जेन्डर-लिक मिच्दै शालुको डिजेइङ जर्नी

शालुलाई स्कुल पढ्दादेखि नै संगीतमा रुचि थियो । शालु गीत पनि गाउँथिन् । तर, आफ्ना लागि ठीकठाकै लाग्ने स्वर सांगीतिक क्षेत्रमै जम्ने खालको भने उनी आफैँलाई पनि लागेन । भोकलको माध्यमबाट नभए पनि अन्य कुनै माध्यमबाट संगीतलाई करिअर बनाउने अठोट उनको थियो । त्यसका लागि शालुले रोजिन्– डिजेइङ ।
शालुले पढिन् ल्याब टेक्सियन । छोरी नर्स भएको हेर्न चाहन्थिन् आमा । तर, उनी बनिन् डिजे । शालुलाई अहिले धेरैले ‘डिजे क्विन’का नामले चिन्छन् । उनको रोजाइमा परिवार खासै खुसी थिएन । छोरीले राति क्लबमा गएर काम गरेको परिवारले खासै रुचाएको थिएन । ‘खान्दानमै कसैले नगरेको काम गर्छु भन्दा उहाँहरूले सपोर्ट गर्ने कुरै भएन,’ उनले सुनाइन्, ‘अहिले पनि हाम्रो खान्दानमा मात्र होइन, टोलमै कोही छैन डिजे ।’ समाजमा आफू डिजे भएको कुरा उनी अहिले पनि खुलेर कसैलाई भन्दिनन् । ‘फलानाकी छोरी डिजे’ भनेर कुरा काट्नेको भिडबाट उनी टाढै बस्न रुचाउँछिन् ।
शालुलाई केही वर्ष पहिलेसम्म धेरैले डिजे होइन, महिला डिजे भनेर चिन्थे । उनको नामले बोलाउनेभन्दा पनि ‘केटी डिजे’ भनेर बोलाउँथे । तर, उनलाई समय फेरिएको जस्तो लाग्छ । ‘अहिले महिला–पुरुष जो भए पनि उनीहरूलाई डिजे मात्रै भनेर बोलाउन थालिएको छ,’ उनले भनिन्, ‘वास्तवमा डिजे एउटा प्रोफेसन हो, यसको कुनै जेन्डर हुँदैन ।’
डिजे हुनुभन्दा पहिला नै मोबाइलमा उनी आफूलाई मन परेका गीत मिलाएर राख्थिन् । मन पर्ने र मुडअनुसारका गीत त्यसरी राख्न उनलाई मन पर्थ्याे । तर, डिजेइङ गर्दा आफूलाई मन पर्ने गीत मात्रै बजाएर हुँदैनथ्यो । आफूसँगै पार्टीमा आएकाहरूको मुड र मनोरञ्जनलाई पनि ध्यान दिनुपर्थ्याे । यसका लागि उनले केही समय डिजेइङको क्लास लिइन् । बेसिक कोर्स पूरा भएपछि उनी फिल्डमा उत्रिइन् । क्लब र मान्छेहरू चिन्दै गइन् । पढ्नु र फिल्डमा काम गर्नुमा निकै अन्तर अनुभव भयो उनलाई । ‘डिजे हुनलाई बोल्ड देखिनुपर्छ भन्ने सुनेको थिएँ,’ उनले भनिन्, ‘तर, त्यस्तो होइन रहेछ । मान्छेको बोल्डनेस ऊ महिला हो वा पुरुष भन्ने कुराले फरक नपार्दो रहेछ । जुन क्षेत्रमा पनि आखिर चाहिने त मेहनती मान्छे नै रहेछ ।’
ललितपुरको पाटनमा जन्मी-हुर्किएकी शालु महर्जन (२७) लाई सुरुसुरुमा ‘केटी डिजे’ भनेर बोलाउँथे । तर, अब भने उनी ‘केटी डिजे’बाट ‘डिजे’ भएकी छन् ।
२० वर्षको उमेरदेखि शालु यो क्षेत्रमा निरन्तर मेहनत गरिरहेकै छिन् । यो क्षेत्रबाहेक अब उनी कुनै क्षेत्रबारे सोच्नै सक्दिनन् । तर, यसबीच यो क्षेत्रमा कुनै चुनौती नै नभएका भने होइनन् । शालुलाई लाग्ने मुख्य चुनौती- धेरैले यसलाई करिअरको रूपमै देख्दैनन् । ‘विदेशमा आफ्नै म्युजिक बनाएर डिजेहरू कार्यक्रमको सिलसिलामा विश्व घुम्छन्,’ उनले सुनाइन्, ‘नेपालमा डिजेइङ भन्नेबित्तिकै क्लबमा रमाइलो गर्न जाने मात्रै बुझ्छन् । यसलाई प्रोफेसनको रूपमै लिइँदैन ।’
यो क्षेत्रमा आउनेलाई उनको एउटै सल्लाह छ- डिजे बनेपछि क्लबमा गएर रमाइलो गर्न पाइन्छ भन्ने सोच छ भने सुरुमै यो क्षेत्रमा प्रवेश नगर्दा बेस हुन्छ । ‘देख्दा जस्तै झिलिमिली संसार देखिएपछि यहाँ चल्ने र बिक्ने भनेको आफ्नै मेहनत हो,’ उनले भनिन्, ‘साथसाथै यो क्षेत्रमा लाग्नका लागि परिवारको साथ र सहयोग पनि उत्तिकै चाहिन्छ ।’
शालुले डिजेइङ सुरु गर्दा महिला डिजेहरू निकै कम थिए । पछिल्लो समय डिजे महिलाहरूको सहभागिता बढेको उनको अनुभव छ । तर, निरन्तरता दिन नसकेर ब्रेक लिनेहरूको संख्या पनि उत्तिकै भएको उनले बताइन् । तर, शालु डिजेइङलाई करिअरका रूपमा अगाडि बढाउन लागिपरेकी छिन् । शालु र उनका केही साथी मिलेर ल्याब रानी स्टुडियो खोलेका छन् । जहाँ डिजे कोर्स गराइन्छ ।
कोभिडले उनीहरूलाई केही समय निकै असर गर्यो । रोजीरोटी ठप्प जस्तै भयो । क्लबहरू पूरै बन्द भयो । इभेन्टहरू पनि भएनन् । त्यो समयमा सामाजिक सञ्जालको राम्रो सदुपयोग गरिन् शालुले । टिकटकदेखि युट्युबसम्म आफ्ना भिडियोहरू राखेर अरूलाई यो क्षेत्रप्रति आकर्षित गरिरहिन् । ‘लकडाउनले एकपटक त होपलेस नै बनाएको थियो,’ उनले भनिन्, ‘त्यो बेलामा हामीमात्र होइन विश्वकै डिजेहरू ठप्प भएर बसेका छन् भनेर चित्त बुझायौँ ।’
अहिले क्लबहरू बिस्तारै खुल्न थालेका छन् । शालुलाई इभेन्टहरूबाट पनि निमन्त्रणा आउन थालेको छ । क्लब र इभेन्टहरू उनका दुःख भुलाउने ठाउँ हुन् । ‘क्लबमा मान्छेहरू ह्याङआउट गर्न आइरहेका हुन्छन्,’ उनले भनिन्, ‘त्यस्तो ठाउँमा आफू दुःखी भएर बस्ने कुरा आउँदैन । तर, क्लब यस्तो ठाउँ हो जहाँ बाहिरबाट जस्तो मुडमा छिरे पनि भित्र छिरेर काम गर्न थालेपछि मुड आफैँ फ्रेस हुन्छ ।’
उनका दाजु र भाउजू अस्ट्रेलिया बस्छन् । एकपटक दाइकै माध्यमबाट उनी र उनकी आमा अस्ट्रेलिया गएका थिए । ‘त्यो बेला नेपालबाट डिजे आएको छ भनेर कसैले हल्ला गरिदिएछ,’ शालुले सुनाइन्, ‘मलाई त्यहाँ डिजेइङका लागि अनुरोध गरियो । त्यहाँको नाम चलेकै क्लबमा समेत मैले बजाउने मौका पाएँ ।’ त्यो भिडमा शालुको परिवार पनि थियो । छोरीले त्यत्रो भिडमा डिजेइङ गरेको दृश्यले उनको परिवारलाई भावुक बनाएको थियो । ‘डिजेका रूपमा परिवारले मलाई पहिलो पटक देखेको थियो,’ उनले भनिन्, ‘त्यहाँ डिजेलाई दिएको सम्मान देखेर उहाँहरू निकै खुसी हुनुभएको थियो ।’
यस्तै कुराले उनलाई यो क्षेत्रमा लाग्न अझै हौस्याएको छ । जस्तोसुकै चुनौती आइपरे पनि पछि हट्ने उनको सोच छैन । ‘भविष्यमा कहाँ पुगिन्छ, त्यो त थाहा छैन,’ उनले भनिन्, ‘तर, अहिलेका लागि आफ्नो कामप्रति म निकै सन्तुष्ट छु । जहिलेसम्म सक्छु, यो क्षेत्रलाई केही न केही दिई नै रहन्छु ।’
शालुको डिजेइङ जर्नीले जेन्डरको परम्परागत सोचमा बदलाव त ल्याइदिएको छ नै, करिअरका नयाँ मार्ग पनि प्रशस्त हुँदै छन् ।

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

श्रीमान् र सन्तानलाई छाडेर वैदेशिक रोजगारीमा जाने महिलाको पीडा गीतमार्फत

प्रतिक्रिया