सरकारसँग मिलेर ट्राभल एजेन्सीमार्फत सिम्रिक र माउन्टेनको मनपरी भाडा असुली
यात्रुसँग ३२ हजार असुल्ने स्थानीय सरकारसँग ५ सय रुपैयाँ बुझाउने सम्झौता

काठमाडौँ- प्रदेश-१ को धरानबाट तिर्थयात्रीलाई ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गराउन हेलिप्याड नभएको ठाउँबाट सिम्रिक र माउण्टेन हेलिकप्टरले हेलिप्याड निर्माण नगरी उडान भरिरहेका छन् । धरान उपमहानगरपालिकाले हेलिप्याड निर्माण नगरेकाले रंगशालाको मैदानमा हेलिकप्टरलाई उडान भर्न अनुमति दिएको छ ।
हेलिकप्टरको उडान व्यवस्थापन गरिरहेको धरान होलिडेजसँग २५ उडान भरेपछि मात्र शुल्क लिनेगरी उपमहानगरले सम्झौता गरेको छ । ट्राभलले एक यात्रुसँग ३२ हजार शुल्क असुल्ने तर, स्थानीय सरकारलाई ५ सय रुपैयाँ तिर्ने गरी सम्झौता भएको पाइएको छ । धरान क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले उडान अनुमति दिए पनि उपमहानगरले अहिलेसम्म राजश्व बापतको रकम पाएको छैन ।
स्थानीय क्षेत्रमा खुलेका विभिन्न ट्राभल एजेन्सीहरूले एयरवेज कम्पनीसँग सम्पर्क गरी बिना मापदण्ड उडान भराउने व्यवस्था गरेका हुन् । धरान होलिडेज, एरिना ट्राभल एजेन्सीको र उपमहानगरको संयोजनमा हेलिकोप्टर कम्पनीले उडान भरिरहेका छन् । तर, केही दिनयता परेको लगातारको वर्षा तथा खराब मौसमको कारणले उक्त कम्पनीको उडान स्थगित भएको छ ।
व्यवसायिक उडान गर्न हेलिप्याड प्रयोग गर्नुपर्ने हुन्छ । ती दुवै कम्पनीले हेलिप्याडको प्रयोग गरेका छैनन् । व्यवसायिक सिजनल उडान गर्न पनि ती दुवै कम्पनीले उडान अनुमति समेत नलिएको पाइएको छ । सिजनल उडान गर्दा दूर्घटना भएमा सम्बन्धित उडान कम्पनी र पाइलटले जिम्मा लिनुपर्ने हुन्छ ।
नागरिक उड्डयन प्राधिकरणको बिना अनुमति खाली मैदानलाई अस्थायी हेलिप्याडको रुपमा प्रयोग गरिएको पाइएको छ । अस्थायी व्यवसायीक उडान गर्नलाई प्राधिकरणसँग अनुमति लिनुपर्ने व्यवस्था छ ।
उपमहानगरपालिकाले समयमा हेलिप्याड निर्माण नगर्दा खेलकुद मैदान प्रयोग गर्न अनुमति दिएको छ । विगत वर्षमा पनि ट्राभल एजेन्सीहरूले उडान भरेकाले यसपटक पनि उडान भर्न उपमहानगरले स्थान उपलब्ध गराएको हो ।
सिम्रिकको हेलिकप्टरले घटस्थापनादेखि उडान भर्न सुरु गरेको थियो। धरान होलिडेजको व्यवस्थापनमा पाथिभरा दर्शनका लागि सिम्रिक एयरले खेलकुद मैदान रंगशालाबाट उडान भरेको थियो । त्यसको केही सातापछि एरिना होलिडेजको व्यवस्थापनमा माउण्टेन एयरलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेलिप्याडलाई प्रयोगको व्यवस्था मिलाएको थियो ।
प्रतिष्ठानभित्रबाट रहेको अस्पतालको अस्पताल हेलिप्याडलाई प्रयोग गरी माउण्टेन एयरले उडान भरेको थियो । अस्पताल र शैक्षिक संस्थको ५ किमीको दूरीमा ध्वनी प्रदुषण गर्न नपाइने व्यवस्था छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रबाट माउण्टेनले व्यवसायिक उडान भरेको थियो ।
अहिले भने दुवै कम्पनीका हेलिकोप्टरले रंगशालाको मैदान प्रयोग गरिरहेका छन् । हेलिप्याडबिना र सरकारी मापदण्ड उल्लघंन गरी निरन्तर व्यवासायिक उडान भरिरहेका छन् । अस्थायी व्यवसायिक उडान भर्नका लागि ती दुवै कम्पनीले प्राधिकरणसँग अनुमति नलिएको पाइएको छ ।
धरानमा विमानस्थल बन्न नसक्दा र हेलिप्याड नभएको अवस्थामा खाली मैदान प्रयोग गरी उडान भर्न अनुमति दिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई बताउँछन् । 'विगत वर्षमा जस्तै यसपालि पनि उडान अनुमति मागेकाले मैदान उपलब्ध गराएका हौ,' उनले भने ।
उपमहानगर र ट्राभल एजेन्सीको सहकार्यमा धरानको पर्यटन क्षेत्रलाई उजागर गर्न अनुमति प्रदान गरिएको उनको भनाइ छ । 'मापदण्ड विपरीत भए-नभएको यस विषयमा थप अध्ययन गरिन्छ,' उनले भने ।
उपमहानगरले सिम्रिक एयरलाई २५ वटा उडान निशुल्क प्रदान गरेको छ । २५ भन्दा बढी भएमा प्रत्येक उडानको ५ सय रुपैयाँ लिने राजश्व शाखाले जनाएको छ । उपमहानगर क्षेत्रभित्र परेकाले खाली मैदान उपभोग गर्न दिएको शाखाका एक कर्मचारीले बताए । सिम्रिक एयरवेजलाई मात्र अनुमति प्रदान गरेको छ ।
उपमहानगरपालिकामा सञ्चालितत होलिडेज ट्राभलले पाथिभरा दर्शन गर्न जाने यात्रुको व्यवस्थापन गरिरहेको छ । होलिडेजका सञ्चालक अमृत मानन्धरका अनुसार एक यात्रु बराबर ३२ हजार रुपैयाँ लिने गरिएको छ । २ घण्टामा यात्रुलाई पाथिभरा मन्दिरबाट धरान ल्याउने व्यवस्था छ ।
प्राधिकरणसँग हेलिकोप्टर कम्पनीले उडानका लागि अनुमति लिएको मानन्धरको दाबी छ । ' उडान भर्नका प्राविधिक कुराहरूको विषयमा भने ट्राभल कम्पनीलाई थाहा छैन,' उनले भने,' अस्थायी रुपमा मैदानको प्रयोग गरिएको हो ।' स्थानका लागि स्थानीय सरकारसँग अनुमति लिएको उनले प्रस्ट पारे ।
एरिना होलिडेज ट्राभलको संयोजकत्त्वमा माउण्टेन एयरले उडान भरिरहेको छ । होलिडेजका सञ्चालक समीर कार्कीकाअनुसार असोज ३० गतेसम्म बिपी प्रतिष्ठानको हेलिप्याडमा राख्ने सम्झौता भएको थियो । त्यहाँको अवधि सकेर अहिले भने रंगशालामा हेलिकप्टर राखिएको छ ।
हेलिकप्टरलाई रंगशालामा राखेको विषयमा थाहा नभएको कार्कीले बताए । धरानमा रहेका विभिन्न ट्राभल एण्ड टुर कम्पनी भएकाले राखेको हुन सक्ने उनले दाबी गरे ।
सिम्रिक एयरले धरान उपमहानगरपालिकाले हेलिप्याड राख्न अनुमति प्रदान गरेकाले त्यस क्षेत्रबाट उडान भरिरहको जनाएको छ । स्थानीय तहले सम्पूर्ण व्यवस्थापन गरेकाले उडान भर्ने गरेको एयरले इकागजलाई बताएको छ ।
हेलिकप्टर उडाएको १५ दिनपछिमात्रै सिम्रिकले माग्यो अनुमति
स्थानीय तहले हेलिप्याड बनाउनुपर्ने व्यवस्था भएपनि हेलिप्याड निर्माण नगर्दा खाली मैदानमा हेलिकप्टर अवतरण गर्नुपर्ने अवस्था रहेको नागरिक उड्डयन प्राधिकरणक उपप्रबन्धक ज्ञानेन्द्र भुल बताउँछन् । यस अघि स्थानीय तहलाई हेलिप्याड निर्माण गर्न केन्द्र सरकारले बजेट व्यवस्थापन गरिसकेको छ ।
उनका अनुसार कुनै क्षेत्रमा उडान भर्दा स्थानीय विमानस्थलको टावरसँग हेलिकप्टरले अनुमति लिनुपर्ने हुन्छ । त्यस क्षेत्रमा उडान भर्न माउण्टेनले विराटनगर विमानस्थलको टावर र सिम्रिकले त्रिभुवन विमानस्थलसँग अनुमति माग गरेको छ ।
हेलिकप्टरले व्यवसायिक उडान भर्न पनि अनुमति लिनुपर्ने व्यवस्था रहेको भुलले जानकारी दिए । 'सिम्रिकले आज मात्र फ्लाइट उडानको अनुमति माग गरेको छ,' उनले भने,' प्राधिकरणले दुवै कम्पनी र पाइलटलाई सुरक्षा व्यवस्था तथा अलर्टको विषयमा जानकारी गराइएको छ ।'
हेलिप्याडका लागि के-के हुनुपर्छ ?
हेलिप्याडको सतह पिसीसीले बनेको हुनुपर्छ । १५ सेमी मोटाइ पिसीसीको तलको भाग कम्तीमा २० मिटरको हुनुपर्छ । हेलिप्याड निर्माण गरिएको भाग समथर हुनुपर्छ । समय-समयमा स्थानीय तहले मर्मत गर्नुपर्छ । हेलिप्याडको माझमा पर्नेगरी एच आकारको सेतो मार्किङ गर्नुपर्नेछ । हेलिकप्टर अवतर हुने दिशातिर एचको भाग माथिल्लो भागतर्फ फर्केको हुनुपर्नेछ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया