर्थें । सल्यान छोड्नुअघि प्रेरक पुस्तक पढ्ने जुन रहर त्यो पुस्तकालयले जगाइदिएको थियो त्यसलाई मैले काठमाडौँमा पनि निरन्तरता दिएँ ।
हिजोआज पनि सोच्ने गर्छु, खासमा त्यो ‘लुकेको समाज’ र ‘नीलो चोली’ उपन्यासभित्र त्यस्तो कुन चिज थियो, जुन हामी बालकले पढ्न हुँदैन थियो ?
कलेज छुट्टी भएका बेला र दसैँ-तिहारमा सल्यान जाँदा पुस्तकालयमा गएर अध्ययन गर्ने यात्रामा कहिल्यै पनि पूर्णविराम लागेन । काठमाडौँमा पछि मैले कान्तिपुर साप्ताहिकमा ‘प्रेरणाको बिन्दु’ स्तम्भमा नियमित रूपमा आफूले संकलन गरेका धेरै प्रेरक प्रसंग प्रकाशित गरेँ । जुन स्तम्भमा मैले आफ्नो ठेगाना दिन्थेँ, ‘तुफानबाबु श्रेष्ठ, देउराली पुस्तकालय रोड, खलंगा सल्यान ।’ हाम्रो टोललाई ‘हनुमान स्थान’ भनिन्थ्यो तर म त्यो ठाउँलाई ‘देउराली पुस्तकालय रोड’ भन्दा गर्वको अनुभूति गर्थें । सायद हनुमान स्थानलाई देउराली पुस्तकालय रोड नामकरण गर्ने पहिलो व्यक्तिमै थिएँ ।
२०३३ सालमा स्थापना भएको आफूभन्दा पनि जेठो यति लामो इतिहास बोकेको देउराली पुस्तकालय कालान्तरमा यसरी धराशयी हुन पुगेको देख्दा मन साह्रै पिरोलिएर आउँछ । एकाध वर्ष गैराघर कालु ‘उत्सव’ले पनि लाइब्रेरियनका रूपमा उक्त पुस्तकालय सञ्चालन गरेका थिए । तर पहिलाको जस्तो चार्मिङ त्यहाँ कत्ति पनि थिएन ।
बिस्तारै उत्सवको त्यो पहल पनि निरर्थक साबित भयो । जिल्लाको सदरमुकाममा स्थापित भइसकेको एउटा पुस्तकालय चल्न नसक्नु दोष कसको थियो ? यो कुरा बहसको विषय होला । तर नयाँ जोस-जाँगर र उचित व्यवस्थापनका साथ पुस्तकालय चलाउने हो कि भन्ने जोसमा म आफैँ छु । मेरो स्मृतिको कुनामा रहिरहेको देउरालीलाई सम्झाउने विपिन आचार्य भाइ, जसले यही अनलाइन पत्रिकामा सल्यानका शिक्षासेवी रोका सरबारे मरीचमानले टिकाएका, माओवादीले लखेटेका सल्यानका रोका सर लेख लेखेका थिए । हामी सल्लाह गर्दै छौं, सायद मूर्त रूप लिन सक्ला कि !
‘साले बिहानदेखि रातिसम्म फाल्तु उपन्यास पढेर बस्ने अझ जाँच आइसक्यो भन्छस् ?’ बुवाको त्यो व्यंग्यात्मक प्रश्न र जोडदार प्रहारसँगै उपन्यास पढ्ने तलतल पनि सदाका लागि स्खलित भयो ।
हाल म विश्वमै नाम कमाएको सामाजिक संस्था रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल-भुटानको विभिन्न सेन्ट्रल कमिटीमा आबध्द छु । विशेषगरी रोटरी नेपाल लिट्रेसी मिसन रिजन-६ कै हाल म कमिटी मेम्बर छु । यसको नाताले अनि खासमा उक्त पुस्तकालय जसले मलाई मान्छे भएर बाँच्ने प्रेरणा दियो साथै प्रेरक संसारमा प्रवेशको पहिलो पाइला हिँडाएको थियो, आज मेरो त्यही गुरु मौन र बेवारिस रहेको देख्दा एक शिष्यका रूपमा म भावुक पनि भएको छु । आउनुस्, सबै जना मिलेर देउराली पुस्तकालयलाई पुनर्जीवन दिऔं र सल्यान जिल्लाकै एक नमुना पुस्तकालयका रूपमा स्थापित गरौँ ।
‘श्याम कलेज’मा तास पढ्न छोडेर जब म शब्दसित खेल्न देउराली छिरेँ, अनि म बल्ल मान्छे भएँ । के अब मेरो गाउँमा देउरालीहरू बन्द भएर श्याम कलेजहरू मात्र चलिरहेका त छैनन् ? कलेज चलिरहनु, देउरालीहरू बन्द हुनुमा गच्छेअनुसार मेरो पनि दायित्व हुन सक्छ । सहुँला, बुझाऊँला ! (तुफानबाबु दाङमा रहेर १७ वर्षदेखि प्रेरक रेडियो कार्यक्रम ‘शान्त तलाउ’ प्रस्तुत गरिरहेका छन् । उनको सम्पादनमा ‘एक सय एक प्रेरक प्रसंग’ नामक पुस्तक प्रकाशन हुँदै छ ।)

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पित

पिताको सम्झनामा सत्यराजले ल्याए पहिलो साहित्यिक कृति ‘१४ फागुन’

प्रतिक्रिया