यस्तो छ प्रधानमन्त्री देउवाको बेलायत भ्रमण तालिका

लन्डन- प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण आउने भएका छन् । प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन बेलायत आउन लागेका हुन् ।
नेपाली दूतावास लण्डनका अनुसार ५ दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायतस्थित मन्त्री तथा सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्ने भएका छन् ।
लण्डनस्थित नेपाली दुतावासकी कार्यवहाक राजदूत रोशन खनालका अनुसार प्रधानमन्त्री देउवा यही अक्टोबर २९ तारिख, शुक्रबार साँझ लण्डन उत्रिने तयारीमा छन् । देउवाले अक्टोबर ३० तारिख बेलायती मन्त्री र उच्चअधिकारीसँग भेटघाट गर्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।
प्रधानमन्त्री देउवासँगको भेटघाटका लागि बेलायती मन्त्री र केही सरकारी अधिकारीहरूलाई आग्रह गरिएको छ । तर अहिलेसम्म बेलायत सरकारको तर्फबाट जवाफ नआएको दूतावासकी प्रवक्ता समेत रहेकी खनालले बताइन ।
भ्रमणकै क्रममा देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्नेको तयारी गरेको छ । नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार प्रधानमन्त्री देउवाले यहाँस्थित नेपाली कांग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा, गैरआवासीय नेपालीसँग छुट्टै अन्तरक्रियासमेत गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवा ३१ तारिख आइतबार साँझ लण्डनबाट समिट आयोजना हुने ग्लास्गो सहर प्रस्थान गर्ने भ्रमण तालिका तय भएको छ । प्रधानमन्त्री देउवा, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसहित २० जनाको टोली सो समिटमा भाग लिन नोभेम्वर १ र २ तारिख ग्लास्गोमा रहने छ ।
प्रधानमन्त्री देउवाले समिटमा विश्वमा तीब्र गतिमा हुँदै गएको जलवायु परिवर्तनमा नेपालको धारणा राख्नेछन् । प्रधानमन्त्रीको टोली ३ नोभेम्बरका दिन ग्लास्गो सहरबाट नेपाल फिर्ता हुने कार्यक्रम तय भएको छ ।

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

प्रतिक्रिया