शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

दसौं एसियन भैंसी सम्मेलन भर्चुअल माध्यमबाटबाट हुने

चितवन –  दसौं एसियन भैंसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैंसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैंसीपालनको विकास र सबलीकरणमा योगदान पुर्याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । 

अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएसन र इन्टरनेसनल बफेलो फेडेरेसन छन् । दसौं एसियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्राडा भूमिनन्दन देवकोटाले सम्मेलन भर्चुअल विधिबाट हुने जानकारी दिए । चितवनमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत विश्वविद्यालयले उक्त जानकारी दिएको हो । 

अध्यक्ष देवकोटाका अनुसार भैंसी सम्मेलनमा १७ देशका  विज्ञले सात विधामा १ सय ३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा तीन सय ५० भन्दा बढी वैज्ञानिकको सहभागिता रहनेछ । वैज्ञानिक, प्राध्यापक र विद्यार्थी सहभागी भएर पाँच दिनसम्म छलफल हुनेछ । भैंसीपालन, व्यवस्थापन, स्वास्थ, बजारीकरण एवम् उपयोगिताबारे भएका नवीनतम् खोज, अनुसन्धानबारे गहन छलफल हुने देवकोटाले जानकारी दिए ।  

सन् २०१७ मा सौराहामा स्थानीय रुपमा भएको भैंसी सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालय र तत्कालीन कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले पशुविज्ञान, पशुचिकित्सा क्षेत्रका वैज्ञानिकले निरन्तर भैंसीको अनुसन्धानलाई केन्द्रमा राखेर पोषण, व्यवस्थापन, रोग निदान तथा उपचार एवम् बेमौसमी प्रजनन प्रविधिमा योगदान गर्दै आएको छ ।

बेमौसमी प्रजनन् प्रविधिबाट करिब ४७ प्रतिशत उत्पादन क्षमता भएको पाइएको छ । बेमौसमी प्रजनन कार्य किसानको गोठमा पुर्याउन विश्वविद्यालयले अध्ययन गरिरहेको छ । विश्वविद्यालयले भैंसी उत्पादनमा भएका नयाँ अनुसन्धानबारे पनि कार्यपत्र प्रस्तुत गर्ने देवकोटाले जानकारी दिए ।