वर्तमान राष्ट्रपतिलाई पूर्वराष्ट्रपतिका तीन सल्लाहकारको सुझाव : माफी मागौँ, मयार्दामा बसौँ

काठमाडौँ : अध्यादेश प्रकरणसँगै पूर्वराष्ट्रपतिका तीन सल्लाहकारले ‘राष्ट्रपति संवैधानिक र नैतिक संकटभित्र परेको' धारणा व्यक्त गरेका छन् । राष्ट्रपतिले गल्ती स्वीकारी माफी माग्दै भएका गल्तीको समीक्षा गर्दा संस्थाको वजन बढ्ने उनीहरुको विचार छ ।
कुनै पनि अध्यादेशलाई संसद्बाट पारित विधेयकको शैलीका रूपमा हेरिनु हुँदैनथ्यो । राष्ट्रपतिले केही न केही छलफल चलाइनुपर्थ्यो । केही समय चिस्याउने समय लिनुपर्थ्यो- उनीहरू भन्छन् । पहिलो राष्ट्रपति डा. रामवरण यादवको सात वर्षे कार्यकालमा सल्लाहकार रहेका राजनीतिशास्त्री एवं विश्लेषक डा. हरि शर्मा, संविधान विद डा. सूर्य ढुंगेल र वरिष्ठ पत्रकार राजेन्द्र दाहालसँग इकागजले सम्पर्क गर्दा समान धारणा पाइयो । उनीहरु भन्छन्- नारायणहिटीको अन्त्यसँगै त्यही तहमा जनतालाई पुर्याउने गरी राष्ट्रपतिको संरचना तय भएको हो । यसको गरिमामा असाध्यै ध्यान दिनुपर्छ ।
यी तीनै सल्लाहकार पहिलो राष्ट्रपतिको पदको गरिमालाई विवादित बन्न नदिन अर्थात् नेपालले अंगिकार गरेको नयाँ व्यवस्था गणतन्त्रप्रतिको सम्मान जगाउन सक्रिय थिए । अध्यादेश प्रकरणमा राष्ट्रपति विवादमा पर्नु दु:खद् रहेकोे बताउँदै यहाँ तीन जना पूर्वसल्लाहकारले नयाँ राष्ट्रपतिलाई सम्यक् सल्लाह दिएका मात्र छैनन्, राष्ट्रपति संस्थाको भूमिका र गरिमा पुन:स्मरण गराएका छन् :
छलफल चलाएर सरकारलाई नै प्रश्न गर्न सक्नुपर्थ्यो : हरि शर्मा
हो, राष्ट्रपतिकहाँ अध्यादेश पुग्छन् । त्यसमा लाहछाप लगाउनुअघि अध्ययन, छलफल गरिनुपर्थ्यो । त्यसमा गडबडी भए एकपटक सरकारतिरै फर्काउँदै सन्तुष्ट भएपछि निर्णय लिनुपर्थ्यो । त्यसो गर्दा मात्र राष्ट्रपतिको अभिभावकत्व देखिन्छ । राष्ट्रपतिलाई सबै नेपालीको एकताको प्रतीक मानिन्छ, भनिन्छ । राज्यको निरन्तरताको प्रतीक पनि राष्ट्रपति हो । सार्वभौम सत्ताको उच्चतम विन्दु हो ।
राष्ट्रपतिले कुनै पनि विषयमा निर्णय लिँदा आफू मुलुकको अभिभावक हुँ भन्ने सवाललाई ख्याल गर्नुपर्छ । संविधानको तीनै निकायको अभिभावकत्व दिने जिम्मेवार र सम्माननीय पद हो, राष्ट्रपति । संसद् बोलाउने र न्यायालयको प्रतिवेदन बुझ्ने काम पनि राष्ट्रपतिकै हो । न्यायमा दण्ड र सजायको अन्तिम निर्णय लिने काम राष्ट्रपतिको हो । त्यसैले त आम माफी त्यहीँबाट हुन्छ । शपथ खुवाउने, क्रेडेन्सियल बुझाउनेदेखि सबै संवैधानिक निकायको नियुक्तिसमेत हुने स्थान हो, शीतल निवास ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको मर्मअनुरुप थिएन । कार्यपालिका, न्यायपालिका र व्यवस्थाका तीनै अंगका प्रमुख, विपक्षी दलका नेता र अझ उपसभामुखसमेत रहने व्यवस्था राखिनु भनेको परिषद्ले राष्ट्रिय आकार ग्रहण गरोस् भन्ने नै हो । तीनवटै अंगलाई पूर्णता दिने संस्था हो, संवैधानिक परिषद् । त्यसविपरीत अध्यादेश जारी गर्ने अनि फेरि फिर्ता गर्ने र फेरि पनि जारी गर्ने कार्यले राष्ट्रपतिमाथि नैतिक प्रश्न खडा गरेको छ ।
अध्यादेश चिस्याउने काम राष्ट्रपतिले गरेको भए राम्रो हुने थियो : डा. सूर्य ढुंगेल
राष्ट्रपति विवादमा परेपछि यसको निराकरणतिर लाग्नुपर्थ्यो । यो विवादले हाम्रो संविधानमाथि प्रश्न उठाउने काम गरेको छ । हामी कतै संविधान असफल पार्नेतिर त लागेका छैनौं ? यस्ता विषय आएपछि राष्ट्रपतिले दुई कोणबाट हेर्नुपर्थ्यो । पहिलो त, यो किन र कुन कारणले आयो ? यसले आगामी दिनमा के असर गर्छ ?
यद्यपि राष्ट्रपतिले मन्त्रिपरिषद्का प्रस्तावमा सहमति जनाउनुपर्छ । तर विवादित विषयमा ‘कुलिङ पिरियड’ उपयोग गर्न सकिन्थ्यो । एक-दुई दिन अध्यादेश ढिला गर्दा राष्ट्रपतिलाई कसैले प्रश्न गर्न पाउँदैन । अभिभावकले अध्ययन र छलफल गर्न सक्छ । सबै निकायको अभिभावक हो, राष्ट्रपति । संवैधानिक राष्ट्रपति भए पनि सबै निकायको अभिभावक पनि राष्ट्रपति नै हो । कार्यपालिकाले गडबड गर्दा त्यसमा राष्ट्रपति कार्यालयले नै अभिभावकत्व दिने हो ।
सरकारको दबाबमा राष्ट्रपतिले संस्थाको मर्यादाका खातिर दबाब निस्तेज गर्न सक्नुपर्छ । राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश कुनै दलको हुँदैनन् । सरकार दलको निर्देशनमा चल्छ त्यसमा जाँच गर्ने भूमिकामा राष्ट्रपति राख्नुपरेको हो । राष्ट्रपतिले रद्द गरिसकेको अध्यादेश फेरि आएपछि कुन कारणले आयो ? यसको उद्देश्य के हो ? त्यसमा राष्ट्रपतिले छलफल गर्नसक्नु हुने थियो । पहिले पनि यसमा गल्ती गरिसकेको हुँदा त्यसैलाई दोहोर्याएर झन् ठूलो गल्ती भएको छ । त्यसैले त यस्ता विषय न्यायपालिकामा पुगेका छन् । म यस्तै संवैधानिक विषयको बहसमा अदालतमा आएर बोल्दै छु ।
राष्ट्रपतिले जनतासँग माफी माग्नुपर्छ र अध्यादेशको जिम्मेवारी संसद्लाई छोड्नुपर्छ : राजेन्द्र दाहाल
अध्यादेशका विषयमा अहिले जसरी बाहिर आयो त्यसलाई राष्ट्रपति कार्यालयले आफ्नो राम्रोसँग सूचना प्रवाह गर्न सकेन । त्यो कार्यालय सूचना प्रवाहमा चुकेको छ । राष्ट्रपति कार्यालयबाट अलिकति पनि औपचारिक सूचना प्रवाह गरेर भएको के हो स्पष्ट पार्ने काम भएको छैन । राष्ट्रपतिका विषयमा जति पनि सूचना, व्यवहार आइरहेका छन् अरु नै स्रोतबाट मिडियाले आफैँ सूचना बनाउन पर्नु त्यहाँ अन्तक्र्रिया नहुनु दु:खद पक्ष हो । राष्ट्रपति कार्यालय जस्तो महत्वपूर्ण संस्थालाई सल्लाह र सुझाव दिने तहको घेरामा पनि उत्तिकै परिपक्वता आवश्यक पर्छ ।
अध्यादेश किन जारी भयो, कून पृष्ठभूमिमा आयो ? त्यसमा राष्ट्रपति कार्यालयले बताएको छैन । राष्ट्रपति कार्यालयले त्यति पनि नसोधेको देखिन्छ । बाहिर आएका सवालमा राष्ट्रपति कार्यालयबाट कुनै जवाफ नदिएको कारण पनि धेरैमा भ्रम स्थापित भएको छ । कुनै दलको छायाँ वा गुटमा राष्ट्रपति रहेको सन्देश प्रवाह भइरहँदा त्यहाँको संयन्त्रले यसलाई कसरी निस्तेज गर्ने र राष्ट्रपतिले पनि धुमिलिएको यो छविमा कसरी सान लगाउने भन्नेमा सोच्न आवश्यक छ ।
राष्ट्रपति सबैको साझा संस्था र मुलुकको अभिभावक हो । यो सम्मानित संस्थाप्रतिको जनताको भरोसा कायम राख्नुपर्छ । जनताको विश्वास र भरोसा कायम राख्न सूचना प्रवाहको महत्वपूर्ण भूमिका हुन्छ । संस्थाको तर्फबाट एकदम ‘प्रोएक्टिभ’ हुँदै सूचना संप्रेषण गर्नुपर्छ । राष्ट्रपतिले एकपटक खारेज गरिसकेको विवादित अध्यादेश फेरि किन आयो भन्नेमा छलफल चलाउनुपर्थ्यो ।
सरकारलाई फिर्ता गरेर सोध्न सक्नुपर्थ्यो । त्यसो नहुँदा राष्ट्रपतिमाथि प्रश्न उठेको हो । वर्तमान राष्ट्रपतिले जानेर या नजानेर के हो, थाहा छैन । तर गल्ती महसुस गर्नु आवश्यक छ । राष्ट्रपतिले आम जनतासमक्ष माफी माग्दै अब यो अध्यादेश संसद् (जनप्रतिनिधिमाझ) नै छोड्नुपर्छ । अनावश्यक भए त्यही निस्तेज हुनेछ । पटक पटक जारी र फिर्ताले संस्थाको औचित्य समाप्त हुनेछ । संसद्बाट आएका विधयेकझैँ स्वाट्टै पास गर्ने विषय अध्यादेश होइन ।

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो

कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक

प्रतिक्रिया